२०८३, श्रावण १५ गते

Jul 31 2026 | २०८३, श्रावण १५ गते

पञ्चकन्या समूहका सिपिभिसी पाइप र स्टेनलेस स्टिल ट्याङ्कीलाई अन्तर्राष्ट्रिय ‘ग्रिन प्रो’ मान्यता

शुक्रवार , श्रावण १५, २०८३

  • 322
    Shares
  • 322
    Shares
  • भैरहवा । नेपालको अग्रणी औद्योगिक घराना पञ्चकन्या समूहले उत्पादन गर्ने सिपिभिसी पाइप र स्टेनलेस स्टिल (एसएस) ट्याङ्कीले ग्रिन प्रो मान्यता प्राप्त गरेको छ । 

    भारतको पुणेमा आयोजित ‘सिआइआइ ग्रीनप्रो समिट २०२६’ को आठौँ संस्करणबाट भारतको प्रतिष्ठित औद्योगिक संस्था कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ) ले पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या एसएस प्रालिलाई ग्रिन प्रोको मान्यता प्रदान गरिएको हो । 

    WhatsApp Image 2026-07-30 at 10.51.43 PM.jpeg

    वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा प्रदान गरिने अन्तराष्ट्रिय ‘ग्रिन प्रो’  मानक कुनै पनि उत्पादनको सम्पूर्ण उत्पादन चक्र, वातावरणीय प्रभाव, दिगो विकासमा योगदान, नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग, कार्बन उत्सर्जन न्यूनीकरण तथा औद्योगिक सुरक्षालगायतका मापदण्डको विस्तृत मूल्याङ्कनपछि मात्रै प्रदान गरिन्छ । पञ्चकन्याले उत्पादन गर्ने सिपिभिसी पाइप र स्टेनलेस स्टिल ट्याङ्कीले यी सबै मापदण्ड पूरा गरेपछि अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको हो पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र शाहुले जानकारी दिनुभयो । 

    यसअघि पञ्चकन्या समूहअन्तर्गतकै पञ्चकन्या स्टिल प्रालिले उत्पादन गर्ने फलामे डण्डीले पनि नेपालकै पहिलो ग्रिन प्रो मानक एक वर्षअघि नै प्राप्त गरेको थियो । यससँगै पञ्चकन्या समूहका तीन प्रमुख उत्पादनले अन्तर्राष्ट्रिय वातावरणमैत्री मान्यता हासिल गरेका छन् ।

    समूहले उद्योग स्थापना कालदेखि नै गुणस्तरीय उत्पादनसँगै वातावरण संरक्षण र दिगो विकासलाई उच्च प्राथमिकतामा राख्दै आधुनिक प्रविधिमा आधारित उत्पादन प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा समूहले गरेको लगानीका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्थाबाट पटक–पटक सम्मान र पुरस्कारसमेत प्राप्त गरेको छ ।

    पञ्चकन्या समूहले करिब एक दशकअघि नेपालमा पहिलो पटक स्टेनलेस स्टिल ट्याङ्की उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । हाल कम्पनीले १२५ लिटरदेखि १० हजार लिटरसम्म क्षमताका स्टेनलेस स्टिल ट्याङ्की काठमाडौं र रुपन्देहीको कोटिहवास्थित उद्योगबाट उत्पादन गरिरहेको छ ।

    कम्पनीले विगत आठ वर्षदेखि भारतका गोरखपुर, लखनउ, बस्ती र कोलकातामा आधिकारिक विक्रेतामार्फत स्टेनलेस स्टिल ट्याङ्की निर्यात गर्दै आएको महाप्रबन्धकक साहुले जानकारी दिनुभयो । समूहका महाप्रबन्धक साहुका अनुसार दक्षिण भारतको बेंगलुरुलगायतका क्षेत्रबाट पनि ट्याङ्कीको माग आउने गरेको छ । तर उच्च ढुवानी लागतका कारण ती क्षेत्रमा आपूर्ति विस्तार गर्न नसकिएको उहाँको भनाई छ । 

    त्यसैगरी, नेपालमा पहिलो पटक सिपिभिसी पाइप उत्पादन सुरु गर्ने श्रेय पनि पञ्चकन्या समूहलाई नै जान्छ । कम्पनीले २०६३ सालमा जापानी कच्चा पदार्थ प्रयोग गरी नेपालमै पहिलो पटक सिपिभिसी पाइप उत्पादन सुरु गरेको थियो । हाल कम्पनीले १५ मिलिमिटरदेखि १०० मिलिमिटरसम्मका पाइप उत्पादन गरिरहेको छ । सिपिभिसी पाइपमा नेपाल गुणस्तर चिन्ह (एनएस) प्राप्त गर्ने पहिलो उद्योग पनि पञ्चकन्या समूह नै रहेको कम्पनीले जनाएको छ ।

    ग्रिन प्रो मानक प्राप्त गरेसँगै पञ्चकन्या समूहले आफ्ना ग्राहक, व्यवसायिक साझेदार, वितरक तथा सम्पूर्ण सरोकारवालाप्रति विश्वास र निरन्तर सहयोगका लागि आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि गुणस्तरीय, नवप्रवर्तनयुक्त तथा वातावरणमैत्री उत्पादन उपलब्ध गराउने प्रतिबद्धता दोहोराएको कम्पनीले जनाएको छ ।