
सोमवार , जेठ ३, २०७८
भैरहवा ३ जेठ । दोश्रो चरणको कोरोना संक्रमणबाट संक्रमितको सङख्या दिनानु दिन बढ्दै गएका बेला भारतसंग नाका जोडिएका सिमावती क्षेत्रमा भने मानीसहरुको बाक्लो भिड देखिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि पुर्ण रुपमा निषेधाज्ञा लागू गरेपनि सिमावर्ती क्षेत्रमा त्यसको कुनै कार्यान्वयन हुन सकेको छैन्।
शहरी तथा शहरउन्मुख र बिकासउन्मुख ग्रामिण क्षेत्रमा निषेधाज्ञाको पालना गरिए पनि सीमावर्ती क्षेत्रमा निषेधाज्ञाको प्रभावकारी कार्यान्यवन हुन सकेको छैन्। जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर पनि दिनप्रतिदिन बढ्दो छ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सीमा क्षेत्रमा भारतबाट आउने क्रम बढ्दो रुपमा छ। लुकिछिपि नेपाल छिर्ने मानिसका कारण जिल्लामा कोरोनाको जोखिम बढेर गएको छ। भारतबाट आउने उनीहरुले सामान्य स्वास्थ्य मापदण्ड समेत पालाना नगरी नेपाल प्रबेश गर्ने गरेका छन्।
भारतको नौतनवा, कुल्हुई, ठोठरी लगायतका बजारमा दैनिक उपभोग्य सामान, व्यवसायिक प्रयोजनका सामान, हार्डवेयरका सामान, लत्ताकपडाका सामान किनेर फर्किनेको भिड नै जम्मा हुने गरेको छ। सिमा क्षेत्रमा खटेको प्रहरी रमिते बनेको छ। प्रहरीले तस्करी गरी ल्याएका सामान समेत नियन्त्रण गर्न सकिरहेको छैन्।
निषेधाज्ञाका वीचमा पनि कोटहीमाई गाउँपालिका वडा नम्बर ३ पर्सियाबाट किराना तथा कुखुरा समेत भित्रिएको छ। कोटहीमाई गाउँपालिका वडा नम्बर ४ कदमहवा र बोगडी नाकामा सशस्त्र प्रहरी बल खटिए पनि प्रहरीकै आँखा अगाडीबाट विवाह प्रयोजनको लागि भन्द्यै दैनिक ५ सय भन्दा बढी मानिस ओहोरदोहर गरिहेका छन्। तर सशस्त्र प्रहरी बल आफू नयाँ आएको भाषाको समस्या बताउँदै उम्कन खोज्ने गरेको छ।
प्रहरीकै अगाडीबाट दुधको भाडो र ८ क्यारेट अण्डा र एउटा खुकुरा बोकेका एक जना भन्छन् ‘नेपालमा कडाइ गरिएको छ र नेपालमा दुध सस्तो विक्री हुन्छ र सामान महंगो पाइन्छ। दैनिक भारतको नौतनवा ५०–६० लिटर दुध लिएर जान्छु र यता अवश्यक परेकालाई उतैबाट सामान ल्याउँछु।’
त्यसै गरी मर्चवारी गाउँपालिका वडा नम्बर ७ मंझरिया, वडा नम्बर २ कुह्रवा नाकाको पनि हालत उस्तै छ। सीमा क्षेत्रमा आवतजावत रोक्न खटाइएका सशस्त्र प्रहरी बल मोबाइल फोनमा व्यस्त रहेका छन्। संचारकर्मीलाई देख्नेबित्तिकै लठ्ठी, झोला, टोपी मिलाउँदै सीमा वारी र पारी आउनेजानेलाई नियन्त्रण कार्र्य सुरु गरेको देखिन्छ।
नाम नखुलाउने शर्तमा मर्चवारी गाउँपालिका वडा नम्बर २ का एक स्थानीय भन्छन् ‘हामीलाई भारत आउन जान कुनै अफ्ठयारो छैन, कुनै पनि सामान ल्याउनु छ भने प्रहरीलाई सय पचास दिएर सामान लिएर मज्जाले आइन्छ। यहाँ त दैनिक चामलको पनि ओसारपसार भइरहेको छ।’
सम्मरीमाई १ मा पिल्लर नं. ५४१ (३०) नजिकैको गोरेटो बाटो भएर भारतबाट आउने र नेपालबाट भारत जाने लस्कर उस्तै छ। मानौ कि कुनै मेला वा पर्व लागेको अवस्था। यहाँ न त नेपाल प्रहरी न त सशस्त्र प्रहरीको उपस्थिति छ। मर्चवारको अधिकांश गाउँमा नेपाल प्रहरीको डयुटी सक्रिय रुपमा देखिन्छ तर सीमावर्ती क्षेत्रमा निगरानी भएको देखिदैन।
सम्मरीमाई–२ मुडिला नाकामा त मेला लागे जस्तै साइकल तथा मोटरसाइकल स्टैण्ड नै बनाइएको छ। भारतको ठोठरी बजार जानेहरुलाई भारतीय एसएसबीले मोटरसाइकल लैजान नदिएपछि नेपालमै स्थानीयले बनाएको मोटरसाइकल स्टैण्डमा राखेर भारतको ठोठरी बजारमा जाने लस्कर छ।
भारतबाट घरको लागि ढोका लिएर फर्किदै गरेका एक स्थानीयले भन्छन ‘घरमा विवाह छ त्यसैको तयारीमा जुटेको छु। यहाँ कुनै प्रहरीले केही भन्न आउँदैनन्। भारतीय प्रहरीले भारतमा मोटरसाइकल लैजान नदिएपछि नेपालमै रु. १० स्टैण्ड शुल्क तिरेर राखेको छु।’
मुख्य शहरमा प्रहरी प्रशासनले कडाइ गरे पनि सीमावर्ती क्षेत्रमा निषेधज्ञालाई प्रभावकारी बनाउन सकेको छैन् अहिले चलिरहेको विहेवारीले गर्दा सीमा क्षेत्रमा आवतजावत बढेको छ, जसले कोरोनाको संक्रमण झन् बढने जोखिम छ। हाल कुनै पनि अस्पतालमा न त विरामीलाई प्रयाप्त आक्सिजन छ, न त विरामीलाई राख्ने बेड नै छ। तर मर्चवारमा देखिएको यस्तो लापरवाहीले अवस्थाले झन जोखिम बढ्ने स्थानीयको चिन्ता छ।
आधिकारिक रुपले बेलहिया नाकाबाट मात्र विदेशबाट आउनेहरुको लागि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। सीमा क्षेत्रको निगरानी गर्न ६ वटा बिओपी अन्र्तगत २ सय ४२ सशस्त्र प्रहरी बलका विभिन्न दर्जाका जनशक्ति थप गरिएको उनले बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ वटा पालिका अन्तर्गत १३ वटा डिउटी सिमामा खटाइएको तामाङले जानकारी दिए। खुल्ला सीमालाई नियन्त्रण गर्न स्थानीय तह सँग समन्वय गरी अधिकान्स आवतजावत नियन्त्रण गरि औपचारिक रुपले बेलहिया नाकाबाट मात्र आवतजावत भएको तामाङको दावी छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij