२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

माइती नेपालद्वारा होल्डिङ सेन्टरमा सामग्री हस्तान्तरण 

सोमवार , जेठ ३, २०७८

भैरहवा, ३ जेठ । 
माइती नेपाल आवधिक गृह भैरहवाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणका लागि भारतीय सीमा नाका बेलहियाको होल्डिङ सेन्टरमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।  छिमेकी मुलुक भारत लगायतबाट नेपाल भित्रिने नाका बेलहिया हुँदै आउने महिला तथा बालबालिकालाई लक्षित गरी सो सामाग्री हस्तान्तरण गरिएको हो । 

सिद्धार्थनगर नगरपालिकाको समन्वयमा माइती नेपालले चाउचाउ र बिस्कुट गरेर ४ सय थान, पानी ५० प्याकेट, सर्जिकल मास्क ८ सय थान, स्यानिटाइजर ५ लिटर, डाइपर १०० थान, स्यानिट्यारी प्याड १ सय थान हस्तान्तरण गरेको हो । 

माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.लाई सो सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेकी हुन् । 

सामग्री हस्तान्तरण गर्दै संयोजक क्षेत्रीले नेपाल प्रवेश गर्दा महिला तथा बालबालिकालाई हुने समस्याको केही भए पनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको बताइन् । अहिले बेलहिया नाकामा हरेक दिन सय जनाको हाराहारीमा यात्रु आउने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले जानकारी दिए । वैशाख महिनामा मात्र १० हजार नाकाबाट भित्रिएको र नेपालबाट पनि सोही संख्यामा भारत प्रवेश गरेको पौडेलले बताए । 

नेपाल प्रवेश गर्ने हरेक यात्रुलाई आरडिटी परीक्षण गरी सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको हेल्प डेस्कबाट होल्डिङ सेन्टर हुँदै यात्रुको गन्तव्य स्थलमा पठाइने गरिएको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।

माइती नेपालले महिला तथा बालबालिकाहरुको बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि बेलहिया नाकामा सीमा निगरानी कार्यक्रम, जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्श कक्ष लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । माइती नेपाल आवधिक गृह भैेरहवाले विगत २३ वर्षदेखि सिद्धार्थनगरको वडा नम्बर ९ मा शाखा कार्यालय स्थापना गरी सञ्चालन गर्दै आइरहेको छ ।