आइतवार , श्रावण ३१, २०८३
भैरहवा, ३१ साउन । रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले भारतसँग जोडिएको पुरानो सीमा नाका कालिदहलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउँदै देशकै प्रमुख पर्यटकीय प्रवेशद्वारका रूपमा विकास गर्ने योजना अघि बढाइएको बताउनुभएको छ ।
सांसद बनियाको नेतृत्वमा शनिबार भारतीय सीमासँग जोडिएको कालिदह क्षेत्रमा बृहत् सरसफाई अभियान सञ्चालन गरिएको थियो । लुम्बिनीसँग नजिक रहेको ऐतिहासिक तथा धार्मिक महत्वको यस नाकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सरसफाइसँगै आवश्यक पूर्वाधार निर्माणको पहल अघि बढाइएको उहाँले बताउनुभयो ।
सरसफाई कार्यक्रममा बोल्दै सांसद बनियाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश प्रवाह भएझै कालिदहबाट पनि स्वच्छता र वातावरण संरक्षणको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार बेलहिया नाकामा जस्तै कालिदहमा समेत चारलेनको वातावरणमैत्री सडक, व्यवस्थित ढल निकास, हरियाली प्रवद्र्धन तथा वृक्षरोपणलगायतका पूर्वाधार विकास गर्ने योजना अघि बढाइएको छ । आवश्यक प्रक्रिया पूरा गरी छिट्टै निर्माणसम्बन्धी टेण्डर प्रक्रियामा जाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
‘कालिदह नाकाको स्तरोन्नति र पूर्वाधार विकासका लागि संसदमा पटकपटक आवाज उठाएको छु । प्रधानमन्त्रीसमक्ष समेत ज्ञापनपत्र बुझाइसकेको छु,’ सांसद बनियाले भन्नुभयो–‘अब नाकालाई व्यवस्थित, स्वच्छ र आकर्षक बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।’
कालिदहलाई लुम्बिनी–सालझण्डीसँग जोड्ने गरी चारलेनको सडक निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । सडक तथा आवश्यक पूर्वाधार निर्माण भएपछि भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि लुम्बिनी पुग्ने यात्रा सहज हुने उहाँको भनाइ छ ।
सांसद बनियाले कालिदहलाई केवल सीमा आवागमनको केन्द्रका रूपमा नभइ लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो स्वागतस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘विश्वका विभिन्न ठाउँबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनी दर्शन गर्न आउने पर्यटकका लागि कालिदह महत्वपूर्ण प्रवेशद्वार बन्न सक्छ,’उहाँले भन्नुभयो–‘त्यसैले यस नाकालाई स्वच्छ, सुन्दर, व्यवस्थित र अनुकरणीय बनाउन सबैको साझा प्रयास आवश्यक छ ।’
उहाँले स्थानीय व्यवसायी तथा बासिन्दालाई समेत वातावरण संरक्षण र सौन्दर्यीकरण अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो । प्रत्येक घर तथा पसलअगाडि वृक्षरोपण गर्न र आफ्नो आसपासको क्षेत्र सफा राख्न उहाँले अनुरोध गर्नुभयो ।
कालिदह नाकामा सडक विस्तारसँगै ढल निकास, हरियाली प्रवद्र्धन, वृक्षरोपण र अन्य आधारभूत पूर्वाधार विकास गरिने बताइएको छ । लामो समयदेखि उपेक्षामा परेको कालिदहलाई पर्यटकीय तथा व्यापारिक दृष्टिले महत्वपूर्ण नाकाका रूपमा विकास गर्न सके स्थानीय आर्थिक गतिविधि विस्तार हुनुका साथै लुम्बिनी आउने पर्यटकको आवागमनसमेत बढ्ने सांसद बनियाको विश्वास छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij