सोमवार , आश्विन २६, २०८३
बुटवल, २६ असोज । चाडपर्व नजिकिएसँगै यात्रुहरुको सुरक्षा र सुविधालाई ध्यानमा राखेर बुटवलको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी अन्तरगत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपन्देही, इलाका प्रहरी कार्यालय, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि, बुटवल यातायात प्रा.लि, सिद्धार्थ, श्रीनगर, गुल्मी जीप र देउराली यातायातको सहकार्यमा सो कक्ष संञ्चालनमा ल्याएको हो ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले चाडपर्वमा यात्रा गर्ने नागरिकको सुरक्षा, सुविधा र सहयोग गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरिएको बतानुभयो । उहाँले नेपाल प्रहरी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।
सहायता कक्षबाट यात्रुहरुलाई सुरक्षित यात्राका बारेमा, शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका बारेमा, नागरिकलाई आवश्यक सहयोग तथा ट्राफिक नियमबारेमा सचेतना अभिवृद्धिमा जोड दिइने एसपी थापाले बताउनुभयो । ट्राफिक सचेतनाका लागि अधिकतम गति सीमा, अनावश्यक हर्न निषेध, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न तथा मादकपदार्थ सेवन गरी सवारी नचलाउन सन्देशसंगै यात्रुहरुको सहजताका लागि आवश्यक परामर्श दिइने उहाँको भनाइ छ ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बुटवल बसपार्कको उचित विकास र व्यवस्थापनमा थप प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनुभयो । बसपार्कको अवस्थालाई हेर्दा केवल भाषणमा मात्र विकास भएको टिप्पणी गर्दै अध्यक्ष खरेलले भन्नुभयो–‘उज्यालो बसपार्क, सफा बसपार्कको भाषणमा त गर्यौं । तर, अपेक्षा अनुसारको सुधार गर्न सकिएन ।’ बसपार्कभित्र ठग्ने प्रवृति रोक्ने गरी संंस्थाबाट आवश्यक परिचय खुल्ने कर्मचारीहरु र काउण्टरबाट मात्र टिकट लिने व्यवस्था आफूहरुले गरेको दावी गर्नुभयो ।
सीट क्षमताभन्दा यात्रु नराख्नेतर्फ विशेष कडाइ जरुरी रहेको भन्दै उहाँले प्रहरी प्रशासनबाट समेत कार्यसम्पादन गर्दा विशेष जिम्मेवारीलाई बुझेर कारवाही बढाउन आग्रह गर्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय बढाउने, सडक सुरक्षाबारे जनचेतना फैलाउने तथा नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने अपेक्षासहित कार्तिक ३ गतेसम्म सो सहायता कक्ष राखिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij