बुटवल, ३० असार । बुटवलमा लकडाउनको समयमा घरबहाल छुट गर्ने घरधनीलाई सम्मान गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा घरबहाल छुट गर्ने घरधनीहरुलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल घर बहाल सरोकार संघ रुपन्देहीले सम्मान गरेको हो ।
मंगलबार बुटवल उद्योग वाणिज्य संघमा अयोजित कार्यक्रममा घरबहाल छुट गर्ने घरधनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कदरपत्रले सम्मान गरे । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प भएकाले आफ्नो घरमा बहालमा बस्नेहरुलाई सहज होस भन्ने उद्देश्यले बुटवलमा कतिपय घरधनीहरुले स्वतःस्फर्त रुपमा निश्चित समयको घरबहाल छुट गरेका थिए । लकडाउनको समयमा बुटवलको वडा नम्बर ५ मा मृगेन्द्रकुमार सेरचनले तीन महिनाको भाडा छुट गरेका थिए ।
त्यस्तै वडा नम्बर ४ का रुपकिशोर लाकौलले लकडान अवधिको ५० प्रतिशत, महेशमान सिंहले सिंह कम्प्लेक्समा १ महिनाकोभाडा छुट गरेको थियो । त्यस्तै वडा नम्बर ५ मा यज्ञ कसजु, ४ का मदनलाल शेरचन, राम प्रसाद न्यौपाने, कृष्ण प्रसाद न्यौपाने, वडा नम्बर ६ ट्राफिकचोकका चक्रबहादुर पुन, कृष्ण पाठक, वडा नम्बर ४ संगमपथमा उज्जवल कसजु, वडा नम्बर ९ तिनकुनेमा नवराज श्रेष्ठ, वडा नम्बर ६ ट्राफिकचोकमा सुनिल वझा, राममन्दिर लाइनमा शोभाखर पाठक, सुलोचना श्रेष्ठ, वडा नम्बर १ मा रबिन्द्रगोपाल लाकौलले निश्चित समयको घरबहाल छुट गरेका थिए ।
त्यसै गरी वडा नम्बर ५ हाटबजार लाईनमा अम्मल लाकौल, ईन्द्र रिसाल, अमरपथमा डा. द्वारिका थैव श्रेष्ठ, संगमपथमा होम बहादुर सेन, बुद्धिप्रसाद शर्मा पाण्डे, ट्राफिकचोकमा नारायण ढकाल, कालिकानगरमा रामचन्द्र रेग्मी, राममन्दिर लाइनमा ऋषि भण्डारी, बिकासपथमा यमुना श्रेष्ठ, अमरपथमा रामकुमार श्रेष्ठ, गीता शर्मा भट्टराई, चुन्नुप्रसाद पौडेल, बुटवल–९ मा सुमि हमाल, बुटवल–११ आवास पथमा विकास कर्माचार्य, बुटवल उद्योग वाणिज्य संघको संगमपथ स्थित भवनमा निश्चित समयको घरबहाल छुट गरिएको नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिए ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोना महामारीको असामान्य परिस्थितिमा घरबहाल छुट गर्ने घरधनीलाई धन्यवाद दिँदै घरभाडा र बुटवलको व्यवसायिक प्रतिष्ठानबीच अन्तरसम्बन्ध रहेको बताए । उनले १२ प्रतिशतबाट घटाएर घरबहाल कर बुटवलमा १० प्रतिशतमा झारिएको बताउँदै बहालकर महंगो भयो कसैले भन्छ भने त्यो भन्दा पनि ५ प्रतिशत बढी भाडा दिने गरी नगरपालिकालाई जिम्मा दिन आग्रह गरे ।
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले केही व्यक्तिले गरेको यो काम उदाहरणीय भएको बताउँदै सकेसम्म सबैलाई केही समयको भए पनि घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गरे । त्यसै गरी नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोइरालाले यो असामान्य परिस्थितिमा बहालमा बस्ने तथा व्यवसाय गर्नेलाई बहाल छुट गर्ने उदाहरणीय काम भएको बताउँदै घरधनी तथा बहालमा व्यवसाय गर्ने दुवै पक्षको लगानीको सरक्षा गर्ने सरकारको काम भएकाले बुटवलका हकमा नगरपालिकाले काम गर्न ध्यानाकर्षण गराए । त्यसैगरी नगरपालिकाले पनि घरधनीका पिरमर्का बुझेर बहाल करमा सम्बोधन गर्न प्रमुख सुवेदीसंग आग्रह गरे ।