२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

नारायणी नदीमा दीर्घकालीन तटबन्धको माग गर्दै सुस्ताबासी

शुक्रवार , भाद्र १२, २०८३

  • 310
    Shares
  • 310
    Shares
  • पश्चिम नवलपरासी, १२ भदौ । वर्षेनी दोहोरिने नारायणी नदीको बाढी र कटानका कारण ठूलो जोखिम भोग्दै आएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ताबासीले दीर्घकालीन र पक्की तटबन्ध निर्माणको मागलाई पुनः उठाएका छन्। नदी कटानले खेतीयोग्य जमिन र बस्ती नै संकटमा पर्न थालेपछि स्थानीयबासीले अल्पकालीन मर्मतभन्दा पनि नदी नियन्त्रणका लागि दिगो र स्थायी समाधानको माग राज्यसँग गरेका हुन् ।

    खास गरी स्थानीयहरूले बाढी र कटानका समयमा परिवार, बालबच्चा र घरपालुवा जनावरको सुरक्षा गर्न चरम सास्ती खेप्नुपरेको भन्दै आक्रोश र चिन्ता व्यक्त गरेका छन् । सुस्ताको यही पछिल्लो वस्तुस्थिति र कटानको अवस्थाबारे जानकारी लिन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (संघीय सांसद) विक्रम खनालले सो क्षेत्रको स्थलगत अवलोकन गरी प्रभावित क्षेत्रमा पुगेर स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग छलफल गर्नुभयो ।

    छलफलका क्रममा स्थानीयले हरेक वर्ष आश्वासन मात्र पाउने तर, बर्खायाम सुरु हुनासाथ उठिबासको डर मान्नुपर्ने बाध्यताको अन्त्यका लागि तत्काल पक्की स्पर्स र ’गाइड वाल’ निर्माण गर्न सांसदसमक्ष माग राखेका थिए ।

    स्थानीयबासीले राखेका माग तथा समस्या सुनेपछि सांसद खनालले सुस्ताको नागरिकको जिउधनको रक्षा नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभयो । ‘सुस्ताबासीले वर्षौंदेखि भोग्दै आएको यो समस्या केवल एउटा क्षेत्रको मात्र नभई राष्ट्रिय सरोकारको विषय हो,’सांसद खनालले भन्नुभयो–‘तत्कालका लागि आवश्यक र आपत्कालीन रोकथामका साथै दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माणका लागि संघीय र प्रदेश सरकारसँग निरन्तर समन्वय र जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    सो क्रममा सुरक्षा निकायका प्रतिनिधिहरूले पनि बाढीपछिको सुरक्षा, उद्धारका लागि गरिएका पूर्वतयारी समग्र अवस्थाबारे सांसद खनाललाई जानकारी गराएका थिए । सुस्ताको यो समस्या समाधानका लागि अब संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा गुरुयोजना बनाएर काम थाल्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् ।