२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

जय श्रीराम मण्डल रोइनिहवाले तीनदिने धार्मिक कार्यक्रम गर्ने

शुक्रवार , भाद्र १२, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • भैरहवा, १२ भदौ । जय श्रीराम मण्डल, सम्मरीमाई गाउँपालिका–५ रोइनिहवा, रुपन्देहीले आफ्नो स्थापनाको एक वर्ष पूरा भएको अवसरमा तीनदिने धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

    मण्डलले स्थापनादेखि प्रत्येक मंगलबार विभिन्न स्थानमा निःशुल्क रूपमा सामूहिक हनुमान चालिसा पाठ गर्दै आएको छ । एक वर्ष पूरा भएको अवसरमा धार्मिक आस्था, सामाजिक सद्भाव र संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्न लागिएको मण्डलका संयोजक अशोक कुमार तिवारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कार्यक्रम अन्तर्गत भदौ १४ गते आइतबार सम्मरीमाई–५ स्थित दानव नदीको चक्की घाटमा साँझ आरती तथा भजन–किर्तन आयोजना गरिनेछ । त्यसै गरी भदौ १५ गते सोमबार सम्मरीमाई–७ स्थित श्री कृषक आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सहभागीतामा सामूहिक हनुमान चालिसा पाठ गरिनेछ ।

    त्यस्तै भदौ १६ गते मंगलबार सम्मरीमाई–५ रोइनिहवास्थित शिव मन्दिरमा हनुमान चालिसा पाठसँगै सन्त भण्डारा तथा दाइजोमुक्त कन्यादानको संकल्प गर्ने कार्यक्रम रहेको संयोजक तिवारीले बताउनुभयो ।

    धार्मिक कार्यक्रमसँगै समाजमा दाइजो प्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने तथा धार्मिक र सामाजिक सद्भाव कायम गर्न प्रेरित गर्ने उद्देश्यले दाइजोमुक्त कन्यादानको संकल्प गर्न लागिएको मण्डलले जनाएको छ ।

    मण्डलले आयोजना गरेको तीनदिने सम्पूर्ण कार्यक्रममा धर्मप्रेमी, समाजसेवी, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दालाई उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ । साथै प्रत्येक मंगलबार विभिन्न स्थानमा घुम्ती रूपमा आयोजना हुँदै आएको निःशुल्क हनुमान चालिसा पाठमा समेत सहभागी हुन मण्डलले सबैलाई अनुरोध गरेको छ ।