२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

हरित हस्ताक्षरमा हराउँदा...............।

शनिवार , भाद्र १३, २०८३

  • 70
    Shares
  • 70
    Shares
  • नदी र माटो विषयवस्तुमा १० जना कविले आफ्ना कवितामार्फत् प्रकृतिमा रहेका नदी र माटोलाई माया गरेका छन् । कसैले आफूलाई नदीजस्तै ठानेर कविता कोरेका छन् । कसैले माटोजस्तै मानेर आफूलाई माटोमा नै समाहित गरेका छन् । आखिर नदी र माटोसँगको साइनो कुनै रगत र वैवाहिक सम्बन्धको नाताभन्दा कैयौं गुणा बलियो र स्थायित्व हुन्छ भन्ने कुरा कविता पढेपछि छर्लङ्गै हुन्छ । कवि उषा शेरचन आफ्नो कविता ‘पानीजस्तै म’ मा यसरी पोखिएकी छिन् –
    तिमीले मलाई
    भीरमा लगेर फाल्यौ
    म झरना बनेर छङ छङ खसिरहेँ
    यदि म त्यसरी नखसेको भए 
    झरना यति सुन्दर 
    कहाँ देखिन्थ्यो होला ?
    र, झर्नुको पीडा भुल्न
    कहाँ सकिन्थ्यो होला ? 

    WhatsApp Image 2026-08-29 at 22.03.52.jpeg


    नदीसँग आफूलाई दाँजेर लेखिएको यो कविता अति नै सुन्दर लाग्यो । उषाका शब्दहरुले प्रकृतिलाई मोहित तुल्याएको छ । कविताले मनै आनन्द बनाइदिएको छ । कविताको भावले पानीलाई नै सर्वशक्तिमान ठानेको छ ।

    शोषण र प्रतिरोध विषयवस्तुमा डेढ दर्जन कविताका पाहुरहरु पढ्न पाइन्छन् ‘हरित हस्ताक्षर’ कवितासंग्रहमा । कवि कृष्ण बाउसे आफ्नो कविता ‘धर्ती र महिला’ शीर्षकको कवितामा यसरी आफ्ना कविमन दौडाएका छन् अक्षरमार्फत्–
    पोषणको नाममा 
    मलाई खुवाइएको छ विष
    मेरो सहनशीलतालाई
    बनाइएको छ मुर्छित
    र,
    काढिएको छ छाला
    मलाई रक्ताम्य पारेर ।

    विषादीको अत्यधिक प्रयोग र मानवजीवनमा यसको असरका बारेमा उनको कविताले नयाँ सन्देश दिएको छ । प्रकृतिलाई विनास गर्ने अतिप्रयोगी रासायनिक मलले मानवजीवनको क्षयीकरण भएको पीडा पोखेका छन् । मल आवश्यक तर अनावश्यक प्रयोग नै आजको समस्या हो भन्न सकिन्छ । 
    ‘दिदीका मितेनीहरु’ कविता शीर्षकमा कवि विनोदविक्रम केसी लेख्छन्

    छिमेकीहरु भन्थे–
    तेरो दिदीलाई जङ्गलले खायो
    खोलाले निल्यो 
    बतासले उडायो

    कविताका यति हरफ पढेपछि थाहा लाग्छ कि संरक्षणमा लागेका मानिसहरु आफ्नै समाजबाट कति प्रताडित छन् । समाजका यस्तै झुसिलकीराहरुले नै समाजलाई विनाशका बाटामा पुर्याएका हुन्छन् । प्रशंसा, प्रोत्साहन र प्रोमोसन गर्नेबेला समाजका रहेका केही गलत मानिसहरु संरक्षणकर्मीहरुलाई हेला, होचो र ह्यासमेन्ट गरेर पछि पार्दैछन् ।

    सहअस्तित्व विषयवस्तुमा १५ वटा कविता लेखिएर ‘हरित हस्ताक्षर’मा समाहित भएका छन् । कवि सुमिनाले ‘समताको फूल’ शीर्षक कवितामा समताको कुरा बेजोडरुपमा उठाएकी छिन् । उनले आफ्नो कवितामा अक्षर उराल्दै भन्छिन् –
    अंश र वंशको अधिकारबाट
    बेदखल गरेर मलाई
    निर्माण गरेर एकतर्फी सत्ता 

    भने, यो ‘पुरुष प्रधान’ व्यवस्था हो ।

    समाजमा आज पनि असमानताका पर्खाल ठडिरहेको बेला उनले कवितामामार्फत् समताको फूल बर्साएकी छिन् । 
    कवि गौरीले ‘थाहा छ आमालाई’ शीर्षकको कवितामार्फत् आफ्ना भावना यसरी पोखेकी छिन्–
    थाहा आमालाई 
    खुलाउनुअघि जङ्गल
    गर्नुपर्छ पूजा
    सिमेभूमे र सिल्दो नाल्दोलाई 
    जोगाउनु छ
    जल, जमिन र जङ्गल
    भावी सन्ततिलाई 
    बिडम्वना !
    थाहै छैन आमालाई 
    पित्तृसत्ता र पूँजीवादको 
    अँध्यारो कारागारभित्र
    कसरी परिरहेछ
    आफ्नै अस्तित्व सङ्कटमा ?

    कविताको यो हरफले जुरुक्कै उचाल्छ । हामीले प्राकृतिक सम्पदालाई जोगाउनुपर्छ र नयाँ पुस्तालाई सके उन्नति गरेर नसके उस्तैरुपमा हस्तानान्तरण गर्न सक्नुपर्छ नत्र नयाँ पुस्ताले धिकार्नेछन् । सन्देश मीठो छ ।

    ‘हरित हस्ताक्षर’ अस्मिता हाम्रो प्रकाशनले २०८३ सालमा प्रकाशन गरेको कवितासङ्ग्रह हो । विशेष गरी यो कवितासङ्ग्रहमा प्रकृति र नारीको खोजी गरिएको छ । वातावरण संरक्षणमा गतिशील र कर्मशील सबैका लागि यो सङ्ग्रह अति उपयोगी पुस्तक छ । साहित्यका माध्यमद्वारा संरक्षणमा समर्पित रहनका लागि यो पुस्तक रामवाण सावित हुने विश्वास लिएको छु । कविता भावना र विचारको प्रतिबिम्ब त हो । तर, यो यथार्थ हुनुपर्छ । सोही साँचोपनाको प्रमाण हो ‘हरित हस्ताक्षर’ कवितासङ्ग्रह ।

    आघात र क्षति विषयवस्तुमा लेखिएको तीन दर्जन कविता सङ्ग्रहित छन् । दिग्वज कविहरुका दमदार कविताहरु यसै विषयमा केन्द्रीत छन् । सायद दिनप्रतिदिन प्रकृतिमाथि आघात पुगेको छ, क्षति भइरहेका छन् । संरक्षणका पाटा कमजोर सावित भएका छन् । हामीले हाम्रो प्रकृतिलाई दोहनमात्र गर्यौ, संरक्षणका नाममा संरक्षणमुखी संघसंस्थामात्र बनाएर गफको थलो बनायौं कि ! कर्मशील, सक्रिय र सिर्जनशील भई कर्मथलोमा कार्यान्वयन नगरेमा प्रकृति कसरी जोगिएला र ? कतै हामीले गफका वृक्षरोपण गर्यौं र अलमलका मल हाल्ने प्रयत्न पो गर्यौ कि ?

    ‘देउरालीमा गुराँस बेच्ने केटीका नाममा’ कविता शीर्षकमा कवि शान्ति प्रियवन्दना उद्घोष गर्छिन्–
    सानी केटी
    तिमी वन र पेटबीच उभिएकी छ्यौ
    एकातिर सौन्दर्यको सिद्धान्त
    अर्कोतिर जीवनको कठोर यथार्थ
    तिमीले गुराँस चुँड्दा
    जङ्गल रित्तिन्छ
    तर, केही छाक घरको चुल्हो बल्छ ।

    आवश्यकता र अभावबीच हाम्रो मुखले प्रकृतिलाई के भन्दो हो, जिउनुको नाममा जिन्दगीले प्रकृतिलाई के ठान्दो हो । देखाएर खुसी हुनु र भोकाएर रुनुलाई संरक्षणकर्मीले के मान्दा हुन् ? यो कविताले एकपटक सोच्न बाध्य बनाएको छ प्रकृति र संरक्षणर्मीहरुलाई । 
    हरित् हस्ताक्षर कवितासङ्ग्रहकी सम्पादक समेत रहेकी डा.गीता त्रिपाठी ‘शोकगीत र अतृप्त युद्ध’ शीर्षक कवितामा यसरी शाब्दिक विस्फोट भएकी छिन् –
    विकासको अनौंठो परिभाषा बनायौ
    र,
    आफ्नै आमाको विश्वास लुट्यौ
    सम्पन्नताका् अतृप्त गन्तव्यमा पुगेर
    श्रेष्ठताको कथित शिखरमा मञ्चासिन भइरहन
    रोकिदियौ नदीको अथक गतिलाई 
    र,
    सभ्यताको अनन्त प्रवाह
    आफ्नै स्वार्थी समयको घडेरीमा थुनिराख्यौ 
    कति कठोर तर सत्य हरफ लाग्यो कविताको यो । सत्तारोहणको खेलमा प्रकृति दोहन सामान्य र साँघुरो लाग्नु कुनै अनौठोको विषय नै रहेन । मार्मिक कविताले मनै छोयो । यो कविताले हरित हस्ताक्षर कवितासङ्ग्रहलाई ओजिलो र गहकिलो बनाएको छ । 
    कवि अशोक थापाको ‘पर्धेनी कुरा’ कविता अति नै मीठो र पढिरहँु लाग्ने कविता रहेछ । उनले अक्षरहरु समेटेर कवितामा यसरी लेख्छन् –
    हलीदाइले घिसारेको निर्दयी दाँदे
    र, प्रथम पटक छुई भएर
    किशोरीले अपवित्र बनाएको पँधेरो
    लिएर मुठ्ठीभरि दतिवन
    अनि कोमलकोटीको मसिनो माटो
    पखाल्न पाप लुकेर स्नान गरिरहेकी काकी
    अब त यी सप्पै
    कहानी भइसके पाते !
    किनभने 
    जुग भयो 
    बन्द भएको पधेर्नी कुरा ।

    विगतलाई सम्झिएर वर्तमानमा लेखिएको यो कविताले नौलो सन्देश दिइरहेको छ । 
    नारीवादी साहित्यमा आफ्नो नौलो आयामका साथ प्रस्तुत भएकी कवि हुन् राधिका कल्पित । कवितामा बिम्ब र प्रतिबिम्बलाई उचित प्रयोग गर्न सक्षम र जानेकी कविका रुपमा आफ्नो पहिचान बनाइकी राधिकाले ‘फूलमती र बागमतीहरु’ शीर्षकको कवितामा आफ्ना भावनाहरु यसरी छल्काएकी छिन् –
    जब स्खलित भएर 
    मेरो पेटीकोटले मुख छोपी
    निर्लज्ज निदाउँछ मानव सभ्यताको डम्पिङ साइट
    निरव रातको सन्नाटामा चर्कोचर्को सुनिन्छ 
    तिम्रो सुसाइमा प्रतिध्वनित तिम्रो गुम्फन र गर्जन
    तत्क्षण
    मभित्र उम्लिरहेका
    समभावमा एकाकार भएर
    हातेसाङ्लो बनाउँदै 
    नारा लगाएजस्तो लाग्छ
    ‘अब तिमीहरुका लागि 
    न मध्य–बजारमा खाट सजिने छ
    न नदी–किनारमा घाट !’

    अति नै व्यङ्गात्मक तरिकाले शाब्दिक झटारो हानिएको यो कविताले मनै जिरिङ्ग बनायो । 
    इको कविता हाम्रो निम्ति नौलो र अभ्यासात्मक प्रयास हो । यो विषयले नेपालमा पनि गति लिदैछ । यसो भनिरहँदा खुसी लाग्नु स्वभाविकै हो । इको अभियन्ताका रुपमा आफ्नो छवि बनाउन सफल विजय हितानको कविताले हरित हस्ताक्षर कवितासङ्ग्रहको पेज नं. १८१ मा वजनदार स्थान पाएको छ । उनको कविताको शीर्षक हो ‘इको डेटिङ’ । 
    हिजोआज चुरेमा भू–क्षय भएर 
    मधेश डुबानमा परेजस्तै
    तिम्रा यौवनका उत्साहहरु 
    कतै तटबन्धमा परेको हो कि !
    आऊ हामी एउटा यस्तो इको डेटिङमा निस्कौं–
    जहाँ हाम्रा अधैर्य र आणविक सङ्घर्षहरु 
    शमन होऊन्, मुक्त होऊन् 
    आऊ हामी प्रेम र करुणाले भिजेर 
    एउटा शीतल इको डेटिङमा विश्व परिभ्रमण गरौँ ।

    साँचिक्कै वातावरणीय अनुभव दिल्याउने यो कविताले नयाँ फ्रेमिङ्ग गरेको छ । प्रेमलाई पर्यावरणसँग जोडेको छ । मायाप्रेमलाई पनि इकोसँग गाँसेको छ । कविताका पारखीहरुलाई नौलो स्वाद मिलेको छ । 
    अन्तिममा ‘नदी नोस्टाल्जिया’ शीर्षकको कविता पढेर हरित हस्ताक्षरलाई बीट मार्ने सोचें । यसमा कवि लक्ष्मी रुम्बा नदीप्रति नोस्टाल्जिक छिन् । विगत सम्झेर भावविभोर समेत छिन् । उनले मनलाई बाँधेर अनि मुटुले लेखेको कविता ठानें मैले । 
    बुझेकी छु,
    डर छ उनीहरुलाई 
    स्वतन्त्र नदी, स्वतन्त्र महिला
    स्वतन्त्र बग्ने सबै कुरासँग
    र, त बगाइलाई जीवन होइन, घाउ बनाइदिन्छ 
    सभ्यताको नाममा निर्धा सपनाहरु बिथोलिन्छन् 
    आँसुको गर्भमा मूल्यसूची टाँगिदिन्छन् ।

    प्रकृति र नारी चेतनाको साझा स्वरका रुपमा भनिएको ‘हरित हस्ताक्षर’ कविता सङ्ग्रहमा नारी, पुरुष दुवैका वातावरणीय स्वर छन् । सङ्ग्रहमा प्रकृतिलाई नै कविताको मूलस्रोत बनाइएको छ । विविध विषयवस्तुलाई समेटिएको छ । देश, दुनियाँले चिनेका कविहरुका कविताले हरित हस्ताक्षरको वजन बढाएको छ । चर्चित कविहरु सरुभक्त, भूपिन, विमला तुम्खेवा, भवानी खतिवडा, विन्दु शर्मा, पुरु लम्साल, अभि सुवेदी, देवचन्द्र सुब्बा, निभा शाह, नेत्र एटम, देवेन सापकोटा, अभय श्रेष्ठलगायत कविका कविताहरुले ‘हरित हस्ताक्षर’ कवितासङ्ग्रहलाई पठनीय र सङ्ग्रहणीय बनाएको छ ।

    कवितासङ्ग्रहको सम्पादकहरुमा डा.गीता त्रिपाठी, डा.अशोक थापा, राधिका कल्पित र लक्ष्मी रुम्बा छन् । मिहिन तरिकाले सम्पादन गरिएको उक्त सुन्दर कवितासङ्ग्रहले वन, वातावरण र जैविक विविधता बुझ्न सजिलो बनाइदिएको छ । सो पुस्तकको अन्तिम भागमा डा.अर्चना थापाको ‘पर्यावरणीय सङ्कट र मानवअस्तित्व’ शीर्षकको लेखले सुनमा सुगन्ध र सुन्दरता थपिदिएको छ । बजारमा उपलब्ध उक्त पुस्तकलाई तीन सय ५० रुपैयाँमा किनेर पढ्दा पैसा र समय खेर जानेछैन । यो मेरो अनुभवले भनेको अनुरोध पनि हो ।