२०८३, भाद्र १७ गते

Sep 02 2026 | २०८३, भाद्र १७ गते

बाढीप्रभावितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख बढी सहयोग

बुधवार , भाद्र १७, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, १७ भदौ । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडितको उद्धार तथा पुनःस्थापनाका लागि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले ३५ लाख १७ हजार ३ सय ८४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलबबाट २० लाख १७ हजार ३ सय ८४ र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १५ लाख गरी कुल ३५ लाख १७ हजार ३ सय ८४ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
    गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले देश विपद्को पीडामा रहेका बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको बताउनुभयो ।

    सहयोग रकमअन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले पाउने एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको छ । त्यस्तै कार्यपालिका सदस्यकातर्फबाट प्रतिव्यक्ति ५ हजार रुपैयाँ र गाउँसभा सदस्यका तर्फबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सनोज कुमार चौधरीले जानकारी दिनुभयो ।

    त्यसै गरी अधिकृतस्तरका कर्मचारी तथा उच्च माध्यमिक र माध्यमिक तहका शिक्षकको ७ दिनको तलब, सहायकस्तरका कर्मचारी तथा निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकको ५ दिनको तलब तथा श्रेणीविहीन र अन्य कर्मचारीको २ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको चौधरीले बताउनुभयो ।

    निर्णय भएको रकम गाउँपालिकाको बैंक खाता सञ्चालनमा आएपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले जानकारी दिनुभयो ।

    ‘खाता सञ्चालन भएपछि कर्मचारीको तलबबाट निर्णयअनुसारको रकम कट्टा गरिनेछ । जनप्रतिनिधि तथा अन्यबाट संकलन हुने रकमसमेत जोडेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइनेछ,’यादवले भन्नुभयो ।