२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

रोहिणी गाउँपालिकाद्वारा बाढीप्रभावितका लागि २६ लाख सहयोग

बिहिवार , भाद्र १८, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • भैरहवा, १८ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारहरूको लागि २६ लाख बढी सहयोग गर्ने भएको छ । 

    गाउँपालिकाका अनुसार गाउँपालिका विपद् व्यवस्थापन कोषबाट ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवबाट ३५ हजार ६ सय १९, उपाध्यक्ष शिवकान्ती हरिजनबाट १५ हजार, ७ जना वडाअध्यक्षहरुबाट १० हजारका दरले ७० हजार, ६ जना कार्यपालिका सदस्यहरुबाट ५ हजारका दरले ३० हजार र २२ जना वडा सदस्यहरुबाट ३ हजारका दरले ६६ हजार रुपैयाँ कोषमा सहयोग गरिनेछ । 

    त्यस्तै अधिकृतस्तरका कर्मचारीहरुको ७ दिन, सहायकस्तरका कर्मचारीहरुको ५ दिन र सहयोगीस्तरका कर्मचारीहरुको २ दिनको तलब गरी ७ लाख ७५ हजार ४ सय ९८ रुपैयाँ कोषमा सहयोग गरिनेछ ।

    त्यसै गरी सामूदायिक विद्यालयका माध्यमिक विद्यालयस्तरका शिक्षकहरुको ७ दिन, आधारभूतस्तरका शिक्षकहरुको ५ दिन तथा गाउँपालिका अनुदान, बालविकास र अन्य शिक्षक/कर्मचारीहरुको २ दिनको तलब गरी ११ लाख ५८ हजार ३ सय ८१ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

    यसरी कुल २६ लाख ४ सय ९८ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । 
    ‘बेपत्ता एवं अलपत्र परेकाहरुको शीघ्र खोज तथा उद्धार गरी विपद्मा परेका नागरिकलाई समुदायमा पुनःस्थापना गर्न नेपाल सरकारबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोगका लागि अपील गरिएको सन्दर्भमा कोषमा रकम जम्मा गर्न रोहिणी गाउँपालिकाका परोपकारी संघ–संस्था र नागरिकहरुलाई अनुरोध गर्दै यस गाउँपालिकाबाट कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको छ, ’अध्यक्ष यादवले भन्नुभयो ।

    बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठक तथा कर्मचारीहरु एवं प्रधानाध्यापकहरुको समेत बैठकबाट भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बस्तीमा क्षति पुर्याई ठूलो जनधनको क्षति हुन पुगेकोमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिश पाण्डेले बताउनुभयो । साथै बैठकले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।