२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

केनाइनको प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी

आइतवार , भाद्र २१, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • भैरहवा, २१ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ । बाढी, पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिम प्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै आएको छ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवनलगायतका क्षेत्रमा नेपाल प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

    रसुवामा जर्मन शेफर्ड ‘जम्बो’ र बेल्जियन शेफर्ड ‘रक्की’, नुवाकोटमा ल्याब्राडोर ‘लियो’ र ‘कालु’ तथा चितवनमा जर्मन शेफर्ड ‘दिप्सी’ लाई खोजी कार्यमा परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले भग्नावशेष, माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइनको प्रयोग प्रभावकारी हुने बताउनुभयो । ‘केनाइनको प्रयोगबाट ठूलो क्षेत्र छोटो समयमा खोजी गर्न सकिने भएकाले विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई थप छिटो र प्रभावकारी बनाउन सहयोग पुग्छ,’उहाँले भन्नुभयो–‘उद्धारकर्मी तथा उपकरण पुग्न कठिन हुने स्थानमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग अझ प्रभावकारी हुन्छ ।’

    नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारीले विपद्का बेला हराइरहेका व्यक्तिको खोजीमा प्रविधिसँगै तालिम प्राप्त जनशक्ति र केनाइनको संयोजनले खोजी कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्था, माटोको गहिराइ, पानी, हिलो तथा भग्नावशेषको अवस्थाले खोजी कार्यमा चुनौती सिर्जना गरे पनि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ ।
    नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बस्नेतले लामो समयसम्म निरन्तर खोजी गर्दा कुकुरको क्षमतामा असर पर्न सक्ने भएकाले निश्चित समय काम गराएपछि विश्राम दिने गरिएको बताउनुभयो ।

    ‘केनाइनलाई सामान्यतः करिब ३० मिनेट खोजी कार्यमा लगाएपछि १५ देखि २० मिनेटसम्म विश्राम दिने गरिन्छ,’उहाँले भन्नुभयो–‘दलदले हिलो, रातको समयमा अपर्याप्त प्रकाश तथा ठूलो क्षेत्रफलमा खोजी गर्नुपर्ने अवस्थाले चुनौती थप्ने गरेको छ ।’

    नेपाल प्रहरी केनाइन कार्यालयबाट खटिएको टोलीले रसुवाको टिमुरे, घट्टेखोलालगायतका क्षेत्रमा खोजी तथा उद्धार गरेको थियो । उक्त टोलीले टिमुरेबाट दुई शव तथा एक शारीरिक अंग फेला पारेको थियो ।

    त्यसै गरी नुवाकोटको विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, ढुङ्गे, देवीघाट, बेत्रावती, भैंसे, बट्टारलगायतका क्षेत्रमा पनि केनाइनसहितको टोली परिचालन गरिएको थियो । मैलुङ हाइड्रोपावरको कर्मचारी आवासबाट सानो शारीरिक अंग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेला परेको प्रहरीले जनाएको छ ।
    केनाइन शाखाबाट खटिएको टोलीले नारायणी पुल आसपास, देवघाट तथा दमौली–गोलघाट क्षेत्रमा समेत खोजी गरेको थियो । सो टोलीले दमौली–गोलघाट क्षेत्रबाट दुई शव फेला पारेको थियो ।

    भौगोलिक जटिलता तथा प्रतिकूल मौसमका कारण केनाइनको प्रयोगमा समेत चुनौती रहने गरेको प्रहरीको भनाइ छ । अत्यधिक गहिरो वा बाक्लो माटोमा गन्ध पहिचान गर्न कठिन हुने तथा हावा, पानी, तापक्रम र वातावरणीय प्रदूषणले समेत कुकुरको गन्ध पहिचान क्षमतामा असर पार्न सक्छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले केनाइनसहितका जनशक्ति परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइरहेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ ।