मंगलवार , भाद्र २३, २०८३
परासी, २३ भदौ । बाढी तथा नदी कटानबाट प्रभावित पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, थारूटोलका ६० घरपरिवारलाई राहतस्वरूप त्रिपाल वितरण गरिएको छ । महान दर्शन नेपाल, सुनवल–१२ भूमहीले सुस्ता–५ स्थित अनोमाघाट (ठाडीघाट) मा प्रभावित परिवारलाई प्रतिपरिवार एक–एक थान त्रिपाल वितरण गरेको स्थानीय मुन्सी कुमार हरिजनले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजेन्द्र बस्नेतका अनुसार बाढी तथा विपद्का कारण बिचल्लीमा परेका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउँदै उनीहरूको कठिन परिस्थितिमा केही राहत पुर्याउने उद्देश्यले त्रिपाल वितरण गरिएको आयोजकले जनाएको छ ।
सुस्ता–४ जरलैया युवा क्लबका सचिव तथा समाजसेवी धिरज गुरुङ र सुस्ता–५ का मुन्सी कुमार हरिजनको समन्वय तथा सुस्ता सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनको उपस्थितिमा पीडित परिवारलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको थियो । वर्षाको समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गरिएको यो सहयोगले स्थानीय बाढीपीडितहरूलाई केही हदसम्म सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij