२०८३, भाद्र २४ गते

Sep 09 2026 | २०८३, भाद्र २४ गते

विपद्को समयमा प्रहरीको दोहोरो जिम्मेवारी : उद्धारसँगै अपराध नियन्त्रण

बुधवार , भाद्र २४, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • रुपन्देही, २४ भदौ । प्राकृतिक विपत्तिका कारण प्रहरी जनशक्ति बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनमा परिचालित भइरहेका बेला लुम्बिनी प्रदेश प्रहरीले चोरी, तस्करी, लागूऔषध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको जिम्मेवारीलाई समेत निरन्तरता दिएको छ ।

    विपद्को समयमा उद्धार तथा राहतमा राज्य संयन्त्र केन्द्रित भइरहेका बेला हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले सूचना संकलन, निगरानी र आवश्यकताअनुसार कारवाही गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।

    यसैक्रममा प्रहरीले दाङमा ११ बोरा पटाका तथा नवलपरासीमा स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका ५ लाख ७३ हजार १ सय ७४ रुपैयाँ बराबरका सामानसमेत बरामद गरिएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले विपद्को समयमा नागरिकको खोज, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणसँगै शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई पनि निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार विपद्का कारण प्रहरी जनशक्तिसमेत प्रभावित भएको अवस्थामा प्रहरी आफ्नो नियमित जिम्मेवारीका साथै विपद् व्यवस्थापनमा सक्रिय छ ।

    रुपन्देहीमा बरामद सामानमा चिनी, कृषि औषधि, सागको बीउ, भाँडाकुँडा, कस्मेटिक सामान, सुपारी, साडी, कुर्ता–सुरुवाल तथा कपडालगायत छन् । बरामद सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

    विपद्को समयमा उद्धार, राहत र सुरक्षासँगै चोरी–तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।