२०८३, भाद्र २७ गते

Sep 12 2026 | २०८३, भाद्र २७ गते

काँग्रेसप्रति जनताको आशा र भरोसा पलाएको छ : अब्दुल रज्जाक

शनिवार , भाद्र २७, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • भैरहवा, २७ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले वर्तमान दुईतिहाई बहुमतप्राप्त सरकारबाट जनताको आकांक्षा पूरा हुन नसकेको बताउनुभएको छ । उहाँले काँग्रेसप्रति जनतामा आशा र भरोसा पलाएको दावी गर्नुभयो ।

    काँग्रेस नगर कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको सिद्धार्थनगर भेला एवं धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रज्जाकले मुलुक अहिले अफ्ठयारो अवस्थामा रहेको बताउनुभयो ।
    ‘मुलुक अहिले अफ्ठयारो स्थितिमा छ । देशमा लोकतन्त्र कमजोर भएको छ । इतिहास साक्षी छ जबजब नेपाली काँग्रेस कमजोर भएको छ, तब लोकतन्त्र पनि कमजोर भएको छ, ’उहाँले भन्नुभयो । उहाँले काँग्रेसका नेता–कार्यकर्ताहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    rajjak abdul.jpg

    लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व खानेपानी राज्यमन्त्रीसमेत रहनुभएका नेता रज्जाकले काँग्रेस एकजुट भए मात्रै मुलुकलाई सही दिशानिर्देश गर्न सकिने बताउनुभयो । ‘आज जुन किसिमको माहोल देखिएको छ, अत्यन्तै अफ्ठयारो स्थिति छ, हाम्रो एकताले लोकतन्त्रलाई मजबुत गर्न सक्छौं र संविधानलाई कार्यान्वयन गर्न सक्छौं । हामी पार्टीको महाधिवेशनको संघारमा छौं । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने नै आजको आवश्यकता हो, ’उहाँले भन्नुभयो । काँग्रेसको जिम्मेवारी अझ बढेको उहाँको भनाइ छ । 

    त्यस्तै काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको कारणले नेपालको राष्ट्रियता र लोकतन्त्र धेरै अफ्ठयारोमा रहेको बताउनुभयो । उहाँले आर्थिक रुपमा देश र नागरिकको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको बताउनुभयो । उहाँले आजको दिनमा काँग्रेसमा सहमति, सहकार्य र एकताको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा सफलता प्राप्त गर्नुपर्ने बताउनुभयो ।

    पार्टीको पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले काँग्रेस लोकतान्त्रिक पद्दतिमा विश्वास गर्ने पार्टी भएको बताउनुभयो । उहाँले बलियो काँग्रेस बनाउन एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले विगतका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कसैले पार्टी छोड्दैमा काँग्रेस कमजोर नहुने दावी गर्नुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा काँग्रेस नेता इश्तियाक अहमद खाँले जनता र देशको हितको लागि काँग्रेसले काम गर्दै आएको बताउनुभयो । उहाँले काँग्रेसकै नेतृत्वमा मुलुकमा संविधान बनेको र त्यही संविधानअनुसार देश अघि बढेको बताउनुभयो । 

    काँग्रेस सिद्धार्थनगरका कार्यबाहक सभापति देवराज न्यौपानेले लोकतन्त्र भनेकै संघर्ष भएको बताउनुभयो । उहाँले काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउनुभयो ।

    कार्यक्रममा संविधान सभा सदस्य जन्नतुन निशा, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर १० का सभापति विजयनाथ धवल, नगर सदस्य विनिता श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

    नगर सचिव हरिमाया गुरुङको स्वागत तथा नगर कार्यसमिति सदस्य थिरेन्द्र कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।