सोमवार , भाद्र २९, २०८३
भैरहवा, २९ भदौ । बाल दिवसको अवसरमा रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–६ हणसरीस्थित श्रीराम गुरुकुल शिक्षालयले विभिन्न टोलमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
गुरुकुलमा अध्ययनरत करिब ७० जना विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, शिक्षक तथा सुरक्षाकर्मीलगायतको सहभागीतामा प्रभातफेरी निकालिएको हो । भदौ २९ गते बाल दिवसको अवसरमा गुरुकुलको प्रांगणबाट सुरु भएको प्रभातफेरी हणसरी टोल, फुलवरिया चोक हुँदै पुनः गुरुकुलकै प्रांगणमा पुगेर समापन भएको थियो ।
मर्चवार क्षेत्रमा गुरुकुल शिक्षाको सुरुवातका रूपमा स्थापित श्रीराम गुरुकुलमा पहिलोपटक बाल दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको मर्चवारीमाई गाउँपालिका–६ का वडाध्यक्ष रामसेवक खरबिन्दले जानकारी दिनुभयो । वडाध्यक्ष खरबिन्दका अनुसार वडाभित्र रहेको ठर्की माध्यमिक विद्यालय टाढा रहेकोले वडा कार्यालयको अगुवाइमा चालु शैक्षिक वर्षदेखि श्रीराम गुरुकुल स्थापना गरिएको हो । उहाँले पछिल्लो समय समाजमा बढ्दै गएको कुसंस्कार तथा नैतिक मूल्य-मान्यताको कमीलाई न्यूनीकरण गर्न संस्कार र नैतिक शिक्षामा आधारित गुरुकुल शिक्षा आवश्यक रहेको बताउनुभयो । बालबालिकालाई औपचारिक शिक्षासँगै संस्कार, अनुशासन, नैतिकता तथा धार्मिक ज्ञान प्रदान गर्ने उद्देश्यले गुरुकुल सञ्चालन गरिएको उहाँको भनाइ छ ।
हाल गुरुकुलमा तीनजना शिक्षकले अध्यापन गराउँदै आएका छन् । साथ एक जना धार्मिक आचार्यबाट बालबालिकालाई संस्कार शिक्षा तथा धार्मिक ज्ञानसमेत प्रदान गरिँदै आएको वडाध्यक्ष खरबिन्दले जानकारी दिनुभयो ।
स्थानीय तहको पहलमा सञ्चालनमा आएको गुरुकुलले ग्रामीण तथा सीमावर्ती क्षेत्रका बालबालिकालाई आफ्नो समुदायमै संस्कारयुक्त र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij