२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

भैरहवामा सञ्चालनमा आयो ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’

शुक्रवार , आश्विन २, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, २ असोज । रुपन्देहीको भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा आएको छ । सिद्धार्थ बैंकको पछाडि कालिकापथ क्षेत्रमा क्लिनिकले शुक्रबारदेखि सेवा सुरु गरेको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले क्लिनिकको उद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा बोल्नुहुँदै नगरप्रमुख खाँले बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले क्लीनिक सञ्चालनमा आउनु खुसीको विषय भएको बताउनुभयो । उहाँले पछिल्लो समय मानसिक रोगसम्बन्धी समस्या बढिरहेको बेला उपचारका लागि भैरहवामै क्लिनिक सञ्चालन आउँदा बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

    क्लिनिकका सञ्चालक रोशन गुप्ताले भैरहवा तथा आसपासका क्षेत्रका बिरामीहरुलाई सहज र सर्वसुलभ रुपमा नशा र मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिक स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्लिनिकमा न्युरो–साइक्याट्रिक (नसा तथा मानसिक) उपचारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

    उहाँले क्लिनिकमा काउन्सिलिङ, ल्याब तथा फार्मेसीलगायतका विभिन्न सेवाहरु उपलब्ध रहेको बताउनुभयो । सञ्चालक गुप्ताले क्लिनिक ओपनिङ (शुभारम्भ) को अवसरमा हाल ओपीडी सेवा निःशुल्क गरिएको बताउनुभयो । त्यस्तै ल्याब परीक्षणमा विशेष छुटको व्यवस्था रहेको उहाँको भनाइ छ ।

    क्लिनिकका नशा तथा मानसिक रोग विशेषज्ञ डा. नसिम अकरमले क्लिनिकको मुख्य नारा ‘कुरा गरौं’ रहेको बताउनुभयो । उहाँले पछिल्लो समय मानिसमा मानसिक समस्या भइरहेकोले उपचार तथा परामर्श सेवाका लागि क्लिनिकमा आउन आग्रह गर्नुभयो । ‘शारीरिक स्वास्थ्यमा मात्र ध्यान दिएर हुँदैन, मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ, मानसिक स्वास्थ्य ठीक नभए त्यसले शारीरिक समस्या पनि निम्त्याउँछ,’उहाँले भन्नुभयो ।

    क्लिनिकमा मानसिक, नशा, निद्रा नलाग्ने, अत्तालिने र यौन रोग सम्बन्धी समस्याहरूको परामर्श तथा विशेषज्ञ उपचार सेवा उपलब्ध गराइने बताइएको छ ।