२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

‘एमाले पुनर्गठन नगरी अगाडि बढ्न सकिदैन’

शनिवार , आश्विन ३, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य दधिराम न्यौपानेले पार्टी पुनर्गठन नगरीकन अगाडि बढ्न नसकिने बताउनुभएको छ । उहाँले पार्टीको सेल कमिटीदेखि लिएर सम्पूर्ण तहमा पुनर्गठनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    शुक्रबार भैरहवामा भएको एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको विस्तारित बैठक तथा मिसन पार्टी जागरण अभियानको अभिमुखीकरणमा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोष नलगाइएको बताउनुभयो । ‘नेतृत्व गर्नेले जिम्मेवारी लिनुपर्छ, नेतृत्वको टिकाटिप्पणी हुनु स्वभाविक हो, ’उहाँले भन्नुभयो–‘सिद्धार्थनगरको पार्टी कमजोर भए सिद्धार्थनगरको नेतृत्वले र जिल्लामा कमजोर भए जिल्ला नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ ।’ परिस्थितिको ठोस विश्लेषण नगरीकन कही पुग्न नसकिने उहाँको भनाइ छ ।

    लुम्बिनी प्रदेशका पूर्व प्रदेश सभा सदस्य समेत रहनुभएका न्यौपानेले सत्ता, सरकार, पद र सम्पत्ति क्षणिक कुुरा भएको बताउनुभयो । उहाँले विचार र सिद्धान्त अटल हुने बताउनुभयो । कम्युनिष्ट पार्टीको सदस्यले नकारात्मक कुरा नगरी जागरण अभियानमार्फत जनतामाझ जानुपर्ने उहाँले बताउनुभयो । त्यसैका लागि एमालेले मिसन पार्टी जागरण अभियान सञ्चालन गर्ने न्यौपानेले बताउनुभयो ।

    त्यस्तै एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले एमाले पटकपटक सरकारमा गए पनि थोरै अवधिका लागि मात्रै गएको बताउनुभयो । उहाँले पार्टीले जनतामा विश्वास दिलाउन सक्नुपर्नेमा जोड दिनुभयो । समाज रहनुञ्जेल राजनीति रहने उहाँको भनाइ छ । विगतका गल्तीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने पोखरेलले बताउनुभयो ।

    पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले एमाले नेतृत्वको सरकारले मुलुकमा थुप्रै विकास निर्माणका कार्यहरु गरेको बताउनुभयोे । उहाँले पार्टीलाई अझ मजबुत र संगठित बनाउनुपर्नेमा जोड दिनुभयो ।

    एमाले रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले पार्टीलाई बलियो बनाउने काममै लागेको बताउनुभयो । उहाँले आलोचनासँग डराउन नहुने भन्दै पार्टी जनताकाबीच नै स्थापित हुने र नयाँ गतिमा अघि बढ्ने बताउनुभयो । उपाध्यक्ष पन्थीले ‘फेक आईडी’ बनाएर सामाजिक संजालमा विभिन्न भ्रम फैलाइएको र त्यसले विकृतिसमेत ल्याएको बताउनुभयो । 

    पार्टीका जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक नर बहादुर घर्तीले कम्युनिष्टहरु समाज परिवर्तनको संवाहक भएको बताउनुभयो । 

    एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले काम गर्ने क्रममा विभिन्न समस्या आउने बताउनुभयो । उहाँले पार्टी विरोधी गतिविधिले गन्तव्यमा पुर्याउन नसक्ने बताउनुभयो ।

    पार्टीका नेता कमल पोखरेलले एमाले धेरै संघर्षकाबीच यहाँसम्म आइपुगेको पार्टी भएको बताउनुभयो । उहाँले पार्टीका अध्यक्ष केपी ओलीमाथि सबै दोष लगाउन नहुने भन्दै पुनर्गठन गर्ने हो भने वडादेखि केन्द्रसम्म गर्नुपर्ने बताउनुभयो । त्यस्तै अर्का नेता तेजेन्द्र यादवले पार्टीको यो अवस्था किन आयो भन्ने कुराको समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा शुद्धीकरण र समीक्षा आवश्यक रहेको बताउनुभयो ।

    एमाले सिद्धार्थनगरको उपसचिव इन्दिरा क्षेत्रीको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    बैठकले सिद्धार्थनगरका १३ वटै वडामा मिसन पार्टी जागरण अभियान सञ्चालन गर्ने र त्यसको जिम्मेवारी बाँडफाँड गर्नुका साथै विभिन्न निर्णयहरु गरेको छ ।