२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

नेपाली काँग्रेस : १५ औं महाधिवेशन

शनिवार , आश्विन ३, २०८३

  • 280
    Shares
  • 280
    Shares
  • नेपाली प्रजातान्त्रिक इतिहासको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस आफ्नो स्थापनाको करिब आठ दशक पूरा गर्दै गर्दा कति आरोह–अवरोहहरु पार गर्दै कहिले सत्तामा कहिले प्रतिपक्षमा, कहिले निर्वासन, कहिले जेल गर्दै गर्दै आज आफ्नो १५ औं महाधिवेशन सुरुवात गरेको छ । देशको विषम परिस्थिति, पार्टीभित्र नै व्यापक गुठगत संरचना, विचारमा बेमेल, भर्खर सम्पन्न संघीय निर्वाचनमा पार्टी सभापति लगायतको ठूलो संख्यामा उम्मेदवारहरुको हार जस्तो गहिरो चोट, भखैर भोटेकोशीको अकल्पनीय घटना आदि दुःखैदुःखको समयमा सुरु भएको यो महाधिवेशन पक्कै पनि नेपाली काँग्रेसको लागि फलदायी रहने विश्वास धेरैले राखेको पाइन्छ ।

    नेपालबाट जहाँनिया राणा शासनको अन्त्य गर्न स्थापित पार्टी देशको हरेक परिवर्तनको संवाहकको रुपमा नेतृत्व ग्रहण गर्दै देशलाई निकास दिने गरेको छ । नेपाली काँग्रेस हाल यो परिस्थितिमा पनि करिबकरिब ९ लाख क्रियाशील सदस्यहरु रहेको पार्टी हो जो आजदेखि सुरु भएको वडा अधिवेशनमा समावेश हुनेछन् । पार्टी स्थापनापछि प्रथमदेखि चौथो महाधिवेशनसम्म सबै भारतको विभिन्न शहरहरुमा भएको थियो भने पाँचौ महाधिवेशन २००९ सालमा नेपालको जनकपुरमा भएको थियो र वि.पी. कोइराला सभापति बन्नुभएको थियो । त्यसपछिका सबै महाधिवेशनहरु देशभित्र नै भएको इतिहास छ ।

    वि.पी.पछि लगातार तीनपटक गिरिजा प्रसाद कोइराला र दुईपटक शेरबहादुर देउवा सभापति हुनुभयो । सबैले आ–आफ्नो ठाउँमा पार्टीलाई र देशलाई हित हुने कार्य नै गरेको पाइन्छ । २०२ साल भदौ २३ र २४ गते नेपालमा भएको युवाहरुको (जेनजी) आन्दोलन का कारण देशको सत्ता पूर्ण रुपमा असफल सावित भयो, धेरै धनजनको क्षति भयो । देशभित्र भएको भ्रष्टाचार, चरम बेरोजगारी, सधै एउटै व्यक्ति सक्ताको वरपर देखिनु, उमेर पुगेका पाका नेताहरु मात्रै हालीमुहाली हुने र युवाहरुलाई विदेश जान बाध्य बनाएको भनि सुरु भएको आन्दोलनपश्चात हरेक पार्टीहरुमा पनि यसको असर पर्नु स्वाभाविक थियो ।

    जेनजी आन्दोलनपश्चात पार्टीले सत्तामा रहँदा गरेको केही गलत क्रियाकलापहरु छन् भने त्यसको जिम्मेवारी लिनुपर्ने र युवालाई पार्टीभित्र अवसर दिनुपर्ने जोडजाड माग काँग्रेसभित्र उठ्यो जसको परिणामस्वरुप पार्टीभित्र विद्रोह सृजना हुन पुग्यो र १४ औं महाधिवेशनको ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरे जसको फलस्वरुप २०२ साल पुस २७ गते काठमाडौंमा पार्टीको विशेष महाधिवेशन भयो र सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभयो । त्यसपछि फागुनमा निर्वाचन भयो र पार्टीले नराम्रो पराजय भोग्नुपर्यो । देशमा नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो ।

    विशेष महाधिवेशनपश्चात सभापति बनेका गगन थापा आफैमा युवाहरुमाझ चर्चित मान्छिन् भने उनले ल्याएको योजनाहरु पनि देशका निम्ति फलदायी सावित हुने कुरा विगतदेखि नै देखिएको छ । आज यानिकी असोज ३, संविधान दिवसको दिन पारेर सुरु हुन लागेको नेपाली काँग्रेसको १५ औं महाधिवेशन असोज ३ र ४ गते सबै वडाका वडा अधिवेशन, ७ गते सबै पालिका अधिवेशन, १० गते प्रदेश सभा र प्रतिनिधि सभा अधिवेशन र असोज १६ देखि १९ सम्म केन्द्रिय महाधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको छ । बदल्यौ काँग्रेस बदल्छौं देश भन्ने संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गरेको नेपाली काँग्रेसले समावेशी लोकतन्त्र र सुशासन, आर्थिक सुधार र रोजगारी, समन्यायिक समाज र सामाजिक सुरक्षा, युवा र ज्ञान आधारित अर्थतन्त्र, हरित विकास र जलवायू परिवर्तन, सन्तुलित परराष्ट्र नीति र प्रवासी नेपाली जस्तो मुख्य ६ वटा आधार विन्दुहरुमा रहेर देशको अहिलेको शासन व्यवस्थालाई व्यवस्थित गर्ने यो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको रहनेछ ।

    नेपाली काँग्रेस एउटा पार्टी मात्र नभएर यो त विचार हो, सिद्धान्त हो र हाम्रो इतिहास हो । जसले देशबाट राणा शासनलाई अन्त्य गरे, जसले पञ्चायतलाई फाले, जसले १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य गर्दै देशमा सुशासन कायम गर्ने बाटोमा अग्रसर भइरहेको छ । पार्टीको १५ औं महाधिवेशन एकताको महाधिवेशन हुन सफल रहोस्, गुठगत राजनीतिबाट टाढा रहेर समाज र देशप्रति मात्र समर्पित पार्टी बन्न सकोस् । वि.पी. कोइरालाले भन्नुभएको समाजवाद र उहाँले नेपाली समाजका लागि देख्नुभएको सपनालाई साकार पारेर देशको प्रजातन्त्रलाई अझ व्यवस्थित र जनताप्रति उत्तरदायी हुन यो महाधिवेशन सफल होस् । सवैलाई शुभकामना । जय नेपाल ।