आइतवार , आश्विन ४, २०८३
भैरहवा, ४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी सदस्य अम्बिका काफ्लेले संविधानमा पछाडि परेका समुदायको हकअधिकार नलेखिएको बताउनुभएको छ । उहाँले संविधान पुर्नलेखन तथा संशोधनको विषयलाई राज्यले तत्कालै पुर्नविचार गर्नुपर्ने जसपा नेपालको माग रहेको बताउनुभयो ।
शनिबार भैरहवामा जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले आयोजना गरेको जिल्ला समिति समायोजन कार्यक्रममा बोल्नुहुँदै काफ्लेले संविधान दिवसलाई पार्टीले कालो दिवसको रुपमा मनाउँदै आएको बताउनुभयो ।
‘अधिकांश विषयहरु संविधानमा लेखिएका छैनन् । संविधानमा लेखिएका अक्षरहरु व्यवहारमा अझै पनि कार्यान्वयन हुन सकेको छैनन्, ’उहाँले भन्नुभयो–‘राज्यबाट पछाडि परेका समुदायको हकअधिकारको लागि जसपा नेपालले संघर्ष गर्दै आएको छ । जसपा नेपाल राजनीतिक दलको अभिभावकको रुपमा अघि बढ्ने आजको यो कार्यक्रममा सहभागीताले देखाएको छ ।‘
संविधान संशोधन तथा पुर्नलेखन नभएसम्म पार्टीले असोज ३ गतेलाई कालो दिवस मनाउनुपर्ने बाध्यकारी वातावरण सिर्जना गरिएको उहाँको भनाइ छ ।
‘कतिपयलाई जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजन नहोस् भन्ने चाहना थियो । कतिपयले जनताको मुद्दा उठाउने पार्टीलाई कसरी कमजोर बनाउने भनेर लागेको देखियो । यो पार्टी उत्पीडनमा परेका मधेशी, मुस्लिम, महिला, आदिवासी जनजातिका लागि संघर्ष गर्ने दल हो । पछाडी परेको वर्गको लागि संघर्ष गर्ने पार्टीको मुद्दा तथा एजेण्डालाई सामन्ती सोच भएका राजनीतिक दलले जसले हिजोदेखि दमन गर्दै आएको छ, हाम्रो आवाज र लक्ष्यलाई दबाएर राख्न सक्दैन, ’काफ्लेले भन्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजेश रंजन वर्मा (अजय वर्मा)ले जसपा नेपाललाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य विद्या प्रसाद यादवले जनसंख्यामा आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य निलम यादवले संविधान संशोधन नभएसम्म संघर्ष जारी रहने बताउनुभयो ।
पूर्व केन्द्रीय सदस्य विजया खत्रीले पार्टीको सच्चा कार्यकर्ताको रुपमा अघि बढ्ने बताउनुभयो ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले त्रुटीपूर्ण संविधान संशोधन नभएसम्म असोज ३ गते कालो दिवस मनाइरहने बताउनुभयो ।
कार्यक्रममा पार्टीको प्रदेश उपाध्यक्ष मोहम्मद असलम खाँ, प्रदेश सदस्य गौतम यादव, सुरेन्द्र धवल, समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव, जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, सचिव विष्णु अधिकारी, सह–सचिव जयशंकर पाठक, सिद्धार्थनगर अध्यक्ष जावेद आलम, उपाध्यक्ष मनोज प्रजापति लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij