आइतवार , आश्विन ४, २०८३
काठमाडौँ, ४ असोज । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ ।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरमा ठुलो पहिरो खसेर करिव १८ दिन अवरुद्ध बनेको सडक असोज १ गतेदेखी सञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौंलगायत देशका विभिन्न भागबाट आउने–जाने सवारीसाधन प्रभावित भएका थिए । मुख्य सडक नै क्षतिग्रस्त भएपछि यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो । सडक अवरुद्ध भएपछि सडक विभागले तत्काल वैकल्पिक सडक निर्माण तथा कटानको काम अघि बढाएका थियो ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले कृष्णभीरमा पहिरो खसेपछि तत्काल वैकल्पिक मार्गको खोजिमा लागेको बताउनु भयो । शुरुमा केही अलमलमा परेपनि पहिलो गएको दोस्रो दिनमा वैकल्पिक सडकको लागि मार्ग पहिचान गरिएको उहाँको भनाई छ । उहाँकाअनुसार पहिरोको माथिल्लो भागमा तुलनात्मक रूपमा समथर भूभाग भेटिएपछि त्यही क्षेत्रबाट सडक निकाल्ने योजना बनाइएर काम थालिएको थियो ।
काम शुरु गर्न एकदमै जटिल अवस्था रहेको उहाँले स्मरण गर्नुभयो । काम शुरु गर्दा एक्साभेटर सञ्चालन गर्नसमेत अपरेटरहरू डराएको उहाँले बताउनु भयो । जोखिम न्युनिकरणका लागि प्रत्येक मेसिनमा अपरेटरसँगै हेल्पर राखिएको तथा फ्ल्यागमार्फत निरन्तर निगरानी गरिएको उहाँको भनाई छ । दुवैतर्फबाट मेसिन चलाएर दुई दिनमा ट्रयाक खोल्ने काम सकिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार वैकल्पिक सडक निर्माण गरि हाल कृष्णभीरबाट ठूला मालवाहक तथा अन्य सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन् ।
रातिको समयमा समेत सडकमा बत्तीको व्यवस्था गरिएको उहाँले बताउनु भयो । तर सो क्षेत्रमा सडक पहिरोको बारेमा भने अध्ययन गर्न आवश्यक रहेको उहाँको भनाई छ । सडकको माथिल्लो भागको पहिरो दीर्घकालीन रूपमा स्थिर भएको हो वा होइन भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने उहाँले बताउनु भयो । हाल सक्रिय पहिरोको टो काटेर सडक सञ्चालनमा ल्याएकाले भू–स्थायित्वबारे थप अध्ययन गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘पहिरोको माथिको जंगलबाट हिँड्दाखेरि अलिकति त्यहाँ फ्ल्याट सर्फेस देखियो । तल एकदमै स्टिप भएपनि त्यहाँनेरबाटसडक निकाल्न सकिन्छ भन्ने खालको एउटा भयो । अनि हामी स्थानीयहरूसँग पनि छलफल गरेर हामीले सडक निर्माण थाल्यौँ । सुरुमा एक्साभेटर लिएर जानलाई अपरेटर नै मान्नुभएको थिएन, डराइराख्नुभएको थियो । हामीले अब त्यस्तो धेरै रिस्क हुँदैन, हामी तल बसेर मोनिटरिङ गर्छौँ भनेपछि उहाँ मान्नुभयो र काम शुरु भयो । अलिकति पनि क्र्याक आउने बित्तिकै ब्याक हुन भनेर हामीले भनेका थियाँै । हामी पहिला काम सुरु गर्नुभन्दा अगाडि सेफ्टी फस्र्ट भन्ने कुरालाई नै ध्यान दिन्छौँ । हामी रिस्क जोनमै काम गरिररहेका थियौँ, सँगसँगै प्रत्येक अपरेटरलाई एकजना हेल्पर पनि राख्यौँ । दुवैतर्फबाट मेसिन सञ्चालन गर्दाखेरि काम शुरु गरेको पहिलो दिन नै दुइटा मेसिनले एकअर्कालाई भेट्ने अवस्था आएको थियो ।
तर राति अलि धेरै समय भएको र फ्लडलाइटहरू व्यवस्थापन नभएको कारणले दोस्रो दिन लञ्च ब्रेकभन्दा अगाडि नै दुइटा मेसिनको बुम एकअर्कासँग भेट भइसकेको थियो । अहिले जुन ट्रयाक देखिन्छ, त्योभन्दा २०–३० मिटर माथि ट्रयाक ओपन गर्नुपर्ने अवस्था थियो । किनकि त्यो भिर थियो, एकैचोटि हामी आफ्नै ग्रेडमा गएर सडक खन्न मिल्ने अवस्था थिएन । तत्काललाई अहिले हामीले सडक निर्माण गरेका छौँ । अहिले हेर्दाखेरि सवारी साधनहरू एकदम निर्बाध रूपमा त्यहाँबाट सञ्चालन भएका छन् । रातिको लागि पनि हामीले लाइटहरू व्यवस्थापन गरेका छौँ, त्यो कारणले अलिकति सेफ फिल गरेर पनि होला, सवारी साधनहरू मज्जाले त्यहाँबाट आवतजावत गर्नु नै भएको छ । अब यसलाई दीर्घकालीन रूपमा अझै पनि माथिको पहिरो के हो ? पहिला एकदमै एक्टिभ भएको पहिरो, अहिले हामीले त्यसको टो काटेका छौँ, चलाएका छौँ । त्यो कारणले अब त्यो अलि स्थिर छ कि छैन भन्ने विषयमा चाहिँ अझै अध्ययन गरेर अझै अध्ययन गर्नुपर्छ ।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले अत्याधिक जोखिम मोलेर कृष्णभीरमा सडक निर्माण गरिएको बताउनु भयो । पुरानो सडक पहिरोले बगाइसकेको र बाँकी भूभागसमेत चिराचिरा परेको अवस्थामा काम अघि बढाइएको उहाँको भनाई छ । उहाँकाअनुसार सडक निर्माणका क्रममा सडक विभागका अधिकारी, आयोजना प्रमुख, परामर्शदाता, जियोटेक विज्ञ, इन्जिनियर तथा निर्माण कम्पनीका प्राविधिक र मजदुर फिल्डमै बसेर काम गरेका थिए । जोखिमका बाबजुद काठमाडौंमा ग्यास बुलेट, पेट्रोलियम पदार्थ तथा ठूला मालवाहक सवारीसाधन सञ्चालनका लागि कृष्णभीरमा सडक निर्माण गरिएको उहाँको भनाई छ । करिव १५ दिन फिल्डमा बसेर काम गरेपछि सडक सञ्चालनमा आएको उहाँले बताउनुभयो । काम शुरु गरेको ११ दिनमा वैकल्पिक सडक निर्माण गरी राजमार्ग सुचारु गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामीलाई काम गर्नको लागी कृष्णभीर ठूलो रिस्क थियो । तल पुरै खोलाले हानिसकेको, बाटो पुरानो बाटोको कुनै पनि संरचना नभएको र बाँकी भएको भाग पनि कतिखेर बग्छ र चिराचिरा अथवा धजाधजा अथवा खाल्डो जुन परेको अवस्था थियो, त्यो साँच्चै नै रिस्क थियो । हामी सबैले ज्यानको बाजी राखेर नै काम गरेका हौँ । मिसिन चलाउँदा रिस्क छ, पहिरो बगिरहेको थियो तर पनि यो बाटो खोल्नुको विकल्प छैन । बाटो खोलेर काठमाडौँमा हामीले ग्यासका बुलेट लगायत ठूलाठूला मालवाहक गाडीहरू, पेट्रोलियम पदार्थहरू, डिजेल, पेट्रोल काठमाडौं पठाउनुपर्छ भन्ने हिसाबले हामीले काम ग¥यौँ । ज्यानको बाजी लगाएर कृष्णभीरमा हामीले हात हालेका हौँ । झन्डै १५ दिन हामी फिल्डमै बसेर दिनरात नभनिकन आफ्नो ज्यानको बाजी लगाएर जोखिम मोलेर कृष्णभीरमा सहज रूपमा यातायात सञ्चालन गर्न सफल भएका छौँ । हामीले ११ नै दिनमा चाहिँ यातायात सञ्चालन गरेको हो ।’
खड्काले सरकारले सहज वातावरण बनाईदिएमा कृष्णभीरमा जस्तै अन्य स्थानमा पनि समयमा नै काम सम्पन्न गर्न सकिने बताउनु भयो । नेपालमा पूर्वाधार निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीलाई मात्र दोष दिन नहुने उहाँको भनाई छ । आयोजना शुरु हुनुअघि मुआब्जा, विद्युतका पोल, वन तथा रुख कटान, नदीजन्य निर्माण सामग्री, क्रसर र अस्फाल्ट प्लान्टलगायतका विषय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनु भयो । निर्माण व्यवसायीलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने, सुरक्षाको प्रत्याभुति गर्ने र समयमा भुक्तानी गर्ने व्यवस्था भए पूर्वाधार निर्माणले गति लिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा पूर्वाधार निर्माण नहुनुमा हामी निर्माण व्यवसायीलाई धेरै दोषी देखाइन्छ । नेपाल सरकारले अब सनसेट ल ल्याउने भन्ने हामीले सुनेका पनि छौँ । साँच्चै कन्ट्रयाक लगाउनुभन्दा पहिला नेपाल सरकारले नेपालका ठूलाठूला आयोजना होस् अथवा साना आयोजना होस् अथवा निर्माण व्यवसायीले टाइममा काम सक्ने र गराउने हो भने नेपाल सरकारले सबैभन्दा पहिला मुआब्जा, बिजुलीका पोल हटाउने, रुख काट्ने र रिभर मेटेरियल र आयोजनामा लाग्ने क्रसर र अस्फाल्ट प्लान्टहरू सहज रूपमा सरकारले व्यवस्थापन गर्नुपर्छ । सरकारले निर्माण व्यवसायीलाई सुरक्षाका ग्यारेन्टीसहित टाइममा भुक्तानी गर्ने व्यवस्था भयो भने नेपालको पूर्वाधार क्षेत्रमा ठूलो फड्को मार्छ । हामीले काम ग¥यौँ भने सरकार पनि सफल हुने र सरकारले जस पनि पाउने हो । पूर्वाधार देशको नभई नहुने महत्वपूर्ण पाटो हो । त्यो पाटोलाई राज्यले गम्भीर रूपमा लिनुपर्छ ।’
उहाँले निर्माण क्षेत्रलाई देशको पूर्वाधार विकासको महत्वपूर्ण क्षेत्रका रूपमा लिएर सरकारले निर्माण व्यवसायीसँग समन्वय बढाउनुपर्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij