आइतवार , आश्विन ४, २०८३
काठमाडौँ, ४ असोज । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नभई रातिसमेत विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गर्नुभयो । उहाँले रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका अब दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने बताउनु भयो । डंगोलकाअनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो ।
पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको उहाँले जानकारी दिनुभयो । उहाँले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने बताउनु भयो । नियमित कार्यालय समयबाहेक रातिसम्म काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित यातायात सेवाले सहज र सुरक्षित रूपमा घर फर्किने वातावरण बनाउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘स्थानीय सरकारको मूल दायित्वहरु जे जे छन् त्यसमध्ये एउटा महत्वपूर्ण दायित्व स्थानीय यातायात त्यसको विस्तार गर्ने त्यो पनि दिउँसो मात्रै होइन है । अब राति पनि हाम्रा यातायात चल्छ । काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन अब राति पनि चलायमान हुन्छ । जो कोहीको लागि यो शहरले सम्मानपूर्वक पहुँच योग्य हिसाबले सेवा सुविधा अगाडि बढाइरहेको छ । शहर चलायमान हुनुपर्छ भन्ने कुरामा हामी कसैको पनि दुई मत छैन । काठमाडौं अब दिनमा मात्र हैन राति पनि चलिरहेको छ जुन हामीले वैशाख १ गतेबाट ट्रायल फेजमा बुढानीलकण्ठदेखि ललितपुरको लगनखेलसम्म त्यसैगरी एअरपोर्टदेखि चन्द्रागिरीसम्म जोड्ने हामीले रुट जब तय ग¥यौँ, त्यसमा पहिलो ९० दिनमा नै ६७ हजार यात्रुहरुले यो सेवा सुविधा लिनुभयो ।
त्यसले पनि देखाउँछ काठमाडौँ दिनमा मात्र हैन राति पनि चलायमान छ । र हामीले पब्लिक ट्रान्सपोर्टेसनको कुरा गरिरख्दाखेरि पब्लिक ट्रान्सपोर्टेसन भनेको यो बस मात्र हैन है । पब्लिक ट्रान्सपोर्टेसन भनेको अवसर पनि हो । हामीले जो १०–५ काम गर्छौँ उसलाई त्यति धेरै खासै प्रब्लम हुँदैन होला । तर जब सुरक्षित बस चल्छ तब सुरक्षित बस चलिसकेपछि नि एकजना विद्यार्थी घर फर्किने बाटो बन्छ । राति पनि काम गर्नेहरु धेरै जना हुनुहुन्छ ।
उहाँहरुले श्रमिक वर्गहरुले सुरक्षित महशुस गर्न पाउनुहुन्छ जब हामीले यातायात सेवालाई सुरक्षित बनाउँछौँ र सँगसँगै राति पनि यो सर्भिस लागू गरेसँगै महिला, युवा लगायत हजारौँ नागरिकहरुलाई यसले दिनदिनै हरेक दिन उहाँहरुको सेवा उहाँहरुको कर्मसँग जोडिरहेको हुन्छ र त्यो भने एउटा सिटीसँग मात्र हैन उपत्यकाको हरेक शहरसँग जोडिरहेको हुन्छ ।’
रात्रिकालीन सार्वजनिक यातायात सेवाले काठमाडौं महानगर मात्र नभई समग्र काठमाडौं उपत्यकाका विभिन्न शहरलाई आपसमा जोड्ने उहाँको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij