सोमवार , आश्विन ५, २०८३
भैरहवा, ५ असोज । बालबालिकामा आत्म–पहिचान, भावनात्मक बुद्धिमत्ता, तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा एकदिने बालबालिका आन्तरिक कल्याण शिविर सम्पन्न भएको छ।
‘आफूलाई चिनौं, मनलाई बुझौं र जीवनलाई अझ सुन्दर बनाऔं’ भन्ने नाराका साथ भैरहवाको बुद्धचोकस्थित राजनीश ध्यान मन्दिरमा शिविर आयोजना गरिएको हो ।
बिहान ९ बजेदेखि बेलुका साढे ४ बजेसम्म सञ्चालन भएको शिविरमा २० जना बालबालिकाको सहभागीता रहेको थियो । शिविरमा ध्यान, आत्म–पहिचान, भावनात्मक बुद्धिमत्ता, तनाव व्यवस्थापन, स्वस्थ सम्बन्ध, डिजिटल सन्तुलन, जीवनोपयोगी सीप, कृतज्ञता तथा करुणा, सजगता र कलामार्फत कृतज्ञताजस्ता विषयमा बालबालिकालाई अभ्यास तथा प्रशिक्षण दिइएको थियो ।
आश्रम सञ्चालक सुनयना के.सी. गिरीको संयोजनमा आयोजित शिविरको सञ्चालन रञ्जु शर्मा, ओम स्वामी र सुरेश स्वामीले गर्नुभएको थियो ।
शिविरमार्फत बालबालिकालाई आफ्नो भावना बुझ्ने, तनाव व्यवस्थापन गर्ने, प्रविधिको सन्तुलित प्रयोग गर्ने तथा दैनिक जीवनमा सकारात्मक सोच र करुणाको विकास गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij