२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

प्रहरी निरीक्षक कार्की ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषित

सोमवार , आश्विन ५, २०८३

  • 361
    Shares
  • 361
    Shares
  • भैरहवा, ५ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको कार्यालय प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्की २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ (बेस्ट ट्राफिक पुलिस अफ द मन्थ घोषित हुनुभएको छ ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीले कार्कीलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो । कार्यालयका अनुसार सांगठनिक नीति, निर्देशन तथा प्रचलित कार्यविधिबमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई उच्च व्यवसायिकता, कर्तव्यनिष्ठा र उत्तरदायित्वका साथ निर्वाह गरेको मूल्यांकनका आधारमा उहाँलाई उत्कृष्ट छनोट गरिएको हो ।

    प्रहरी निरीक्षक कार्कीले रुपन्देही जिल्लाको सवारी दुर्घटनाको तथ्यांक विश्लेषणका आधारमा ७ वटा उच्च दुर्घटना जोखिम क्षेत्र पहिचान गरी ती क्षेत्रमा दुर्घटना जोखिमसम्बन्धी चेतावनी संकेत बोर्ड जडान गर्नुभएको कार्यालयले जनाएको छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकासँग समन्वय गरी कार्यालय अगाडि रहेको सार्वजनिक जग्गाको भोकाधिकार प्राप्त गरेर व्यवस्थित र सुरक्षित पार्किङस्थल निर्माण, विभिन्न मितिमा बेवारिसे फेला परेका एउटा चारपांग्रेसहित १२ वटा सवारीसाधन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीसँग समन्वय गरी भैरहवा भन्सार कार्यालय बुझाउने कार्यसमेत गर्नुभएको प्रमाणपत्रमा उल्लेख छ ।

    त्यसै गरी बुटवल–भैरहवा सडकखण्डमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरी दुईवटा उच्च दुर्घटना जोखिम क्षेत्रमा स्पिड ब्रेकर/रम्बल स्ट्रिप, स्पष्ट रूपमा देखिने सडक चिन्ह तथा रोड मार्किङ, जेब्रा क्रसिङ र पैदलयात्री मार्ग निर्माण, मर्मत तथा पुनःस्थापना गरिएको जनाइएको छ ।

    विभिन्न जनचेतनामूलक सांकेतिक सडक सचेतना बोर्डहरू स्थापना गर्नुका साथै क्षमताभन्दा बढी भारवाहन गरेका १ हजार १ सय ९८ वटा सवारीसाधनलाई कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको उल्लेख छ ।

    स्थानीय तहहरूसँग आवश्यक समन्वय गरी टीभीआरएस प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टरलगायतका उपकरण प्राप्त गरी तथा मातहतका पाँचवटा पोष्टबाट टीभीआरएस प्रणाली सेवा विस्तार गर्ने कार्यमा समेत उहाँको योगदान रहेको कार्यालयले जनाएको छ।

    उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले सोमबार भदौ महिनाका लागि प्रहरी निरीक्षक प्रतिमा कार्कीलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गर्नुभएको हो ।

    800811930_1120032847643568_5254877712924611195_n.jpg