२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

काँग्रेस सिद्धार्थनगर सभापतिमा देवराज न्यौपानेद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

मंगलवार , आश्विन ६, २०८३

  • 406
    Shares
  • 406
    Shares
  • भैरहवा, ६ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बुधबार (भोली) हुने सिद्धार्थनगर नगर समिति, रुपन्देहीको अधिवेशनमा नगर सभापतिमा युवा नेता देवराज न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलबार भैरहवामा सभापति एवं पदाधिकारीहरुको उम्मेदवारी घोषणा कार्यक्रममा न्यौपानेसहित प्यानल (समूह) ले उम्मेदवारी घोषणा गरेको हो ।

    न्यौपाने अघिल्लो अधिवेशनबाट नगर उपसभापतिमा निर्वाचित हुनुभएको थियो । न्यौपानेको प्यानलबाट उपसभापतिमा गौरव श्रेष्ठ, उपसभापति (महिला) मा निलु श्रीस मगर, सचिवमा धर्मवीर शर्मा र सह–सचिवमा दिनेश सहानी हुनुहुन्छ ।

    उम्मेदवारी घोषणा कार्यक्रममा बोल्नुहुँदै सभापति पदका उम्मेदवार न्यौपानेले विगत पाँच वर्षदेखि उपसभापति पदमा रहेर इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको बताउनुभयो । हाल कार्यबाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै काँग्रेसको संगठनलाई बलियो बनाउन लागिपरेको उहाँले बताउनुभयो । काँग्रेस सिद्धार्थनगरलाई एकढिक्का बनाउन प्रयत्न गरिरहेको उहाँको भनाइ छ । ‘काँग्रेसको संगठनलाई अझ मजबुत बनाउन मैले उम्मेदवारी दिएको हुँ, सिद्धार्थनगरलाई काँग्रेसमय बनाउन सबैले म र मेरो टीमलाई मतदान गर्नुहुन आग्रह गर्दछु, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सिद्धार्थनगरमा काँग्रेसको संगठनलाई बलियो र गतिशील बनाउन देवराज न्यौपानेको टीमलाई उम्मेदवार बनाइएको बताउनुभयो । उहाँले यो टीमको जीतले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

     

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा तथा पूर्वमन्त्री वसिउद्दीन खाँ, प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, संविधान सभा सदस्य जन्नतुन निशा, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेताहरु दीपेन्द्रमान श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन काँग्रेस युवा नेता ओजश शर्माले गर्नुभएको थियो ।