बिहिवार , आश्विन ८, २०८३
भैरहवा, ८ असोज । पश्चिमाञ्चल जीवनयोग प्रयोगशाला, सिद्धार्थनगर–६, रुपन्देहीले जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवलाई सम्मान गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच हालै भएको समायोजनपछि पुनः रुपन्देही जिल्ला अध्यक्षमा चयन हुनुभएका यादवलाई प्रयोगशालाले सम्मान गरेको हो । यादव प्रयोगशालाका सह-संयोजक हुनुहुन्छ ।
बुधबार भैरहवामा आयोजित कार्यक्रममा प्रयोगशालाका सल्लाहकार तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेयले यादवलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सम्मानपछि बोल्दै यादवले आफू राजनीतिक दलको जिल्ला नेतृत्वमा रहे पनि पार्टीगत आग्रह–पूर्वाग्रह नराखी सबैलाई समान रूपमा हेर्ने बताउनुभयो । उहाँले आफूले तेस्रोपटक जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएको उल्लेख गर्दै राजनीतिसँगै सामाजिक कार्यलाई पनि निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका कार्यबाहक अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा जीवन विज्ञान परिषद् रुपन्देहीका अध्यक्ष खगनाथ गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij