२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

‘सिद्धार्थनगरमा काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने संकल्प गरौं’

शुक्रवार , आश्विन ९, २०८३

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, ९ असोज । नेपाली काँग्रेस सिद्धार्थनगर नगर समिति, रुपन्देहीका नवनिर्वाचित सभापति देवराज न्यौपानेले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्नुभएको छ ।

    पार्टीको १५ औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न सिद्धार्थनगर नगर अधिवेशनबाट सभापतिमा निर्वाचित न्यौपानेले काँग्रेसको शक्ति समावेशी चरित्र, लोकतान्त्रिक संस्कार र विविधताबीचको एकतामा रहेको बताउनुभएको छ । उहाँले अग्रजहरूको अनुभव, युवाको उर्जा, महिलाको नेतृत्वदायी सहभागीता तथा सबै समुदायको समान सम्मान र सक्रिय सहभागीतालाई संगठन निर्माणको आधार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    वडादेखि नगर तहसम्म संगठनलाई अझ व्यवस्थित, सक्रिय र जनतासँग जोडिएको बनाउने बताउँदै न्यौपानेले नियमित संवाद, पारदर्शी निर्णय प्रक्रिया र स्थानीय मुद्दामा प्रभावकारी नेतृत्वलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो ।

    पार्टीभित्र विचारको सम्मान, जिम्मेवारीमा योग्यता र योगदानको कदर तथा अवसरमा न्याय सुनिश्चित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने उहाँको प्रतिबद्धता छ । ‘हामीलाई विजय गराउन सहयोग गर्नुहुने, शुभेच्छा र आशीर्वाद दिनुहुने सम्पूर्णमा पुनः धन्यवाद व्यक्त गर्दछौं,’उहाँले भन्नुभयो–‘हजुरहरूको विश्वासलाई जिम्मेवारीमा, मतलाई सेवामा, विविधतालाई शक्तिमा र साथलाई संगठन निर्माणको उर्जामा रूपान्तरण गर्दै हामी सबै मिलेर सिद्धार्थनगरमा नेपाली काँग्रेसलाई प्रतिबद्ध, समावेशी, सशक्त र जनताको भरोसाको केन्द्र बनाउने संकल्प गरौं ।’

    न्यौपानेले नगर अधिवेशनमा आफूलाई मतदान गर्ने सम्पूर्ण प्रतिनिधि तथा सहयोग गर्ने अग्रज, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, पार्टीका नेता–कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।