आइतवार , आश्विन ११, २०८३
संस्कृति समाजको जग हो, संस्कार यसलाई थाम्ने खम्बा हो भने आधुनिक प्रविधि घरलाई उज्यालो पार्ने बिजुली हो । बिजुलीको सही प्रयोगले घर आलोकित त हुन्छ । तर, थोरै मात्र असावधानी भएमा यसले सिंगो घरलाई नै जलाएर खरानी बनाउन सक्छ । आजको नेपाली समाज ठ्याक्कै यही प्रविधिको उज्यालो र यसको विनाशकारी डढेलोको दोसाँधमा उभिएको छ ।
एकातिर हामी भौतिक र प्राविधिक रूपमा आधुनिक बन्दै गएका छौं, तर अर्कोतिर हाम्रा परम्परागत मूल्य–मान्यता, पारिवारिक आत्मीयता र न्यूनतम मानवीय समवेदनासमेत सामाजिक सञ्जालको डिजिटल स्क्रिनभित्र हराउँदै गइरहेका छन् । प्रविधिको यो तीव्र आँधीबेहरीमा हाम्रा स्थापित खम्बाहरू धर्मराउन थालेकाले अब केवल चिन्ता गरेर मात्र पुग्दैन, यस विषयमा गम्भीर सामाजिक विमर्श र आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।
संस्कृति र चाडपर्वमा डिजिटल चमक
नेपाली संस्कृति विविधताभित्रको एकताको एउटा सुन्दर बगैँचा हो । हाम्रा विभिन्न जातजाति, फरक भेषभूषा र मौलिक चाडपर्वहरूले हामीलाई संसारभर एउटा बलियो र छुट्टै पहिचान दिएका छन् । संस्कृति र चाडपर्व कहिल्यै पनि स्थिर हुँदैनन्, यी समय र आवश्यकताअनुसार परिमार्जन तथा परिवर्तन हुँदै अगाडि बढ्छन् । अहिलेको डिजिटल युगमा हाम्रो संस्कृतिको बाह्य स्वरूप निकै फेरिएको छ ।
इन्टरनेट र सामाजिक सञ्जालका कारण आज हाम्रा मौलिक बाजा, भेषभूषा र चाडपर्वहरू विश्वभर सजिलै पुगेका छन् । काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा वा सुदूरपश्चिमको देउडा नाच अहिले प्रत्यक्ष प्रसारण (लाइभ) मार्फत संसारभरका मानिसले एकैसाथ हेर्न पाएका छन् । टिकटक वा इन्स्टाग्राम जस्ता प्लेटफर्ममा परम्परागत पहिरन लगाएर सिर्जना गरिने भिडियोहरूले नयाँ पुस्तामा आफ्नो संस्कृतिप्रति एक खालको आकर्षण त जगाएको छ, तर यो केवल सतही चमकधमकमा मात्र सीमित हुँदै गइरहेको देखिन्छ ।
यसको अर्को पाटो निकै चिन्ताजनक छ । आधुनिक बन्ने अन्धो दौडमा पाश्चात्य संस्कृतिको अन्धानुकरण गर्ने प्रवृत्ति युवा पुस्तामा तीव्र गतिमा बढिरहेको छ । हाम्रा रैथाने गीत, संगीत र लोकनाचहरू ओझेलमा पर्दै गएका छन् भने ‘पप संस्कृति’ र विदेशी चाडपर्वहरूको चमकदमकले सामाजिक प्राथमिकता पाउन थालेको छ ।
दसैं–तिहारमा घरको आँगनमा खेलिने परम्परागत लिंगे पिङ र मौलिक देउसी–भैलो अहिले सहरका पार्टी प्यालेस र रेष्टुरेण्टहरूमा हुने डिजे पार्टी र मदिराको भड्किलो शैलीमा रूपान्तरित हुँदै गएका छन् । संस्कृतिलाई व्यापारीकरण गर्ने खेलमा आधुनिक प्रविधि एउटा बलियो माध्यम बनेको छ, जसले हाम्रो मौलिकपनको वैचारिक धरातललाई कमजोर बनाउँदै लगेको छ । संस्कृति बाह्य आवरण मात्र होइन, यसको भित्री चुरो त संस्कार र आन्तरिक मूल्य हो ।
स्खलित हुँदै गएको संस्कार र भत्किँदो ओत
पारिवारिक सम्बन्ध र संस्कार मानव सभ्यताको सबैभन्दा जेठो, बलियो र सुरक्षित सामाजिक संरचना हो । यो केवल एउटा छानामुनी बस्ने मानिसहरूको समूह मात्र होइन । बरु माया, विश्वास, त्याग र सामीप्यको यस्तो बलियो कडी हो जसले व्यक्तिलाई समाजसँग जोड्छ । पूर्वीय दर्शनमा व्याख्या गरिएका संस्कारहरूको मुख्य उद्देश्य मानिसलाई पशुवत् व्यवहारबाट माथि उठाएर एउटा जिम्मेवार र संवेदनशील नागरिक बनाउनु हो । आमाबुबा र गुरुको सम्मान गर्नु, ‘अतिथि देवो भवः’ को भावना राख्नु र अरूप्रति दयाभाव राख्नु हाम्रा गौरवमय संस्कार हुन् ।
तर, वर्तमान समयमा भौतिकवादी सोच र प्रविधिको अत्यधिक प्रयोगले हाम्रा स्थापित संस्कारहरू स्खलित हुँदै गएका छन् । हामीले औंलाको एक क्लिकमा संसारभरीका अपरिचितहरूलाई त ‘फलो’ गर्यौं, तर आफ्नै ओतभित्र रहेका आमाबाबु र छोराछोरीलाई भने ‘अनफलो’ गर्दै गइरहेका छौं । एउटै कोठामा वा एउटै टेबलमा खाना खाँदा पनि परिवारका सदस्यहरू एकअर्कासँग बोल्नुको साटो आ–आफ्नो स्मार्टफोनमा व्यस्त हुन्छन् । यसले गर्दा परिवारभित्र हुनुपर्ने प्रत्यक्ष संवाद, आत्मीयता र भावनात्मक सम्बन्ध हराउँदै गएको छ । नयाँ पुस्तामा अग्रजहरूलाई आदर गर्ने र समाजप्रति उत्तरदायी हुने भावना घट्दै गएको गुनासो सर्वत्र सुनिन्छ ।
प्रविधिले टाढा रहेका आफन्तसँग भिडियो कलमार्फत आशीर्वाद लिने जस्ता डिजिटल संस्कारको विकास त गराएको छ, तर यसले प्रत्यक्ष भेटघाट र मानवीय भावनाको गहिराइसमक्ष कहिल्यै प्रतिष्पर्धा गर्न सक्दैन ।
सम्बन्ध र संस्कार कमजोर हुनुमा प्रविधिको दासत्व मात्र होइन, उपभोक्तावादी संस्कृति र अन्धो आर्थिक दौड पनि जिम्मेवार छ ।
आधुनिक जीवनशैली यति खर्चिलो बनेको छ कि मानिस चौबीसै घण्टा पैसा कमाउने मेसिनमा रूपान्तरण भएको छ । यस दौडले बैंक ब्यालेन्स त बढाएको छ, तर परिवारका लागि आवश्यक समय भने पूर्ण रूपमा खोसेको छ । अर्कोतर्फ, वैदेशिक रोजगारीको बाध्यताले गर्दा उत्पन्न भएको सञ्चारको कमी र भावनात्मक दूरीले कयौं परिवारहरू भत्किरहेका छन् । नयाँ पुस्तामा ’म, मेरो स्वतन्त्रता र मेरो चाहना’ भन्ने भावना अत्यधिक हाबी हुँदा सम्बन्धहरूमा सहनशीलता र सम्झौता गर्ने क्षमता घट्दै गइरहेको छ।
क्यामराभित्र कैद हुँदै गएको सामाजिक चेतना
के स्मार्टफोनको स्क्रिन चम्किँदै गर्दा मानिसको भित्री विवेक निभ्दै गएको हो ? कसैको जीवन र मरणको अन्तिम चित्कार अरूका लागि केवल सामाजिक सञ्जालको भाइरल कन्टेन्ट मात्र कसरी बन्न सक्छ ? विपद्मा वा कुनै दुर्घटनामा मृत्युको मुखमा परेका नागरिकलाई बचाउनुको साटो मोबाइल ठड्याएर रमिते बन्ने भीडले आज हाम्रो सभ्यतामाथि नै एउटा कुरुप प्रश्नचिह्न खडा गरेको छ । एउटा सानो कोसिस गर्दा कसैको अमूल्य जीवन सहजै जोगाउन सकिने सम्भावना हुँदाहुँदै पनि उद्धारमा जुट्नुको साटो स्मार्टफोन ठड्याएर भिडियो खिच्न र भाइरल बन्ने घिनलाग्दो होडबाजीमा मानिसहरू लिप्त हुन्छन् ।
नेपालका व्यस्त सडकहरूमा दैनिकजसो सवारी दुर्घटना हुँदा मानिस रक्तश्रम्य भई छटपटाइरहँदा, बाटो हिँड्ने रमितेहरूले घाइतेलाई अस्पताल पुर्याउने उपाय खोज्नुको साटो मोबाइल निकालेर भिडियो खिच्न तँछाडमछाड गर्छन् । रगत लतपतिएको बिभत्स दृश्य समेत नलुकाई सामाजिक सञ्जालमा हाल्ने यस प्रवृत्तिले पीडितको बाँच्ने अन्तिम समय त खोस्छ नै, उनका आफन्तलाई समेत आजीवन निको नहुने मानसिक चोट दिन्छ ।
जब समाजमा मानवीय मूल्य र उत्तरदायित्वभन्दा सामाजिक सञ्जालका क्षणिक ‘लाइक्स’ र ‘भ्युज’ महत्वपूर्ण हुन थाल्छन्, तब विवेकहीन मानिस प्रविधिको पूर्ण दास बन्छ र उसको मानवीय चेतना शून्य हुन पुग्छ ।
मनोविज्ञानमा एउटा स्थापित सिद्धान्त छ, जसलाई ‘दर्शक प्रभाव’ भनिन्छ । यस सिद्धान्त अनुसार जब कुनै दुर्घटना वा आपत्कालीन अवस्थामा धेरै मानिसहरू एकै ठाउँमा जम्मा हुन्छन्, तब प्रत्येक व्यक्तिले सोच्छ कि अरू कसैले मद्दत गर्नेछ । जसका कारण कोही पनि अगाडि बढेर मद्दत गर्न चाहँदैन र सामूहिक रूपमा सबै उदासीन बनिदिन्छन् । ‘मैले नगरे पनि अरू कसैले सहयोग गर्ला नि त’ भन्ने सोचेर मोबाइल मात्र ठड्याइरहँदा कयौं अमूल्य मानव जीवनले अकालमै ज्यान गुमाउनुपर्छ ।
डिजिटल मन्चिङ र चरित्रहत्या
प्रविधिको सबैभन्दा कुरुप र बीभत्स अनुहार कसैको व्यक्तिगत जीवनमाथि धावा बोल्दा सामाजिक सञ्जालमा छरपस्ट हुन्छ । कसैको व्यक्तिगत कुराकानीको अडियो, भिडियो वा कृत्रिम बुद्धिमत्ताको दुरुपयोग गरी बनाइएका ‘फेक’ सामग्रीहरू बाहिरिनासाथ समाजका मानिसहरू सत्यतथ्य नबुझी त्यसलाई भाइरल बनाउन जाइलाग्छन् । मिडियाका नाममा खोलिएका कतिपय अव्यवसायिक च्यानलहरू र सर्वसाधारणले पीडितको स्पष्टीकरण सुन्नु अगावै उसको सामाजिक मृत्यु गराइसकेका हुन्छन् ।
यसप्रकारको ‘डिजिटल मन्चिङ’ अर्थात् सामाजिक सञ्जालमार्फत सामूहिक रूपमा गरिने मानसिक आक्रमण र चरित्र हत्याका कारण कयौं मानिसहरू डिप्रेसनमा जाने र आत्महत्या जस्तो आत्मघाती बाटो रोज्न बाध्य हुने गरेका छन्, जुन हाम्रो सामाजिक चेतना मरिसकेको बलियो प्रमाण हो । सामाजिक सञ्जालमा देखिने ‘ट्रोल’ र गालीगलौजको विकृत संस्कृतिले हाम्रो समाजमा संस्कार कुन हदसम्म क्षयीकरण हुँदैछ भन्ने स्पष्ट ऐना देखाउँछ ।
परिवेशको पासो र बहुआयामिक प्रभाव
वास्तवमा संस्कृति, संस्कार र चाडपर्व हावामा तैरिएका अमूर्त विषय होइनन् यी त पूर्ण रूपमा परिवेशको बलियो घेराभित्र जकडिएका हुन्छन् । परिवेश त्यो माटो हो, जहाँ संस्कृतिरूपी विरुवा उम्रन्छ र संस्कार रूपी फल लाग्दछ । यदि माटो नै प्रदूषित वा परिवर्तन भयो भने विरुवा र फलको मौलिक स्वाद स्वतः बदलिन्छ ।
आजको मानिस भौतिक परिवेशमा भन्दा बढी ‘भर्चुअल परिवेश’ अर्थात् डिजिटल संसारमा बाँच्छ । जब गाउँका युवाहरू रोजगारीका लागि विदेशी परिवेशमा पुग्छन् वा सहरको एकल परिवारको परिवेशमा बाँच्छन्, तब उनीहरू चाहँदाचाहँदै पनि आफ्ना कुलपूजा, चाडपर्व र सामूहिक जात्राहरूमा भौतिक रूपमा सहभागी हुन सक्दैनन् । परिणामस्वरूप, संस्कृति केवल पात्रो र सम्झनामा सीमित हुन पुग्छ ।
बालकले आमाबुवाको व्यवहार वा समाजको आदर्शबाट संस्कार सिक्नुपर्नेमा मोबाइलको स्क्रिनमा देखिने अपरिचित र पश्चिमेली शैलीको परिवेशबाट आफ्नो आचरण निर्माण गरिरहेको छ । परिवारबाट पर्याप्त माया र ध्यान नपाउँदा बालबालिकाहरू मानसिक खालीपनको सिकार भइ कुलत वा लागूऔषध जस्तो दलदलमा फस्न पुग्छन् । अर्कोतर्फ, शहरका भव्य महलहरूमा वा वृद्धाश्रमहरूमा ज्येष्ठ नागरिकहरू एक्लोपनको आँसु पिएर बाँचिरहेका छन् ।
अबको बाटो : डिजिटल डिटक्सदेखि संरचनात्मक सुधारसम्म
संस्कृति, संस्कार, चाडपर्व र परिवेशको यो चतुष्कोणीय सम्बन्धमा प्रविधिको प्रभावलाई पूर्ण रूपमा रोक्न सम्भव छैन र त्यो बुद्धिमानी पनि होइन । विज्ञान र प्रविधिको युगमा यसबाट भागेर हामी अगाडि बढ्न सक्दैनौं । चुनौती प्रविधि आफैमा होइन, चुनौती त यसको प्रयोग कसरी भइरहेको छ र यसले कस्तो परिवेश निर्माण गरिरहेको छ भन्नेमा हो । हामीले प्रविधिलाई साधन र संस्कृतिलाई जीवन बनाउन सक्नुपर्छ । यसका लागि व्यक्तिगत, पारिवारिक र सरकारी स्तरबाट ठोस कदमहरू चाल्नु आवश्यक छ ।
डिजिटल डिटक्स : चौबीसै घण्टा अनलाइन रहने बानीलाई तोड्न आवश्यक छ । घरमा कम्तीमा खाना खाने समय वा साँझको एक घण्टालाई ’स्क्रिन फ्री जोन’ घोषणा गरिनुपर्छ । खाना खाँदा फोन चलाउने होइन, एकअर्काको अनुहार हेरेर कुराकानी गर्ने बानी बसाल्नुपर्छ । परिवारसँग गुणस्तरीय समय बिताउने वातावरण निर्माण गर्नुपर्छ ।
उद्धारलाई पहिलो प्राथमिकता र ‘नो सेयर’ नीति : यदि घटनास्थलमा पीडितको ज्यान तत्कालै जाने खतरा छ भने पहिलो प्राथमिकता भिडियो खिच्नु नभइ उद्धार नै हुनुपर्छ । प्रमाणका लागि खिचिएको भिडियो सिधै प्रहरीलाई बुझाउनुपर्छ, सामाजिक सञ्जालमा भ्युजका लागि पोस्ट गरिनुहुँदैन । हामीले आफ्नो दैनिक जीवनमा दुर्घटना वा मानवीय पीडाका भिडियो र तस्बिरहरूलाई कदापि फर्वार्ड वा सेयर नगर्ने ‘नो सेयर’ नीति लागू गर्नुपर्छ ।
कानूनी तथा सरकारी प्रयास : नेपालमा ‘सद्भावी नागरिक सुरक्षा’ कानूनको स्पष्ट व्यवस्था हुन जरुरी छ, जसअन्तर्गत आपत्कालीन अवस्थामा कसैको ज्यान बचाउन निःस्वार्थ भावले प्रयास गर्ने व्यक्तिलाई पछि आइपर्ने कानूनी झमेला वा प्रहरीको केरकारबाट सुरक्षित राखियोस् र मानिसहरू निर्धक्क भइ उद्धारमा जुट्न सकून् । सरकारले फेसबुक, टिकटक जस्ता कम्पनीहरूसँग समन्वय गरेर बिभत्स शारीरिक चोटपटकका भिडियोहरूलाई तत्काल फिल्टर वा टेक–डाउन गर्ने प्रणाली लागू गर्नुपर्छ ।
शिक्षा प्रणालीमा परिमार्जन : माध्यमिक तहको पाठ्यक्रममै डिजिटल साक्षरता र साइबर नैतिकता सम्बन्धी शिक्षालाई अनिवार्य गरिनुपर्छ, जसले विद्यार्थीहरूलाई ‘डिजिटल समानुभूति’ सिकाओस् र स्क्रिनको अर्कोपट्टी रहेको व्यक्ति पनि हाडछालाकै मानिस हो र उसको पनि मर्यादा हुन्छ भन्ने बोध गराओस् ।
निष्कर्ष
ईट्टा, सिमेन्ट र बालुवाले घर त बन्ला, तर त्यहाँभित्र बस्ने मानिसहरूबीच माया र विश्वास भएन भने त्यो केवल एउटा ‘आवास’ मात्र हुन्छ, परिवार बन्न सक्दैन । भौतिक रूपमा सम्पन्न भएर पनि यदि हामी मानसिक र भावनात्मक रूपमा एक्लो छौं भने त्यो समृद्धिको कुनै अर्थ रहँदैन । संसार जित्न दौडिरहँदा आफ्नो जग अर्थात् परिवार, संस्कृति र मानवीय समवेदनालाई गुमाउनु भनेको आफ्नै विनाशको बाटो रोज्नु जस्तै हो ।
डिजिटल संसारमा भाइरल हुनु क्षणिक हो, तर मानव भइरहनु सनातन हो । प्रविधिलाई आफ्नो विवेकमाथि हाबी हुन नदिइ मोबाइलको क्यामरा अन गर्नुभन्दा पहिले आफ्नो भित्री मानवताको आँखा अन गरौं । कसैको दुःखमा भिडियो खिच्ने क्रुर रमिते होइन, हात बढाएर ज्यान जोगाउने र सम्बन्धहरूलाई जीवन्त राख्ने सच्चा मानव बनौं । आजैदेखि आफ्नो फोनलाई केही समयका लागि टाढा राखौं र आफ्ना आमाबाबु, जीवनसाथी वा छोराछोरीको नजिक बसेर सोधौं–‘तपाईँलाई कस्तो छ ?’
यादव घिमिरे
पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका
हाल : कलंकी-१४, काठमाडौँ
[email protected]
मोबाइल : ९८४१३६९९२८
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij