२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

रुपन्देहीमा काँग्रेसको वडा र पालिका अधिवेशन : ४२०६ क्षेत्रीय प्रतिनिधि निर्वाचित

आइतवार , आश्विन ११, २०८३

  • 655
    Shares
  • 655
    Shares
  • भैरहवा, ११ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देही जिल्लामा सम्पूर्ण वडा तथा पालिकाहरुको अधिवेशन सम्पन्न भएको छ । केन्द्रद्वारा खटाइएका प्रतिनिधि र जिल्ला नेतृत्वको समन्वयमा सम्पन्न अधिवेशन अन्तर्गत जिल्लाका कूल १५५ वटा वडाहरू र १६ वटा पालिकाहरूमा नेतृत्व चयन कार्य सम्पन्न भएको हो ।

    गत असोज ४ गते १५२ वटा वडाहरूमा अधिवेशन सम्पन्न भएको थियो । विविध कारणले रोकिएका अन्य ३ वडाहरूमा असोज ६ गते मतदान प्रक्रियामार्फत १५५ वटै वडाको निर्वाचन सम्पन्न गरिएको थियो ।

    त्यसै गरी असोज ७ र ८ गते गरी दुई दिनमा जिल्लाका सबै १६ वटा पालिकाहरूको निर्वाचन समेत सम्पन्न भइसकेको नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति, रुपन्देहीका संयोजक (जिल्ला निर्वाचन अधिकृत) अधिवक्ता रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देहीका १५५ वटा वडाहरूमध्ये १३१ वटा वडामा सर्वसम्मत (निर्विरोध) नेतृत्व चयन भएको छ । २४ वटा वडाहरूमा चुनावी प्रतिष्पर्धामार्फत नेतृत्व छानिएको छ । समग्र वडा तहको निर्वाचनबाट रुपन्देही जिल्लाभरीबाट ४ हजार २ सय ६ जना क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएको गौतमले बताउनुभयो ।

    समावेशी क्लस्टर अनुसार क्षेत्रीय प्रतिनिधिहरूमा ९८४ जना महिला, १८१ जना दलित, २४३ जना युवा, १४७ जना अपांगता भएका व्यक्ति, १५५ जना श्रमिक, ७८ जना मुस्लिम, १८४ जना आदिवासी जनजाति, १५१ जना अल्पसंख्यक र २७८ जना मधेशी समुदायका प्रतिनिधिहरू रहेका छन् । 

    त्यसै गरी पालिका तहको निर्वाचनमा १६ वटा पालिकाहरूमध्ये ७ वटा पालिकामा सर्वसम्मत रूपमा निर्विरोध नेतृत्व चयन भएको छ भने ९ वटा पालिकाहरूमा चुनावी प्रतिष्पर्धाबाट नेतृत्व चुनिएको छ ।

    क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ (क) बाट ४४६ र ख बाट ४२० गरी ८६६ जना, २ (क) बाट ४०० र (ख) बाट ४५५ गरी ८५५ जना, ३ (क) बाट ४५६ र ख बाट ४८० गरी ९०६ जना, ४ (क) बाट ४२० र ख बाट ३९८ गरी ८१८ जना तथा क्षेत्र नम्बर ५ (क) बाट ४०९ र  ख बाट ३५२ गरी जम्मा ७६१ जना क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएका छन ।
    अब हुने प्रदेश सभा क्षेत्रीय कमिटी क र ख तथा प्रतिनिधि सभा क्षेत्रीय निर्वाचनको लागि केन्द्रीय निर्वाचन समितिको निर्देशन र तालिका अनुसार आवश्यक तयारी पूरा भइसकेको जिल्ला निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।

    प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण पूर्वनिर्धारित असोज १० गतेको तालिकामा केही संशोधन गरी असोज १२ गते प्रदेश स्तरीय क्षेत्र क र ख को तथा असोज १४ गते प्रतिनिधि सभा क्षेत्रको निर्वाचन गर्ने निर्णय गरिएको छ । वर्षा र मौसमको अनुकूलता–प्रतिकूलतालाई हेरेर आवश्यकता अनुसार थप निर्णय गरी तुरुन्त जानकारी गराइने भए तापनि निर्वाचन टोली, जिल्ला कार्यसमिति र पार्टी नेतृत्व पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ । यसपटकको वडा तथा पालिका तहको निर्वाचनमा युवा पुस्ताको उत्साहजनक सहभागीता र आकर्षण देखिएकाले पार्टीमा नयाँ उर्जा थपिएको काँग्रेसले जनाएको छ ।

    १६ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न

    नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका १६ वटै स्थानीय तह (पालिका) मा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १५ पालिकामा असोज ७ र शुद्धोदन गाउँपालिकामा असोज ८ गते अधिवेशन सम्पन्न भएको सहायक निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    घिमिरेका अनुसार अधिवेशनबाट बुटवल उपमहानगरपालिकाको सभापतिमा ज्योति भण्डारी, तिलोत्तमा नगरपालिकामा नारायण ढकाल, सिद्धार्थनगर नगरपालिकामा देवराज न्यौपाने, सैनामैना नगरपालिकामा विमल ज्ञवाली, देवदह नगरपालिकामा अमर लामिछाने र लुम्बिनी साँस्कृतिक नगरपालिकामा विरेन्द्र बहादुर त्रिपाठी सभापति पदमा निर्वाचित हुनुभएको छ ।

    त्यस्तै गाउँपालिकातर्फ कञ्चनमा टेकबहादुर गुरुङ, ओमसतियामा अखिलेश्वर पाण्डे, मायादेवीमा अक्लेश यादव, कोटहीमाईमा राजेन्द्र प्रसाद यादव, गैडहवामा योगेन्द्र प्रसाद चौधरी, रोहिणीमा अकबाल खाँ, सियारीमा सूर्यनारायण यादव, मर्चवारीमा जनार्दन यादव, सम्मरीमाईमा नागेन्द्र सिंह र शुद्धोदन गाउँपालिकामा दामोदर पौडेल निर्वाचित हुनुभएको छ ।