शुक्रवार , आश्विन १६, २०८३
काठमाडौँ, १६ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मेडिकल शिक्षाको नाममा चरम बेथिति र नक्कली प्राध्यापक खडा गरी ‘गोरखधन्दा’ चलाइएको भन्दै संसदमा प्रश्न उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कलेज प्रशासनको गैरकानुनी गतिविधिले विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अन्सारीकाअनुसार नेशनल मेडिकल कलेजले झन्डै २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको छ । कलेजको यस्तो अवैध धन्दाविरुद्ध आवाज उठाउने विद्यार्थीहरूलाई विगत १० दिनदेखि होस्टेलबाट निकालिनुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको छ ।
सदनमा बोल्दै सांसद अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षण टोली आउँदा सुरक्षा गार्डहरूलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापकहरू देखाएर राज्यलाई झुक्याउने काम भइरहेको दाबी गर्नुभयो । यति मात्र होइन, कलेजले नेपाली विद्यार्थीसँग प्रति विषय पास गराइदिने नाममा ३ लाख र विदेशी विद्यार्थीसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरेको र सो रकम लिने बित्तिकै उत्तरपुस्तिकामा आफैँ उत्तर भरेर पास गराइदिने गरेको समेत उहाँले आरोप लगाउनु भयो । विगतका सत्तासीनहरूको आडमा कलेज सञ्चालकहरूले राज्य संयन्त्रलाई प्रभावमा पारेका कारण कारबाही नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यो मुन्ना भाइ फिल्मको कथा जस्तै रमाइलो लाग्न सक्छ, तर वास्तविकतामा यस्ता घटनाले सिंगो राज्यको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ । मेरिटोक्रेसीको आधारमा काम गरिरहेको वर्तमान सरकारले तत्काल छानबिन गरी ती विद्यार्थीहरूको व्यवस्थापन अन्य कलेजमा गर्नुपर्छ ।’
यस्तो बेथिति नरोकिए निकट भविष्यमै गलत उपचारका कारण गम्भीर स्वास्थ्य दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत उहाँले दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij