२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

कृषि क्षेत्रका समस्या समाधानका लागि प्रतिबद्ध छु : मन्त्री चौधरी

आइतवार , आश्विन १८, २०८३

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, १८ असोज । संघीय सरकारको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका विभिन्न कृषि क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

    शनिबार मन्त्री चौधरीले मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका विभिन्न स्थानमा पुगेर कृषि क्षेत्रको अवस्था, किसानका समस्या तथा सम्भावनाबारे जानकारी लिनुभएको हो ।

    मन्त्री चौधरीले सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री संकलन केन्द्र, मर्चवारीमाई–१ मा करिब ५० बिघा क्षेत्रफलमा गरिएको केराखेती, मर्चवारीदेवी मन्दिर तथा कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थाको निरीक्षण गर्नुभएको थियो ।

    असोज ८ गतेदेखि ११ गतेसम्म आएको हावाहुरी तथा वर्षाका कारण केराखेतीमा पुगेको क्षतिको अवस्थाबारे जानकारी लिन मन्त्री चौधरी खेतमै पुग्नुभएको थियो । उहाँले किसानसँग प्रत्यक्ष छलफल गर्दै प्राकृतिक विपत्तिबाट भएको क्षति, कृषि उत्पादन तथा किसानले भोग्दै आएका समस्याबारे जानकारी लिनुभएको हो ।

    WhatsApp Image 2026-10-04 at 10.01.32 AM.jpeg

    सो क्रममा किसानहरूले कृषि क्षेत्रमा विद्युतीकरण विस्तार तथा कृषि सडक निर्माण र विस्तारलाई प्राथमिकता दिन मन्त्री चौधरी तथा रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियासँग आग्रह गरेका थिए । त्यस्तै कृषि बीमाको दाबी भुक्तानी प्रक्रिया झण्झटिलो रहेको गुनासो गर्दै त्यसलाई सरल, सहज र किसानमैत्री बनाउन पनि आग्रह गरेका थिए ।

    किसानहरूले केराको बजारीकरणमा समस्या रहेको, उत्पादनको उचित मूल्य पाउन नसकेको तथा प्राकृतिक विपत्तिबाट हुने क्षतिका कारण कृषि क्षेत्रमा थप जोखिम बढेको बताएका थिए ।

    मन्त्री चौधरीले किसानका समस्या समाधान गर्न सरकार सकारात्मक सोचका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउँदै सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो–‘काम गर्ने प्रेसर धेरै छ, तर पनि सबैको साथ र सहयोगले काम गरेका छौं । कृषि क्षेत्रका समस्या समाधान गर्न तत्पर छु ।’

    निरीक्षणका क्रममा मन्त्री चौधरीले मर्चवार क्षेत्रको कृषि उत्पादन, सिँचाई, विद्युतीकरण, कृषि सडक, कृषि बीमा तथा उत्पादित वस्तुको बजारीकरणलगायत विषयमा किसान र स्थानीय सरोकारवालासँग छलफलसमेत गर्नुभएको थियो ।