मंगलवार , आश्विन २०, २०८३
काठमाडौं, २० असोज । लुम्बिनी विश्व शान्ति मञ्च (लुम्बिनी वल्र्ड पिस फोरम) संयुक्त राष्ट्रसंघीय शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्र (युएनआरसीपीडी) अन्तर्गत सञ्चालित ‘एसिया–प्यासिफिक डिसार्ममेन्ट एजुकेसन नेटवर्क’ (एपीडीईएन) को आधिकारिक सदस्यका रूपमा आबद्ध भएको छ। संयुक्त राष्ट्रसंघीय क्षेत्रीय केन्द्र (युएनआरसीपीडी) बाट ५ अक्टोबर २०२६ मा प्राप्त आधिकारिक स्वीकृति पत्रसँगै मञ्च एपीडीईइनको सदस्य बनेको हो ।
यो आबद्धतासँगै लुम्बिनी विश्व शान्ति मञ्चले सञ्चालन गर्दै आएका शान्ति निर्माण तथा तल्लो तहका अभियानलाई संयुक्त राष्ट्रसंघका निःशस्त्रीकरण र गैर–प्रसार शिक्षासम्बन्धी औपचारिक कार्यक्रम तथा खाकासँग जोड्ने अवसर प्राप्त गरेको जनाएको छ । एपीडीईएनले एसिया–प्रशान्त क्षेत्रका विभिन्न संस्था तथा सरोकारवालाबीच ज्ञान आदानप्रदान, शैक्षिक कार्यक्रमको सुदृढीकरण र सहकार्यात्मक सुरक्षा प्राथमिकता प्रवद्र्धनका लागि क्षेत्रीय मञ्चका रूपमा काम गर्दै आएको छ ।
मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले संयुक्त राष्ट्रसंघीय एसिया–प्यासिफिक निःशस्त्रीकरण शिक्षा नेटवर्कमा आबद्ध हुन पाउनु गौरवको विषय भएको बताउनुभयो ।
‘भगवान् बुद्धको पवित्र जन्मस्थलबाट सञ्चालित हाम्रो मञ्च संवाद, करुणा र अहिंसाको संस्कृति प्रवद्र्धन गर्ने आफ्नो उद्देश्यमा सधैं अडिग छ,’उहाँले भन्नुभयो–‘युएनआरसीपीडीसँगको यस साझेदारीले हाम्रो शैक्षिक दायरा विस्तार गर्न तथा भावी पुस्ताका लागि दिगो शान्तिको संस्कृति निर्माण गर्न क्षेत्रीय संस्थाहरूसँग घनिष्ठ सहकार्य गर्ने अवसर प्रदान गर्नेछ ।’
मञ्चले एपीडीइएनमार्फत एसिया–प्रशान्त क्षेत्रका शान्ति, निःशस्त्रीकरण तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूसँग सहकार्य विस्तार गर्दै लुम्बिनीबाट विश्व शान्तिको सन्देश प्रवाह गर्ने अभियानलाई थप प्रभावकारी बनाउने जाने मञ्चले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij