मंगलवार , आश्विन २०, २०८३
भैरहवा, २० असोज । लोकप्रिय लेखक सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ अब रुपन्देहीको बुटवलमा मञ्चन हुने भएको छ । काठमाडौंमा सफल मञ्चनपछि विराटनगरमा समेत दर्शकको उत्साहजनक साथ पाएको यो नाटक असोज २४ गते शनिबार बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा मञ्चन हुँदैछ।
युवा पुस्तामाझ लोकप्रिय अतीत र सायाको प्रेमकथा अब किताबको पानामा मात्र सीमित रहनेछैन । आफूले पढेका र कल्पना गरेका पात्रहरूलाई प्रत्यक्ष रंगमञ्चमा भेट्ने अवसर बुटवल तथा आसपासका दर्शकले पाउनेछन् । प्रेम, सम्बन्ध, आकर्षण, बिछोड र जीवनका भावनात्मक उतारचढावलाई रंगमञ्चीय प्रस्तुतिमार्फत अनुभूति गराएको ‘समर लभ’ लाई काठमाडौँ र विराटनगरका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
कान्तिपुर फिल्म एकेडेमीको कान्तिपुर थिएटर नेपाली रंगमञ्चलाई राजधानीमा मात्र सीमित नराखी देशका विभिन्न सहरका दर्शकमाझ पुर्याउने अभियानमा निरन्तर सक्रिय छ । कान्तिपुर थिएटरले यसअघि अमर न्यौपानेको मदन पुरस्कारप्राप्त उपन्यासमा आधारित ‘सेतो धरती’ लगायतका चर्चित नाट्य प्रस्तुति मञ्चन गरिसकेको छ । यही यात्रालाई अघि बढाउँदै कान्तिपुर थिएटरले काठमाडौं र विराटनगरपछि ‘समर लभ’ लिएर बुटवल आएको छ ।
‘समर लभ’ को नाट्य रूपान्तरण तथा निर्देशन सम्राट भुजेलले गर्नुभएको छ । नाटकमा अर्पण थापा, सागर खनाल, बासना तिमिल्सिना, विनिता गिरी, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं लगायत कलाकारहरूको अभिनय रहेको छ । विशेष गरी अर्पण थापाजस्ता फिल्मका अनुभवी तथा चर्चित कलाकारको विशेष भूमिकाले पनि ‘समर लभ’ प्रति दर्शकहरूको चासो बढाएको छ ।
बुटवलमा भने ‘समर लभ’ एक दिन मात्र मञ्चन हुनेछ । असोज २४ गते शनिबार दिउँसो १२ बजे र साँझ ४ बजे गरी दुई शो मात्र आयोजना हुने भएकाले बुटवलसँगै भैरहवा, तिलोत्तमा, सैनामैना तथा आसपासका क्षेत्रका दर्शकका लागि यो विशेष रंगमञ्चीय प्रस्तुति हेर्ने अवसर सीमित रहनेछ ।
रंगमञ्चलाई नजिकबाट अनुभव गर्न चाहने, ‘समर लभ’ पढेर आफ्नै मनमा अतीत र सायाको संसार बनाएका तथा नेपाली रंगमञ्चका नयाँ प्रस्तुतिसँग जोडिन चाहने दर्शकका लागि यो एक दिनको विशेष मञ्चन छुटाउन नहुने अवसर बन्ने विश्वास कान्तिपुर थिएटरको छ । नाटकको बारेमा थप जानकारी र अग्रिम टिकट कान्तिपुर थिएटरका पेजहरू र वेबसाइटबाट सजिलै लिन सकिन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij