२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

विश्वप्रेमलाई सीताको ‘अश्रु तर्पण’

मंगलवार , आश्विन २०, २०८३

  • 28
    Shares
  • 28
    Shares
  • उडेर जान सकिनँ प्यारा चरीझैं भुरुरु
    छेक्दछ दृश्य आँसुले सधैं मन रुन्छ धुरुरु 
    झ्याउँरे तथा लोकलयमा लेखिएको गीत हो माथिको हरफ । आफ्नो श्रीमानको वियोगमा श्रीमतीद्वारा रचिएको उक्त शोकगीतले सबैका मन रुन्छन्, छुन्छन् । उक्त शोककाव्यका रचयिता सीता ढुंगाना काफ्ले हुन् । श्रीमान् विश्वप्रेम काफ्लेसँगको जीवनयात्रा टुटेपछि लेखेको उक्त शोककाव्यले सबै पाठकहरुलाई धर्धरी रुवाउँछ । छाडेर गएका श्रीमानसँग चरीझैं उडेर जान नसकेको अनि आँसुको पोखरीमा डुबेको पीडायुक्त शोकगीतले सीतालाई सताइरहेको छ  ।

    छोडेर गयौ म एक्लो भएँ रित्तो छ मेरो काख
    सुखमा छौ कि दुःखमा पर्यौ स्वर्गको तिम्रो बास 
    भौतिकवादी चिन्तन बोकेकी सीताले आफूलाई एक्लै छाडेर गएका श्रीमान्लाई स्वर्गमा तिम्रो बास, सुखमा वा दुःखमा पर्यो भनेर सोधेकी छिन् । प्रेम विवाहबाट घरजम गरेकी सीताले प्रेमत्यागबाट बिछोडिएका श्रीमान्लाई गुमाउनुको पीडामा हजारपटक दैव, भगवानसँग किन मबाट चुँडाई लग्यौं, छुटाइ लग्यौ भनी प्रश्न गरिरहेकी छिन् । मृत्यु अवश्यम्भावी छ । तर, मान्छेले आफन्तीको मृत्यु सहजरुपमा स्वीकार्दैन । सीतालाई पनि शीरको सिन्दूर पुछिंदा पक्कै खपिनसक्नुको पीडा र भूलि नसक्नुका यादहरु छन् ।

    धिक्कार लाग्छ एक्लो यो जुनी लाग्दैन जिएझैँ 
    वेदना यस्तो हुन्छ कि कडा जहर पिएझैँ
    मृत्यु, सबैका लागि अप्रिय लाग्छन् । मृत्युको आयु कति हुन्छ, कसैलाई हेक्का हुँदैन । तर, पनि मृत्यु भएर जानेले बाँचेकालाई सुखको सम्झनायोग्य स्वास फेर्न दिदैनन् । सीतालाई विश्वप्रेमको बिछोडमा बाँच्नुको अर्थ धिक्कार लाग्दोरहेछ । उनलाई एक्लो जूनी बिताएझैं हुँदोरहेछ । कडा जहर खाएपछिको पीडाजस्तै उनको वेदना रहेछ । सीता काफ्ले, स्वभावमा कडा छिन् । आँटिली र हिम्मतवाली पनि । तर, शोककाव्य पढ्दा उनी उड्दै गरेको खरानीजस्तै हलुङ्गो लाग्छ । सायद घायल मन यस्तै हुँदो होला कि !

    डुबायो मेरो जीवन नौका आएर छालले
    लुटेर खुसी चुँडेर लग्यो निष्ठुरी कालले 
    बिछोडिनका लागि नै मिलनको नाटक रचिएको हुन्छ कि ! नत्र, बिछोडमा किन यति भावविह्ल हुन्छ त मान्छे ? सीताले आफ्नो नौकारुपी जीवनलाई पीडाका छालहरुले तानेर लगेजस्तो मान्दिरहेछिन् । उनको श्रीमानलाई कालले चुँडेर लैजाँदा काल पनि निष्ठुरी लाग्छ उनलाई । सर्वस्व ठानेका आफ्ना श्रीमान् गुम्दा सीताले चारैतिर अँध्यारो देख्छिन् । निष्पट्ट !  खुसी खोसेर लैजाने कालसँग साक्षात्कार हुने अवसर सीतालाई मिलेको भए, सायद उनले काललाई भुत्ल्याइदिन्थिन् । त्यति आवेग छन् । रिस साँचेकी छिन् । त्यसको अर्थ, निरन्तर मायाको प्रतीक विश्वप्रेम काफ्ले थिए भन्ने कुरा शोककाव्यमा डुब्दा पाठकलाई थाहा लाग्छ ।

    रोकिन कहाँ सक्यो र आँसु त्यो आर्यघाटमा
    लैजान किन सकेनौ मलाई तिमीले साथमा 
    सास नभएपछि मान्छे लास बन्छ । प्राण त्याग्नू मृत्यु स्वीकार्नु हो । मृत्युपछि लासलाई घाटमा लगिन्छ । त्यसमा पनि पशुपति आर्यघाटमा जल्न पाउनु धेरैको जीवित चाहना हुन सक्छ । सीताले विश्वप्रेमलाई आर्यघाटमा अन्तिम दागबत्ती दिदै गर्दा आँसुका बलेनी कम्ति थिएनन् । उनको इच्छाले आँसु रोक्न सकेनन् । बरु सोध्दैछिन्–मलाई किन साथमा लैजान सकेनौं ? शोककाव्यमा गीतको यो हरफ पढ्दा मुटु नै हातमा राखेजस्तै लाग्छ ।

    के काम बरै सुन र चाँदी बाँच्नका खातिर
    नगद जिन्सी सम्पत्ति भन्नु के रैछ आखिर 
    बाँचुञ्चेल मान्छेले तेरो र मेरो भन्छ । यो र ऊ भन्छ । यसो र उसो भन्छ । यता र उता भन्छ । सधैंको हतारो, फुर्सदमा आफूलाई भूल्छ । अमूल्य, जीवन हैन–सम्पत्ति ठान्छ । सम्पत्तिका लागि के गर्दैन र मान्छेले ? तर, मृत्युपछि मानिसले के लैजान्छ र ? अमर हुन, सम्पत्ति होइन, कीर्ति चाहिंदोरहेछ । सुकीर्ति । जसले मृत्युशेषमा अमरत्वको खोजी गरोस् । विश्वप्रेम र सीताले सम्पत्ति त जोडे तर विश्वप्रेमले जीवन त्यागेर जाँदा के लगेर गए त ? लुगाका धरोसमेत छाडेर जान परेपछि सुन, चाँदी, असर्फीको के अर्थ हुँदोरहेछ र ?

    लगाए आगो सल्कियो चिता सकियो शरीर
    खरानी बनी विलिन भयो जीवन आखिर 
    प्राण जतिबेलासम्म शरीरमा रहन्छ, मान्छे कहलिन्छ । प्राणबिनाको शरीर केवल लास हुन्छ । जब लास सल्किन्छ चितामा अनि चिन्ताले आकाश छुन्छ । मान्छे लास, लासपछि जलेर खरानी अनि के रहन्छ र आखिर ? आफ्नो श्रीमानलाई जलाउँदा सीताको मन सल्किरह्यो । आँसुको बागमति बगिरह्यो । चिताबाट निस्किएको धुँवा, लास खाग भएर बनेको खरानीले सीताको मनमा निरन्तर अग्निज्वाला दन्काइ रह्यो होला ।

    मुटुमा तिमी, तिमी नै मेरो दिलको सहारा 
    दन्केको चिता हेरेर आएँ, ए मेरा पियारा 
    चिताबाट निस्किएको धुँवालाई नियालेर हेरिन् सीताले मुटु दह्रो बनाएर । आफ्नो सहाराको बेलगाम अन्तिम भेटलाई कसरी हेरे होलिन् ? चिता हेरेर पियाराको घिड्किसो मेटे होलिन् । कहिल्यै नफर्किने गरी हिडेका स्वामीको अन्तिम विदाईमा सीताले आफ्नो मन कसरी बुझाए होलिन् ? साहसी सीताको शोककाव्यले एकपटक सीतालाई प्रशंसा गर्न सिकाउँछ ।

    भन्दछन् सबै हुँदैन सुख डुबेर शोकमा 
    दुःखमा पनि मधुरवाणी सम्झन्छु चोटमा 
    आफ्नो मान्छेको मृत्यु कसलाई पो प्रिय लाग्छ र ? शोकले डुबाउँदा, संसार बिर्सिन्छ मान्छेले । सँगै रहँदाका सुखदुःखका यादहरुलाई बिछोडमा सम्झिने मानवीय स्वभाव ठान्न सकिन्छ । शोकलाई शक्तिमा बदल्ने हो । तर, शोकमा डुबेर शरीर क्षीण बनाउँदै लैजानुहुन्न । चोटमा परेका बेला श्रीमानका मधुरवाणी सम्झिएकी छिन् सीताले । जसले सुखानुभूति प्राप्त हुने गर्छ ।

    नियाल्दा फोटो बोल्दैनौ तिमी हृदय बोल्दछ
    देखेर माला तस्वीरमाथि यो मुटु जल्दछ 
    सम्झना हो फोटो । स्मृतिको मानसपटलमा सजिएको हुन्छ फोटो । घरको ढोकामाथि टाँगिएको फोटो किन बोलोस् र ? तर, सम्झनाको हृदय बोल्दछ । माला लगाएर सजाइएको विश्वप्रेमको फोटोले सीताको मन भत्भति पोल्दछ । जल्दछ । कसरी सकून् र उनले बिर्सिन,आफ्नो मनको राजालाई जहाँ गए पनि जहाँ रहे पनि ।

    बिर्सेकी छैन लेखेको नाम केतुके पातैमा 
    बाँचौला अब मधुर तिम्रा स्मृति साथैमा 
    अतित सम्झिएकी छिन सीताले विश्वप्रेमसँगको । केतुके पातमा प्रेमील जोडीको नाम लेखेको भुलेकी छैनन् । तर, यतिबेला नरहँदा विश्वप्रेमसँग सीता, स्मृतिको मधुर दियोमा आफूलाई ननिभ्ने गरी जलाइरहेकी छिन् । खोइ ! सीताले कसरी भूल्न सक्लिन र विश्वप्रेमलाई, युगयुगसम्म ।

    जे गरे पनि अन्त्यमा रित्तै जाने हो आखिर 
    असल मैले क्यै गर्न सकूँ लोकका खातिर 
    मृत्युपछि पनि जीवनको खोजीमा रहन्छन् मानिसहरु । जाने त रित्तै हो मृत्युपछि । तैपनि मानिस मरेर जाँदा उसले छाडेर जाने भनेकै सुकीर्ति नै हो । असल कर्मको परिणाम हो । यश नै हो । लोकको हित गर्नुनै मृत्युपछिको साश्वत जीवन हो ।

    जिन्दगी भन्नु कर्मको आफ्नै रहेछ दर्पण
    चढाएँ यिनै भावनासँगै अश्रुको तर्पण । 
    जिन्दगीको परिभाषा सामान्य छैन । अनुभव र अनुभूतिको श्रृङ्खला नै हो जिन्दगी । जिन्दगी भोगेर प्राप्त हुने गर्छ । भोगाइको यात्रा नै जीवन हो । जिन्दगी नै कर्मको ऐना (दर्पण) हो । आफूले जे गरिन्छ, त्यही देखिन्छ । सीताले आफ्नो श्रीमान् विश्वप्रेमलाई शोककाव्यमार्फत् भावना बिसाएकी छिन् । आँसु चढाएकी छिन् । आँसुरुपी जल तर्पण गरेकी छिन् । मिलनका यादहरुलाई बिछोडका पीडाहरुले सेकेकी छिन् । अनेकौ बाटाहरु खोजेर भूल्न खोजेकी छिन् । तर, यादका भूतहरु, वर्तमान बनेर मनमा बास बसिरहेका छन् ।

    सीताले विश्वप्रेमलाई बाँचुञ्जेल प्रेम, स्नेह र ममता दिइरहिन् । मृत्युपछि पनि शब्द दिएकी छिन् प्रेमोपहार । जहाँ खुसीभन्दा दुःख छन् । हर्षभन्दा विषमाद् छन् । मिलनभन्दा बिछोड छन् । साहित्यकार सीताले शोककाव्यमार्फत् विश्वप्रेमलाई युगयुगान्तर जीवन्त राख्नेछिन् ।