२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ अर्ब लगानी, करोडमा आम्दानी, उत्तिनै खर्च

मंगलवार , आश्विन २०, २०८३

  • 34
    Shares
  • 34
    Shares
  • गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनका क्रममा पछिल्ला तीन आर्थिक वर्षमा ८१ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । विमानस्थल प्रशासनले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा ३० करोड ४१ लाख ५२ हजार रुपैयाँ, आर्थिक वर्ष २०८०÷८१ मा करिब १९ करोड ७९ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा करिब ३० करोड ९६ लाख रुपैयाँ खर्च भएको देखिन्छ । तर तीन आर्थिक बर्षको आम्दानी भने ९५ करोड रुपैयाँ छ । अर्कोतर्फ आर्थिक बर्ष २०८३/८४ को असार १० गते सम्ममा १५ करोड १४ लाख खर्च गरेको बिमानस्थलले आम्दानी भने १९ करोड ४२ लाख रुपैया मात्रै गरेको छ ।

    यि सबै आकडाले ३५ अर्बभन्दा बढी सार्वजनिक लगानी भएको यो पूर्वाधारबाट करोडमा आम्दानी र उत्तिनै खर्च गरिरहेको देखाउछ । नियमित अन्तर्राष्ट्रिय उडानको अभावमा अपेक्षित प्रतिफल दिन असफल भएको छ । विमानस्थल सञ्चालनमा सरकार, नियामक निकाय र सम्बन्धित सरोकारवालाको समन्वय अभावका कारण राज्यको ठूलो लगानी कंक्रिटमै थन्किएको भन्दै चौतर्फी प्रश्न उठ्न थालेको छ । आम्दानीको ठुलो हिस्सा समेत आन्तरिक उडानको यात्रु सेवा शुल्क, टर्मिनल तथा जग्गा वहालबाट आएको बिमानस्थलका प्रवक्ता कुमार सुजखुले जानकारी दिनुभयो । अन्तराष्ट्रिय उडानबाट भने नगन्य मात्रामा आम्दानी गरेको बिमानस्थल प्रशासनले जनाएको छ । बेलाबखत छिटफुट रुपमा अन्तराष्ट्रिय उडान भएपनि बिमानस्थल पुर्ण रुपमा सञ्चालन आउन नसकेका कारण अन्तराष्ट्रिय उडानबाट आम्दानी आउन नसकेको प्रवक्ता सुजखुको भनाई छ ।

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारको कमजोरीका कारण बिमानस्थल चल्न नसकेको बताउनु भयो । ‘‘सरकारको ठुलो लगानीमा अन्तराष्ट्रिय मापदण्डको धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, अत्याधुनिक उपकरण र विशाल पूर्वाधार निर्माण भए पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावले विमानस्थल कंक्रिटस्थलको रुपमा परिणत हुन पुगेको हो,’’ उहाँले भन्नुभयो, ‘बिमानस्थल नचल्नुको मुख्य कारण भारतले एयर रुट परमिट नदिनु पनि हो, तर सरकारले यस बिषयमा अपेक्षित रुपमा पहल कदमी गर्न नसकेको नीजि क्षेत्रको ठम्याई छ ।’ पछिल्लो ८ महिना यता गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा अन्तराष्ट्रिय उडानको सट्टा चरा घुम्न थालेका छन् । २५ मार्च २०२६ (११ चैत २०८२) मा थाई एयर एसियाले पछिल्लो उडान गरेको थियो । सामान्य रुपमा सञ्चालनमा आएको चार बर्ष पुरा हुन नपाउदै अहिले पुर्णतया सुनसान बनेको छ । अन्तराष्ट्रिय उडान नहुँदा कर्मचारीहरु फुर्सदिला बनेका छन् ।

    नेपाल सरकारले यो विमानस्थललाई लुम्बिनीको पर्यटन विकास, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि सहज यात्रा, औद्योगिक तथा कृषि उत्पादनको निर्यात तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप कम गर्ने दीर्घकालीन रणनीतिक परियोजनाका रूपमा अघि सारेको थियो । त्यसका लागि भैरहवामा सबै संरचना तयार पारिएको छ । तर सञ्चालनमा आएको केही समयमै अधिकांश अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सबै सुनसान अबस्थामा रहेका छन् ।

    विज्ञहरूका अनुसार समस्या विमानस्थलको पूर्वाधारमा नभई, त्यसलाई चलाउने सरकारी नीति, तयारी र कार्यान्वयनमा छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि सरकारले जेठ २, २०७९ मा भव्य रूपमा उद्घाटन गरेको थियो । त्यसबेला यो विमानस्थलले नेपालको पर्यटन, व्यापार र आर्थिक विकासमा नयाँ युग सुरु गर्ने दाबी गरिएको थियो । तर उद्घाटनअघि आवश्यक पर्ने अन्तर्राष्ट्रिय एयरलाइन्ससँगको दीर्घकालीन सम्झौता, यात्रु व्यवस्थापन योजना, पर्यटन प्याकेज, कार्गो रणनीति तथा बजार विकासका विषयमा पर्याप्त गृहकार्य गर्न नसक्दा अहिले बिमानस्थल कंक्रिटस्थलमा परिणत बनेको पर्यटन क्षेत्रका जानकार संजय बोजिमयले जानकारी दिनुभयो ।

    विमानस्थल सञ्चालन एउटा मन्त्रालय वा एउटा निकायको जिम्मेवारी मात्रै होइन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, अध्यागमन, भन्सार, पर्यटन बोर्ड, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच निरन्तर समन्वय आवश्यक हुन्छ । ‘‘तर यी निकायबीच साझा कार्ययोजना, साझा लक्ष्य र उत्तरदायित्व स्पष्ट नहुँदा विमानस्थल सञ्चालनमा अपेक्षित गति आउन नसकेको हो,’’ बोजिमयले भन्नुभयो, “सरकारले विमानस्थल त बनायो, तर त्यसलाई सञ्चालन गर्ने व्यवसायिक योजना भने निर्माण गर्न सकेन, परिणामस्वरूप सुरुआतमा केही अन्तर्राष्ट्रिय उडान कम्पनीले उडान गरे पनि छोटो समयमै सेवा बन्द गर्न बाध्य भए, पर्यटन व्यवसायि बोजिमयले भन्नुभयो, सरकारले बिमानस्थल चलाउन नसके नीजि क्षेत्रको अर्बौ लगानी डुब्ने खतरा छ ।”

    एयरलाइन्स किन टिकेनन् ?
    विमानस्थल सञ्चालनमा आएपछि केही अन्तर्राष्ट्रिय एयरलाइन्सले परीक्षणका रूपमा सेवा सुरु गरेका थिए । तर यात्रु संख्या न्यून हुनु, व्यावसायिक आम्दानी नहुनु तथा काठमाडौं केन्द्रित हवाई बजारका कारण ती कम्पनीहरू क्रमशः बाहिरिएको रुपन्देहीका ट्राभल्स सञ्चालकहरु बताउछन् ।
    ‘‘वायुसेवा कम्पनीहरूको मुख्य चासो नाफा हो, हामीलाई विजनेश भयो भने यहाँबाट जहाज उडाउछौं, तर भनेजस्तो विजनेश नपाएपछि हामी गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिनु परेको हो,’’ थाई एयर एसियाको भनाई उद्धित गर्दै बिमानस्थलका प्रवक्ता कुमार सुजखुले भन्नुभयो । दैनिक पर्याप्त यात्रु, कार्गो र ट्रान्जिट बजार नभएसम्म कुनै पनि कम्पनीले नियमित सेवा सञ्चालन गर्न नसक्ने वायु सेवा कम्पनीको दावि छ । भैरहवाबाट ती सबै सुनिश्चित गर्न सरकारले स्पष्ट योजना बनाउन सकेको छैन् ।

    एयरलाइन्सलाई आकर्षित गर्ने शुल्क छुट, इन्धनमा सहुलियत, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा छुट, दीर्घकालीन प्रोत्साहन कार्यक्रमजस्ता नीतिहरू लागु भएपनि विजनेशको अभाव देखाउदै यहाँ आएका बिमान कम्पनीहरु फर्किएका छन् । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमास्थल नियमित सञ्चालिन हुन नसक्नुको अर्को प्रमुख कारण भनेको काठमाडौं केन्द्रित हवाई नीति भएको पर्यटन व्यवसायिको दावी छ । “नेपालको सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा दशकौंदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रित छ । अधिकांश एयरलाइन्सका कार्यालय, ट्रान्जिट सुविधा, यात्रु प्रवाह र व्यापारिक सञ्जाल काठमाडौंमै आधारित छन्, अनि कसरी यहाँको बिमानस्थल चल्छ ।”

    पर्यटन व्यवसायि बोजिमयका अनुसार गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि पनि सरकारले अन्तर्राष्ट्रिय उडानको निश्चित हिस्सा भैरहवाबाट सञ्चालन गर्ने बाध्यकारी नीति ल्याउन सकेन । फलस्वरूप एयरलाइन्सहरूले काठमाडौंमै सेवा विस्तार गर्न रुचाए । त्रिभुवन विमानस्थलमा अत्यधिक चाप, पार्किङ अभाव र उडान व्यवस्थापनमा समस्या हुँदा पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग हुन नसक्नु सरकारी नीतिगत असफलताको बलियो उदाहरण भएको पर्यटन व्यवसायिको भनाइ छ ।

    लुम्बिनी पर्यटनसँग जोड्न नसकिएको विमानस्थल
    विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो । जापान, थाइल्याण्ड, श्रीलंका, म्यानमार, दक्षिण कोरिया, भियतनाम, चीन लगायत बौद्ध बाहुल्य मुलुकबाट प्रत्यक्ष चार्टर तथा नियमित उडान ल्याउने विषयमा पर्याप्त कूटनीतिक तथा व्यवसायिक पहल हुन सकेको देखिदैन् । ९ कार्तिक २०८२ देखि थाईल्याण्ड भैरहवा सिधा उडान गरेको थाई एयर एसियाले थाईल्याण्डबाट सबैजसो उडानमा भरिभराई प्यासेन्जर ल्याउने गरेको बिमानस्थलका प्रवक्ता सुजखुको भनाई छ । थाईल्याणबाट आएका पर्यटकहरु लुम्बिनी घुमेर मात्रै फर्कने गरेका थिए ।

    नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट (नाट्टा) लुम्बिनीका अध्यक्ष सागर अधिकारीले विमानस्थल बनाएर छाडेर मात्र बिमानस्थल चलायमान नहुने बताउनु भएको छ । उहाँले बिमानस्थल चलायमान बनाउनका लागि पर्यटक ल्याउने अन्तर्राष्ट्रिय बजार, प्रचार प्रसार, धार्मिक पर्यटन प्याकेज, होटल, यातायात र भ्रमण व्यवस्थापनबीच समन्वय हुन आवश्यक हुने उल्लेख गर्नुभयो । तर, सरकार र नीजि क्षेत्रविच बिमानस्थल चलाउने बिषयमा घनिभुत रुपमा छलफल हुन नसकेको उहाँको भनाई छ ।

    वैदेशिक रोजगारीमा जाने नेपाली अझै काठमाडौंमै
    रूपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ तथा लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट ठूलो संख्यामा युवाहरू खाडी मुलुक, मलेसिया, जापान र कोरिया जाने गरेका छन् । यहाँका नागरिकका लागि भैरहवाबाट प्रत्यक्ष अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको भए काठमाडौं पुग्नुपर्ने बाध्यता हट्थ्यो । समय, खर्च र झन्झट सबै कम हुने थियो । जसका कारण बिमानस्थल चलायमान हुन ठुलो सहयोग मिल्ने थियो । तर अधिकांश गन्तव्यका नियमित उडान काठमाडौंबाट मात्रै सञ्चालन हुँदा पश्चिम नेपालका यात्रु आज पनि लामो दूरी पार गरेर काठमाडौं जान बाध्य छन् ।

    भारतीय विमानस्थलसँगको प्रतिस्पर्धा
    अर्को तर्फ भैरहवाबाट केही दूरीमै भारतको गोरखपुर विमानस्थल छ । “सीमावर्ती नेपाली नागरिकमध्ये धेरैले सहज उडान, नियमित सेवा र प्रतिस्पर्धी भाडाका कारण भारतीय विमानस्थल प्रयोग गर्ने गरेका छन् । यदि गौतमबुद्ध विमानस्थलबाट पर्याप्त अन्तर्राष्ट्रिय सेवा उपलब्ध गराउन सकिएको भए ठूलो संख्यामा नेपाली यात्रु आफ्नै देशको विमानस्थल प्रयोग गर्न सक्थे, नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष अधिकारी भन्नुहुन्छ( यसले राज्यको आम्दानीसमेत बढाउने थियो ।”

    कार्गो पूर्वाधार प्रयोगविहीन
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कृषि तथा औद्योगिक उत्पादन निर्यात गर्ने केन्द्रका रूपमा विकास गर्ने योजना थियो । रूपन्देही, कपिलवस्तु, नवलपरासी र आसपासका क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल, माछा, दुग्धजन्य पदार्थ तथा औद्योगिक सामग्री विदेश पठाउने ठूलो सम्भावना देखाइएको थियो ।

    तर आवश्यक कोल्ड चेन, निर्यात बजार, कार्गो व्यवस्थापन, निजी क्षेत्रसँगको समन्वय तथा अन्तर्राष्ट्रिय कार्गो एयरलाइन्स आकर्षित गर्ने योजना प्रभावकारी रूपमा कार्यान्वयन नदुदा कार्गो पुर्वाधान प्रयोग विहिन नेको छ ।

    निजी क्षेत्रको गुनासो
    भैरहवाका होटल व्यवसायी, ट्राभल व्यवसायी, उद्योगी र पर्यटन व्यवसायीहरूले विमानस्थल सञ्चालन हुने विश्वासमा अर्बौं रुपैयाँ लगानी गरेका थिए । नयाँ होटल खुले, व्यवसाय विस्तार भयो, पर्यटन पूर्वाधार पनि निर्माण भए । तर, अन्तर्राष्ट्रिय उडान बन्द हुन थालेपछि व्यवसायमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ । सरकारले पूर्वाधार बनाउने तर सञ्चालनका लागि आवश्यक वातावरण नबनाउने प्रवृत्तिले निजी क्षेत्र निराश बनेको होटल व्यवसायि संघ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको भनाई छ । बिमानस्थल नियमित रुपमा सञ्चालनमा आउन नसक्दा निर्माणको अन्तिम चरणमा रहेका तारे होटलहरु खण्डहरु बनेका छन् । निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका होटलहरु पनि बिमानस्थल सुचारुको पर्खाईमा रहेका छन् ।