बिहिवार , आश्विन २२, २०८३
तिमीलाई एउटा कुरा भन्न मन लागेको छ ।
तर, डर लाग्छ–भनें भने तिमीले गलत बुझौली कि !
त्यसैले आजसम्म नभनेको कुरा आज भन्छु ।
मलाई तिमीसँग ईर्ष्या लाग्छ ।
हो, आफ्नै श्रीमतीसँग ।
तर, यो ईष्र्या त्यस्तो होइन, जुन ईष्र्याले सम्बन्धमा दरार ल्याउँछ ।
यो त यस्तो ईर्ष्या हो, जसलाई सम्झँदा आफै मुस्कुराउन पनि मन लाग्छ र आँखाको कुनामा एक थोपा आँसु पनि आउँछ ।
मलाई तिमीसँग ईर्ष्या लाग्छ,
किनकी हाम्रा बच्चाहरूले तिमीलाई मभन्दा बढी माया गर्छन् ।
मलाई थाहा छ, उनीहरूले मलाई पनि माया गर्छन् ।
तर, तिमीलाई गर्ने माया अलि फरक छ ।
उनीहरू थाकेर आउँदा तिमीलाई खोज्छन् ।
दुःखी हुँदा तिम्रो काख खोज्छन् ।
डराउँदा तिम्रो हात समाउँछन् ।
बिरामी हुँदा तिम्रो छेउमा सुत्न चाहन्छन् ।
र म ?
म छेउमै उभिएर त्यो सबै हेरिरहन्छु ।
कहिलेकाहीं मनमनै सोच्छु—
‘भाग्यमानी तिमी रहिछौ है !’
मभन्दा पहिले उनीहरूको आँखाले तिमीलाई खोज्छ ।
मभन्दा पहिले उनीहरूको ओठले ‘आमा’ भन्छ ।
मभन्दा धेरै उनीहरू तिम्रो काखमा अडिन्छन् ।
मभन्दा धेरै तिमीसँग झ्यामिन्छन् ।
र, म त्यही दृश्य हेरेर
मनमनै तिमीसँग अलिकति ईर्ष्या गर्छु ।
तर, फेरि आफैलाई सम्झाउँछु–
‘यो त ईष्र्या गर्नुपर्ने कुरा होइन, खुसी हुनुपर्ने कुरा हो ।’
तिमीले उनीहरूलाई ९ महिना आफ्नो शरीरभित्र राख्यौ ।
मैले बाहिरबाट प्रतीक्षा गरें,
तिमीले भित्रबाट जीवन हुर्कायौ ।
मैले बच्चा जन्मिने कल्पना गरें,
तिमीले बच्चा जन्मिने पीडा सह्यौ ।
मैले प्रसव पीडा कस्तो होला भनेर सोच्न सक्छु,
तर, त्यो पीडा कस्तो हुन्छ भनेर
तिमीबाहेक कसले जान्न सक्छ र ?
त्यसैले कहिलेकाहीं मलाई लाग्छ–
सायद भगवानले पनि न्याय गरेकै हुन् ।
बच्चालाई ९ महिनासम्म आफ्नो रगत, शरीर र साससँग जोडेर राख्ने आमाको मनसँग
बच्चाको सम्बन्ध अलि गहिरो हुनु स्वभाविक हो ।
तर, मेरो मनले कहिलेकाहीं एउटा बालसुलभ प्रश्न गर्छ–
‘भगवान्, एउटा बच्चा आमाले मात्रै जन्माउनुपर्ने नियम किन बनायौ ?’
यदि एकपटक आमाले जन्माउन पाउने
र अर्कोपटक बुवाले जन्माउन पाउने नियम हुन्थ्यो भने ?
सायद हामी दुवै बराबर हुन्थ्यौं ।
सायद म पनि एकपटक त्यो ९ महिनाको प्रतीक्षा गर्थें ।
बच्चाले पेटभित्र पहिलोपटक चल्दा कस्तो लाग्छ भनेर अनुभव गर्थें ।
प्रसवको त्यो पीडा सहन्थें ।
सायद त्यसपछि
बच्चाले मलाई पनि तिमीलाई जत्तिकै खोज्थ्यो कि ?
कहिलेकाहीं यस्तै बालसुलभ कुरा सोचेर
म आफै हाँस्छु ।
तर, मेरो ईर्ष्या त्यहाँबाट सकिँदैन ।
बच्चाहरू साना हुँदा
उनीहरू तिमीसँग धेरै समय बिताउँछन् ।
तिमी उनीहरूलाई खुवाउँछौ।
नुहाइदिन्छौ ।
सुताउँछौ ।
कपडा फेरिदिन्छौ ।
रोएर उठ्दा काखमा लिन्छौ ।
म पनि उनीहरूसँग खेल्न चाहन्छु ।
तर, मेरो समय कहाँ हुन्छ र ?
म बाहिरको संसारसँग लडिरहेको हुन्छु–
घर चलाउन,
भोलि बनाउन,
उनीहरूको भविष्य सुरक्षित गर्न ।
कहिलेकाहीं लाग्छ,
मैले उनीहरूको भविष्य बनाउन खोज्दा
उनीहरूको वर्तमानको धेरै समय गुमाएँ किद?
उनीहरू साना थिए,
मसँग खेल्न खोज्थे ।
म भन्थें–
‘अहिले बाबाको काम छ ।’
उनीहरू ठूलो हुँदै गए।
एक दिन उनीहरूले मलाई खेल्न बोलाउन छाडे ।
त्यसपछि थाहा पाएँ–
बाल्यकाल पर्खेर बस्दैन रहेछ ।
मैले पैसा कमाएँ,
तर, उनीहरूसँग बिताउनुपर्ने केही घडी गुमाएँ ।
मैले उनीहरूको भविष्यका लागि दौडिएँ,
तर, उनीहरूको बाल्यकालको केही बाटो छुटाएँ ।
त्यसैले आज जब उनीहरू ठूला भएर
आफ्नै संसारमा रमाउँछन्,
मलाई तिमीसँग फेरि ईर्ष्या लाग्छ ।
किनकी उनीहरूसँग बाँकी रहेको थोरै समयमध्ये पनि
थोरै बढी समय तिमीले पाउँछौ ।
उनीहरू तिमीलाई फोन गर्छन् ।
तिमीलाई आफ्नो कुरा सुनाउँछन् ।
तिमीसँग सल्लाह गर्छन् ।
तिमीसँग दुःख पोख्छन् ।
र म ?
मलाई फोन गर्दा उनीहरूको पहिलो प्रश्न हुन्छ–
‘बाबा, आमा कहाँ हुनुहुन्छ ?’
त्यो प्रश्न सुन्दा
म हाँस्छु ।
तर, मनभित्र एउटा सानो बच्चा
चुपचाप रुन्छ ।
एकपटक मलाई पनि पहिले खोज न !’
तर, म त्यो कहिल्यै भन्दिनँ ।
किनकी म बुवा हुँ ।
बुवाहरूलाई आफ्ना साना–साना दुखाइहरू
ठूलो स्वरमा भन्न कहाँ आउँछ र ?
बच्चाले आमालाई अंगालो हाल्दा
बुवा पनि अंगालो चाहन्छन् ।
तर, हात अगाडि बढाउँदैनन् ।
बच्चाले आमाको काखमा टाउको राख्दा
बुवाको मन पनि बच्चाको टाउकोमा हात राख्न खोज्छ ।
तर, टाढैबाट हेरेर मुस्कुराउँछन् ।
बच्चाले आमालाई ‘माया गर्छु’ भन्दा
बुवाको मन पनि भन्छ–
‘मलाई पनि एकपटक भन न !’
तर, बुवाले माग्दैनन् ।
सायद यही हो बुवाको मीठो पीडा ।
र, यही हो मेरो तिमीसँगको ईर्ष्या ।
तिमी बच्चाहरूको मायामा धनी छौ ।
म अलि गरिब छु ।
तर, अचम्म के छ भने–
तिम्रो त्यो धन देखेर म दुःखी पनि हुन्छु,
र त्यही धनका कारण खुसी पनि ।
किनकी उनीहरूले तिमीलाई यति धेरै माया गर्छन् भन्ने कुराले
मलाई तिमीप्रति गर्व लाग्छ ।
तिमी उनीहरूको आमा हौ ।
तिमीले उनीहरूलाई जन्म दियौ ।
मैले पनि उनीहरूलाई जन्माउन आफ्नो जीवनको हिस्सा दिएँ ।
तर, उनीहरूको शरीरमा तिम्रो पीडा मिसिएको छ,
मेरो सपना मिसिएको छ ।
तिमीले उनीहरूलाई आफ्नो कोखमा हुर्कायौ,
मैले उनीहरूलाई आफ्नो काँधमा हुर्काउने सपना बोकें ।
तिमीले जन्म दियौ,
मैले भविष्य खोजें ।
तिमीले काख दियौ,
मैले छानो खोजें ।
तिमीले माया दियौ,
मैले सुरक्षा खोजें ।
हामी दुवैले त उनीहरूलाई नै दिएका रहेछौं ।
फरक यत्ति रहेछ-
तिम्रो योगदान बच्चाले देख्यो,
मेरो योगदान बच्चाले धेरैपटक देखेन ।
सायद त्यसैले तिम्रो काखमा उनीहरूको माया बढी जम्मा भयो ।
र मेरो काँधमा जिम्मेवारी बढी ।
तर, आज म कुनै गुनासो गर्न आएको होइन ।
म तिमीलाई केवल एउटा कुरा स्वीकार गर्न आएको हुँ–
हो, मलाई तिमीसँग ईष्र्या लाग्छ ।
जब बच्चाले तिमीलाई ‘आमा’ भनेर बोलाउँछ,
मलाई ईष्र्या लाग्छ ।
जब ऊ तिम्रो काखमा निदाउँछ,
मलाई ईर्ष्या लाग्छ ।
जब उसको पहिलो खुसी तिमी हुन्छौ,
मलाई ईर्ष्या लाग्छ ।
जब उसको पहिलो दुःख तिमीलाई सुनाउँछ,
मलाई ईर्ष्या लाग्छ ।
जब ठूलो भएर पनि
सबैभन्दा पहिले तिमीलाई सम्झिन्छ,
मलाई ईर्ष्या लाग्छ ।
तर, यो ईर्ष्या तिमीलाई खोस्नका लागि होइन ।
तिम्रो भागको माया मसँग बाँड्नुपर्छ भनेर होइन ।
बरु कहिलेकाहीँ
मलाई पनि त्यस मायाको छेउमा
सानो ठाउँ देऊ भन्ने मात्रै हो ।
कहिलेकाहीँ बच्चाहरूलाई भनिदेऊ—
‘बाबालाई पनि माया गर है ।’
सायद उनीहरूले त्यसपछि मलाई पनि
अलि लामो समय अँगालो हाल्लान् ।
सायद एक दिन उनीहरूले बुझ्लान–
आमा उनीहरूको मुटु थिइन् भने,
बुवा उनीहरूको मुटु धड्किरहोस् भनेर
टाढाबाट पहरा दिइरहेका थिए ।
र अन्त्यमा,
तिमीलाई एउटा कुरा भन्न चाहन्छु ।
यदि कसैले मलाई सोध्यो–
‘तिमीलाई जीवनमा सबैभन्दा ठूलो ईर्ष्या केसँग लाग्छ ?’
म तिम्रो नाम लिनेछु ।
किनकी संसारका सबैभन्दा सुन्दर मान्छेहरूलाई पनि
ईर्ष्या लाग्दोरहेछ–
आफ्नै सन्तानले आफ्नी श्रीमतीलाई आफूभन्दा बढी माया गरेको देख्दा ।
तर, त्यही ईर्ष्याभित्र
एउटा बुवाको सबैभन्दा ठूलो खुसी लुकेको हुन्छ ।
किनकी उसले जसलाई आफ्नो जीवनसाथी बनाएको थियो,
उसैलाई आफ्ना बच्चाहरूले
आफ्नो संसार बनाएका हुन्छन् ।
त्यसैले तिमी भाग्यमानी छौ ।
र म ?
म पनि भाग्यमानी नै रहेछु ।
फरक यत्ति हो–
तिमी बच्चाहरूको मायामा धनी छौ,
म तिमी र बच्चाहरू दुवैको मायामा बाँचेको गरिब बुवा हुँ ।
र सायद यही गरिबी नै
मेरो जीवनको सबैभन्दा धनी सम्पत्ति हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij