२०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

चाडपर्व लक्षित सुरक्षा योजना : रुपन्देहीमा १२१५ प्रहरी परिचालन

शनिवार , आश्विन २४, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • भैरहवा, २४ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आउँदै गरेको दशैं, तिहार र छठपर्वलाई मध्यनजर गर्दै ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ तयार गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थालाई भरपर्दो, प्रभावकारी, विश्वसनीय तथा सुदृढ बनाई आम नागरिकले भयरहित वातावरणमा सुरक्षित रूपमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्ने उद्देश्यले योजना तयार गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीले चाडपर्वको समयमा जिल्लामा १ हजार २ सय १५ जना प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । यो दशैंमा पनि नेपाल प्रहरीका कर्मचारीलाई बिदा छैन, उहाँहरु जिल्लाका विभिन्न ठाउँमा शान्ति सुरक्षाका लागि अहोरात्र खटिनुहुनेछ, उहाँले भन्नुभयो–‘विगतका वर्षभन्दा यस वर्ष चाडपर्वको समयमा बढी प्रहरी परिचालन गरिएको छ ।’ एसपी शाहीले रुपन्देहीमा शान्ति सुरक्षा अझ मजबुत भएको महसुस गरिएको बताउनुभयोे ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जिल्लामा हाल १ हजार १ सय ६५ जना प्रहरी रहेको बताउनुभयो । त्यसबाहेक अपुग ५० जना जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउन विभिन्न स्थानमा कमाण्ड पोष्ट, पैदल गस्ती, चारपांग्रे तथा दुईपांग्रे मोबाइल गस्ती, पिकेट ड्युटी, यात्रु सहायता कक्ष र हतियारसहितको क्रस पेट्रोलिङ सञ्चालन गरिनेछ । यस अवधिमा १५ प्रकारका रणनीतिक ड्युटीहरू तय गरेर लागू गरिएको डीएसपी चन्दले बताउनुभयो ।

    रुपन्देही प्रहरीका अनुसार सुरक्षा योजनालाई अझ बढी प्रविधिमैत्री बनाउँदै बुटवल, भैरहवा, बेलहिया लगायत प्रमुख बजार र संवेदनशील चोकहरूका सीसीटीभी क्यामेरालाई जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रूमबाट २४ सै घण्टा निगरानी गरिनेछ ।