२०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

घटस्थापनादेखि बुटवलमा पुनः पवन मिष्ठानको सेवा सुरु हुने

शनिवार , आश्विन २४, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, २४ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) मा रहेको पवन मिष्ठान भण्डारको सेवा पुनः बुटवलमा सुरु हुने भएको छ । घटस्थापनाको दिन (असोज २५ गते आइतबार)देखि पुनः बुटवलबाट सेवा सुरु गर्ने तयारी गरिएको पवन मिष्ठान भण्डारका सञ्चालक पवन हलुवाईले बताउनुभयो । 

    ‘हामीले २०५५ सालमा बुटवलको अमरपथमा पनि पवन मिष्ठानको आउटलेट खोलेका थियौं । तर, ८ महिनादेखि पार्किङ्गको समस्याले ग्राहकको सवारीसाधन राख्न अप्ठ्यारो भएकोले उक्त ठाउँबाट हाम्रो सेवा स्थगित भएको थियो । बुटवल क्षेत्रका जनताको माया र ममताले गर्दा हामीले अब हामी कालिकानगरबाट पवन मिष्ठानको सेवा सञ्चालन गर्न लागेका छौं, ’हलुवाईले भन्नुभयो ।

    वि.सं. २०२५ सालमा आफ्नो बुवा राधेश्याम हलुवाईले सुरु गर्नुभएको पवन मिष्ठान भण्डार भैरहवाले पेडा, लड्डु, पर्बल मिठाई, दुध मलाईलगायत २५ प्रकारका मिठाईका परिकार बनाउँदै आएको सञ्चालक हलुवाईले बताउनुभयो । उहाँका अनुसार यो मिष्ठान भण्डारमा दैनिक १ हजार लिटर दुध र १ सय किलो खोवा खपत भइरहेको छ । हाल यहाँ ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । मिष्ठानले करिब ३ सय जना किसानसँग प्रत्यक्ष दुध खरीद गर्दै आएको उहाँको भनाइ छ ।

    ‘मुलुकमा भूकम्प, कोभिड, प्राकृतिक विपत्ति एवं विभिन्न खाले आन्दोलनका कारण जुन गतिमा व्यवसायिक विस्तार हुनुपर्नेथियो त्यो गर्न सकिरहेका छैनौं । तर, पनि हामी आफ्नो उत्पादनको गुणस्तरमा स्थापनाकालदेखि नै जस्तोसुकै अप्ठ्यारो परिवेशमा पनि कम्परमाइज गरेका छैनौं । गुणस्तरीयता हाम्रो पहिचान हो, ’उहाँले भन्नुभयो ।

    काठमाडौंलगायत केही ठाउँमा पवन मिष्ठानसँग मिल्दोजुल्दो मिष्ठान भण्डार र पवनको पेडा भन्दै विक्री गरेको जानकारी पाइएको सञ्चालक हलुवाईले बताउनुभयो । ‘हाम्रो भैरहवा र बुटवलबाहेक अन्य ठाउँमा आउटलेट छैन । ग्राहकहरु त्यसबाट नझुक्किनुहोला, उहाँले भन्नुभयो । हाम्रो परिवारका छोराबुहारी पनि हजुर बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिने गरी लागिरहेका छन् । तपाईहरुको माया र सद्भाव सधैभरी रहिरहोस्, ’शुक्रबार पवन मिष्ठान भण्डारले तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो ।