२०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

‘भैरहवा दशैं महोत्सव’ सुरु

सोमवार , आश्विन २६, २०८३

  • 430
    Shares
  • 430
    Shares
  • भैरहवा, २६ असोज । लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा आइतबारदेखि रुपन्देहीको भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका–४ स्थित गल्लामण्डी (सुगरमिल)रोडमा सुरु भएको महोत्सव कार्तिक ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

    क्लबले दोस्रोपटक महोत्सव आयोजना गरेको लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले बताउनुभयो ।
    म

    होत्सवको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर सन्दिप कसौधनले दशैंको पहिलो दिन घटस्थापनाको दिन शुभ कार्यको सुरुवात भएको बताउनुभयो । उहाँले यस्ता धेरै कार्यक्रम गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने सरकारलाई ‘म्यासेज’ दिनुपर्ने बताउनुभयो । ‘सामाजिक कार्यसँगै स्थानीय व्यवसायलाई चलायमान बनाउन लायन्स भैरहवा लिगेसीले जमर्को गरेको छ, ’उहाँले भन्नुभयो–‘यो क्लबसँग सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको अनुभव छ ।’

    त्यस्तै विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको फस्ट भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले लायन्स क्लब अफ भैरहवा लिगेसीको प्रयास उदाहरणीय रहेको बताउनुभयो । उहाँले सबैभन्दा ठूलो कुरा आँट भएको बताउनुभयो । ‘हरेक कुरामा चुनौती छ, तर चुनौतीका बाबजुद सम्भव पनि छ, ’उहाँले भन्नुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले लायन्स भैरहवा लिगेसीको टीमले गरेको कार्यमा आफ्नो साथ रहेको बताउनुभयो । उहाँले भैरहवामा स्थायी मण्डप बनाउन नगरपालिकाको सिंगो टीमले जमर्को गर्नुपर्नेमा जोड दिनुभयो । 

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भैरहवामा स्थायी मण्डप नहुँदा जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले यस्ता महोत्सवहरु आगामी दिनमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले ४ वर्षपछि पुनः महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले २ दिन पहिला मेला उद्घाटन गर्ने कार्यक्रम रहे पनि सडक खाना महोत्सव आयोजना गरिएकोले केही दिन सारिएको बताउनुभयो ।

    लायन्स भैरहवा लिगेसीका निवर्तमान अध्यक्ष एवं महोसवका संयोजक राजन शुक्लाले यो एउटा क्लबको मात्र नभइ सबैको महोत्सव भएको बताउनुभयो । उहाँले महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

    क्लबका प्रथम उपाध्यक्ष गोविन्द उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका-४ स्थित आमा समाजका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।

    महोत्सवको आयोजकमा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट प्रा.लि., सह–आयोजकमा मायादेवी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका–४ नम्बर वडा कार्यालय र लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपाल तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका रहेका छन् । महोत्सवको व्यवस्थापन राधाकृष्ण एम्युजमेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.ले गरेको छ ।

    महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त तथा स्थानीय र भोजपुरी जगतका कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश शुल्कवापत १ सय र विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८० रुपैयाँ तोकिएको छ ।