२०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

मंसिर १७ देखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव हुने

मंगलवार , आश्विन २७, २०८३

  • 406
    Shares
  • 406
    Shares
  • भैरहवा, २७ असोज । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आगामी मंसिर १७ देखि २८ गतेसम्म लुम्बिनी राष्ट्रिय महोत्सव–२०८३ हुने भएको छ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार ’ भन्ने मूल नाराका साथ यस वर्ष संघले दशौं पटक महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव सिद्धार्थनगर नगरपालिका-८ स्थित अञ्चलपुरमा हुनेछ ।

    महोत्सवबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक नेत्र प्रसाद आचार्यले प्रत्येक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको बताउनुभयो । अध्यक्ष आचार्यका अनुसार वि.सं. २०६१ सालदेखि महोत्सव आयोजना गर्न सुरुवात गरिएको हो । यसअघि संस्थाले वि.सं. २०६३, २०६५, २०६७, २०६९, २०७१, २०७५ र २०८१ मा महोत्सव आयोजना गरिसकेको छ ।

    ‘रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विकास र विस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला, संस्कृति तथा परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्न, मुख्यतः लुम्बिनी क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न, विभिन्न जिल्लाका मौलिक तथा विशिष्ट पहिचानका वस्तु तथा उत्पादनहरुको प्रदर्शनी तथा प्रवद्र्धन गर्न महोत्सव केन्द्रीत हुनेछ, ’अध्यक्ष आचार्यले भन्नुभयो । महोत्सवमा यस क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तथा स्टार्ट–अप उद्योगी व्यवसायीहरुलाई विभिन्न प्रतियोगिता तथा सिर्जनात्मक कार्यक्रममार्फत महोत्सवसँग जोड्ने र आकर्षित गर्ने कार्यक्रमहरु पनि आयोजना गरिने उहाँले जानकारी दिनुभयो । 

    विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी तथा व्यवसायीहरुको सहभागीता रहने लुम्बिनी राष्ट्रिय महोत्सवमा करिब ३ सय वटा स्टल रहने संघले जनाएको छ ।

    करिब ३ लाख दर्शकले अवलोकन गर्ने महोत्सव अवधिभर करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाको तुलनात्मक मूल्यबारे जानकारी गराउने तथा स्थानीयस्तरमा उत्पादित घरेलु एवं हस्तकलाका सामग्रीहरुको बजार प्रवद्र्धन गर्ने संघको विश्वास छ । 

    पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद शर्माले अब देशभरी मेला–महोत्सवको सिजन सुरु भएको बताउनुभयो । 

    त्यस्तै उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवलाई आर्थिक स्रोतको रुपमा नलिएको बताउनुभयो ।

    कार्यक्रममा पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, महासचिव कृष्ण प्रसाद घिमिरे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, संस्थापक अध्यक्ष माधव ढुंगाना, उपाध्यक्ष दीपेन्द्र बडुवाललगायतले बोल्नुभएको थियो ।