२०८३, कार्तिक १२ गते

Oct 29 2026 | २०८३, कार्तिक १२ गते

रोहिणीका १६ वटा विद्यालयलाई वाटर डिस्पेन्सर, खेलकुद र शैक्षिक सामग्री

बिहिवार , कार्तिक १२, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • भैरहवा, १२ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकाले सामूदायिक विद्यालयको शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले १६ वटा विद्यालयलाई विभिन्न शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको छ । बुधबार गाउँपालिकाले विद्यालयहरूलाई वाटर डिस्पेन्सर, खेलकुद सामग्री तथा डेस्क–बेन्च हस्तान्तरण गरेको हो ।

    गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत र शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले पालिकामा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाभित्रका सामूदायिक विद्यालयको शिक्षा सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८३–२०८४ मा बजेट विनियोजन गरिएको थियो ।

    १६ वटै विद्यालयका लागि वाटर डिस्पेन्सर, खेलकुद सामग्री उपलब्ध गराइएको छ भने डेस्क–बेन्च विद्यालयको आवश्यकताअनुसार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले विद्यालयको भौतिक पूर्वाधार र सिकाइ वातावरण सुधारलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई सहज, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्य लिएको अध्यक्ष यादवले बताउनुभयो । सामूदायिक विद्यालयको सुधार गाउँपालिकाको प्राथमिकतासँग जोडिएको विषय भएको उहाँले बताउनुभयो । ‘शिक्षामा गरिएको लगानी भनेको समाजको भविष्य निर्माणमा गरिएको लगानी हो । सामूदायिक विद्यालयमा आवश्यक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गर्दै प्रत्येक बालबालिकाले सहज वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवस्था निर्माण गर्नु हाम्रो प्राथमिकता हो’, उहाँले भन्नुभयो । विद्यालयमा स्वच्छ खानेपानी, व्यवस्थित बसाइ र खेलकुदको सुविधा उपलब्ध हुँदा विद्यार्थीका लागि सहज शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत बस्नेतले शैक्षिक सामग्रीको व्यवस्थापनसँगै त्यसको उचित प्रयोग र संरक्षणलाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले उपलब्ध गराइएका सामग्री विद्यार्थीको हितमा उपयोग हुनु आवश्यक रहेको जनाउँदै त्यसतर्फ ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभयो 

    शिक्षा शाखा प्रमुख भट्टराईले भौतिक सुविधासँगै शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धिमा जोड दिनुभयो । विद्यालयमा आवश्यक सामग्रीको उपलब्धताले विद्यार्थीको सहभागीता र सिकाइ वातावरणमा सुधार आउनुका साथै खेलकुदको विकास हुने उहाँको अपेक्षा छ । आवश्यक सामग्रीको सदुपयोगसँगै शिक्षकको सक्रियता, नियमित अनुगमन र विद्यार्थीको सिकाइ उपलब्धी सुधारमा पनि निरन्तर ध्यान दिन उहाँले आग्रह समेत गर्नुभयो ।