२०८३, कार्तिक १२ गते

Oct 29 2026 | २०८३, कार्तिक १२ गते

मन्त्री सीता बादी र आईजीपी कार्कीबीच भेटवार्ता

बिहिवार , कार्तिक १२, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौं, ११ कार्तिक । जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

    बुधबार मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको हो ।

    भेटवार्तामा जातीय भेदभाव तथा छुवाछुतका घटनाको प्रभावकारी अनुसन्धान, दोषीलाई प्रचलित कानूनअनुसार कारवाही र पीडितलाई न्याय दिलाउने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो । यस्ता घटनामा पीडितले सहज रूपमा उजुरी दिन सक्ने वातावरण निर्माण गर्नुका साथै प्राप्त उजुरीको शिघ्र सम्बोधन र पीडितको सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।

    जातीय विभेदविरुद्धको अभियानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । प्रहरी कर्मचारी तथा अधिकारीलाई नियमित ब्रिफिङ र तालिममार्फत जातीय विभेदविरुद्धको कानूनी व्यवस्था, पीडितमैत्री व्यवहार र जिम्मेवारीबोधबारे सचेत गराउनुपर्ने आवश्यकता औंल्याइएको थियो ।

    त्यसै गरी महिला तथा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार र शोषण नियन्त्रण गर्दै पीडितको संरक्षण, पुनस्र्थापना तथा पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी पीडितमैत्री सेवा प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।

    सीमान्तकृत समुदायबाट प्राप्त उजुरी तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै पीडितलाई आवश्यक सुरक्षा र कानूनी उपचारमा सहज पहुँच उपलब्ध गराउनुपर्ने विषयलाई पनि भेटवार्तामा महत्व दिइएको थियो । सीमापार बालबालिकाको ओसारपसार तथा बेचबिखनको जोखिम न्यूनीकरण गर्न सीमा क्षेत्रमा निगरानी र जाँचलाई सुदृढ बनाउने, स्थानीय बालकल्याण अधिकारी तथा स्थानीय तहसँग समन्वय बढाउने र सम्बन्धित निकायबीच सहकार्य प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

    महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित तथा लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकार र सुरक्षासम्बन्धी सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकतासमेत औंल्याइएको थियो । भेटवार्तामा मन्त्रालय र नेपाल प्रहरीबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ गर्दै जातीय भेदभाव तथा छुवाछुतविरुद्ध प्रभावकारी कानूनी कारवाही अघि बढाउने, हिंसापीडितको सुरक्षा सुनिश्चित गर्ने र महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार संरक्षणमा थप प्रभावकारी काम गर्ने विषयमा जोड दिइएको छ ।

    सरकारसँग समन्वयमा देशमा विभिन्न क्षेत्रमा महिला हिंसा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाप्रति सरकारले प्रहरीको प्रशंसा गरेको छ ।