शनिवार , कार्तिक १४, २०८३
भैरहवा, १४ कार्तिक । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनको संयुक्त आयोजना तथा कोटहीमाई गाउँपालिका–५ को सहकार्यमा शिविर सञ्चालन हुन लागेको हो ।
कार्तिक १८, १९ र २० गते सञ्चालन हुने शिविरमा आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया, नाक, कान तथा घाँटीको परीक्षण र उपचार, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिनेछ । त्यस्तै हिंड्डुलमा समस्या भएका अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण, जनरल फिजिसियनबाट स्वास्थ्य परीक्षण तथा पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरणसमेत गरिने कार्यक्रम संयोजक रोटरीयन कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्तिक १८ र १९ गते ओपीडीमार्फत स्वास्थ्य परीक्षण गरिनेछ भने २० गते मोतीयाबिन्दुको समस्या देखिएका बिरामीको शल्यक्रिया गरिनेछ ।
गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित गरिब, असहाय, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई लक्षित गरी शिविर आयोजना गरिएको संयोजक पाण्डेले बताउनुभयो । शिविरबाट मर्चवारीमाई, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कोटहीमाई गाउँपालिका–५ का वडाध्यक्ष सञ्जय कुमार सैनीले दक्ष चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने शिविरबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । एउटै शिविरबाट विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले मर्चवार क्षेत्रका लागि यो महत्वपूर्ण अवसर भएको उहाँले बताउनुभयो । साथै सम्बन्धित बिरामीलाई शिविरसम्म ल्याउन सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाको सहयोग रहने शिविरबाट पाँच हजारभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij