बुधवार , कार्तिक १८, २०८३
भैरहवा, १८ कार्तिक । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले विगतझै यस वर्ष पनि रुपन्देहीको मर्चवार क्षेत्रमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा आर्थिक रूपमा विपन्न समुदायलाई लक्षित गर्दै क्लबले विगतका वर्षदेखि मर्चवार क्षेत्रमा शिविर सञ्चालन गर्दै आएको छ । सोही अभियानलाई निरन्तरता दिँदै कोटहीमाई गाउँपालिका–५, मझगावाँस्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा बुधबार (आज) देखि तीनदिने शिविर आयोजना गर्न लागेको हो । शिविरमा कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका करिब २ हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी आयोजकले शिविरबारे जानकारी गराएका हुन् ।
विगतका वर्षमा मुख्यतः आँखा उपचारमा केन्द्रित हुँदै आएको शिविरलाई यस वर्ष विस्तार गरी क्यान्सर रोगको पहिचान, महिला स्वास्थ्य, नाक, कान तथा घाँटीसम्बन्धी समस्या र अन्य विभिन्न रोगको परीक्षण तथा उपचारलाई समेत समेटिएको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले बताउनुभयो । शिविरमा आँखाको परीक्षण, मोतियाबिन्दुको पहिचान तथा आवश्यकताअनुसार निःशुल्क शल्यक्रिया, नाक, कान तथा घाँटीको परीक्षण, जनरल फिजिसियनबाट स्वास्थ्य परीक्षण तथा परामर्श र महिला स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार महिलामा देखिने पाठेघर तथा स्तन क्यान्सरको पहिचानका लागि परीक्षण, पाठेघरसम्बन्धी समस्याको उपचार र आवश्यकताअनुसार निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।
शिविरमा उपचार सम्भव नभइ थप विशेषज्ञ सेवा आवश्यक पर्ने महिलाका लागि बुटवलस्थित आम्दा अस्पतालमा थप उपचारको व्यवस्था मिलाइने क्लबका पूर्वअध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताउनुभयो ।
शिविरका क्रममा महिलालाई ४ सय थान पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण गर्नुका साथै अशक्त तथा अपांगता भएका व्यक्तिलाई ह्विलचेयरसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।
शिविरमा काठमाडौं, बुटवल, चितवन र भैरहवालगायतका स्थानबाट विभिन्न विधाका करिब ६० जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । उनीहरूले बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्नेछन् ।
शिविर सञ्चालनमा रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनले सहकार्य गरेका छन् । त्यसै गरी क्यानडाको पिटरबरो रोटरी क्लब, आईसीओ फाउण्डेशन क्यानडा, पार्टनर्स इन पोजिबिलिटी फाउण्डेशन, स्नो लेपर्ड इन्टरनेशनल मेडिसिन र ग्लासवाटर फाउण्डेशनलगायतका अन्तर्राष्ट्रिय सामाजिक संस्थाले सहयोग तथा समन्वय गरेका छन् ।
त्यस्तै काठमाडौंस्थित मातृका आँखा उपचार केन्द्र, बुटवलको आम्दा अस्पताल, भरतपुर क्यान्सर अस्पताल तथा भैरहवाको लुम्बिनी नेत्रालय प्रा.लि.लगायतका स्वास्थ्य संस्थाले प्राविधिक सहयोग गर्नेछन् ।
आयोजकका अनुसार शिविर सञ्चालनका लागि करिब १ करोडदेखि सवा करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । रुपन्देहीमा रोटरी क्लबको इतिहासमै पहिलोपटक यति ठूलो स्तरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकको सहभागीतामा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।
क्लबका निवर्तमान अध्यक्ष विष्णु शर्मा आचार्यले आर्थिक रूपमा कमजोर नागरिकलाई उनीहरूकै घरआँगनमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
