२०८३, कार्तिक २१ गते

Nov 07 2026 | २०८३, कार्तिक २१ गते

धनतेरसमा कुचोको माग बढेसँगै बुटवलमा उत्पादन र बजारीकरण विस्तार

शनिवार , कार्तिक २१, २०८३

  • 130
    Shares
  • 130
    Shares
  • बुटवल, २१ कार्तिक । हिन्दू धर्मावलम्बीहरूको महान पर्व दीपावली (तिहार) सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । उज्यालो, उमंग, आस्था र पारिवारिक मिलनको प्रतीकका रूपमा मनाइने तिहारले धार्मिक तथा साँस्कृतिक महत्वसँगै स्थानीय उत्पादन, व्यापार व्यवसाय र रोजगारीमा समेत सकारात्मक प्रभाव पार्दै आएको छ । यही पर्वसँग जोडिएको धनतेरसका अवसरमा कुचो (झाडु) किन्ने परम्पराले रुपन्देहीका् बुटवलमा सञ्चालित घरेलु उद्योगलाई समेत व्यवसायिक अवसर प्रदान गरेको छ । 

    हिन्दू धार्मिक मान्यताअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरसलाई धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्तिको कामनासँग जोडेर हेरिन्छ । यस दिन भगवान् धन्वन्तरीको पूजा गर्ने तथा नयाँ धातुका भाँडाकुँडा, सुनचाँदी र घरायसी सामग्री खरीद गर्ने चलन छ । कतिपय समुदायमा कुचो किन्नुलाई माता लक्ष्मीको आगमनको प्रतीकका रूपमा लिने गरिन्छ । घरआँगन सफा राख्दा नकारात्मकता हट्ने र सुख, शान्ति तथा समृद्धिको वास हुने धार्मिक विश्वासले पनि कुचोको किनमेललाई विशेष बनाएको छ । 

    यही धार्मिक तथा साँस्कृतिक विश्वासका कारण धनतेरस नजिकिँदा कुचोको माग बढ्ने गरेको छ । बढ्दो मागलाई लक्षित गर्दै बुटवलमा सञ्चालित शुभश्री कुचो उद्योगले उत्पादनलाई तीव्रता दिएको छ । उद्योगमा स्थानीय १० जना मजदूरले बाँस तथा अम्रिसोबाट कुचो उत्पादन गर्दै आएका छन् । कुचो बनाउन आवश्यक अम्रिसो पाल्पा र हेटौंडाबाट ल्याउने गरिएको छ भने उत्पादित सामग्री नेपालका विभिन्न स्थानमा विक्री तथा वितरण हुँदै आएको छ ।  

    उद्योगमा कार्यरत ६८ वर्षीय तामबहादुर रानाका लागि कुचो बनाउने काम आम्दानीको स्रोतसँगै समयको सदुपयोग गर्ने माध्यम बनेको छ । घरनजिकै काम पाउँदा सहज भएको बताउने रानाले ठेक्कामा एउटा कुचो बनाएवापत उहाँले ८ रुपैयाँ पाउने गर्नुभएको छ । उहाँका अनुसार दैनिक करिब ५० देखि १०० वटासम्म कुचो बनाउन सकिन्छ । आफ्नै गतिमा काम गर्दा भने दिनमा ६० देखि एक सयवटासम्म कुचो तयार हुने गरेको छ ।

    WhatsApp Image 2026-11-07 at 9.29.44 AM.jpeg

    त्यस्तै चन्द्रबहादुर थापामगर पनि विगत पाँच वर्षदेखि कुचो उत्पादनमा संलग्न हुनुहुन्छ । तिहारको समयमा बजारमा माग बढ्ने भएकाले कामको व्यस्तता पनि बढ्ने गरेको उहाँको अनुभव छ । शुभश्री कुचो उद्योगकी सञ्चालक पुष्पा सुवेदीका अनुसार उद्योगले वि.सं. २०७६ देखि निरन्तर उत्पादन गर्दै आएको छ । स्थानीय श्रम र सीपलाई उपयोग गर्दै उद्योगले रोजगारी सिर्जना गर्नुका साथै उत्पादित सामग्री देशका विभिन्न बजारसम्म पु¥याउँदै आएको छ । उद्योगसँग जोडिएर काम गरिरहेका प्रताप अर्याल पनि स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कामले साना उद्योगको निरन्तरतामा सहयोग पुगेको बताउँछन् ।

    WhatsApp Image 2026-11-07 at 9.29.01 AM.jpeg

    धार्मिक दृष्टिले तिहार केवल पूजा र आराधनाको पर्व मात्र होइन । यमपञ्चकका पाँच दिनमा काग, कुकुर, गाई, गोरु र भाइटीकाका माध्यमबाट प्रकृति, पशुपन्छी, कृषि र पारिवारिक सम्बन्धप्रति सम्मान प्रकट गरिन्छ । दीपावलीमा घरआँगन र मन्दिरमा दीप प्रज्वलन गरिन्छ भने लक्ष्मीपूजाका दिन धनधान्य र समृद्धिको कामना गरिन्छ । भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयतालाई थप प्रगाढ बनाउँछ । 

    साँस्कृतिक रूपमा तिहारले नेपाली समाजको विविधता, सामूहिकता र मौलिक परम्परालाई जीवन्त राखेको छ । देउसीभैलो, मादल, गीतसङ्गीत, फूलमाला र सामूहिक उत्सवले पुस्तान्तरण हुँदै आएको साँस्कृतिक पहिचानलाई बलियो बनाएका छन् । आर्थिक दृष्टिले पनि तिहार र धनतेरसको प्रभाव व्यापक छ । 

    सुनचाँदी, भाँडाकुँडा, फूलमाला, मिष्ठान्न, खाद्यान्न, विद्युतीय सामग्री र घरायसी वस्तुको कारोबार बढ्दा साना व्यापारीदेखि उत्पादकसम्म लाभान्वित हुन्छन् । अस्थायी रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादनले बजार पाउने अवसरसमेत बढ्छ । यद्यपि आयातित वस्तुको अत्यधिक प्रयोग, अनावश्यक खर्च र प्रतिष्पर्धात्मक उपभोगले आर्थिक दबाब पनि सिर्जना गर्न सक् छ। 

    बुटवलको शुभश्री कुचो उद्योग यसको एउटा उदाहरण हो । धनतेरसमा कुचो किन्ने धार्मिक विश्वासले एउटा सामान्य घरायसी सामग्रीलाई आस्था, सरसफाई, उद्यमशीलता र रोजगारीसँग जोडेको छ । पर्वको वास्तविक महिमा धार्मिक आस्थामा मात्र सीमित नरही स्थानीय उत्पादनको प्रवद्र्धन, श्रमको सम्मान, आर्थिक गतिविधिको विस्तार र सामाजिक सद्भावमा समेत प्रतिबिम्बित भएको छ ।