२०८३, कार्तिक २१ गते

Nov 07 2026 | २०८३, कार्तिक २१ गते

दीपावली महोत्सव सुरु, आर्थिक चहलपहल र संस्कृति संरक्षणसँगै बजार चलायमान हुने विश्वास

शनिवार , कार्तिक २१, २०८३

  • 136
    Shares
  • 136
    Shares
  • बुटवल, २१ कार्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर रुपन्देहीको बुटवलमा सुरु भएको ‘दीपावली सडक खाना महोत्सव’ले बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । चाडपर्वको उल्लासलाई व्यापार, व्यवसाय, पर्यटन र स्थानीय संस्कृतिसँग जोड्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले बुटवलको आर्थिक तथा व्यवसायिक गतिविधिमा थप ऊर्जा भर्ने विश्वास गरिएको आयोजकले गरेका छन् । 

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सुख्खानगरस्थित शुक्रपथमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उपमहानगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । महोत्सव कार्तिक २२ गतेसम्म अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका ५० वटा स्टल राखिएका छन् । विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी र विक्रीका लागि राखिएका छन् ।

    महोत्सव उद्घाटन गर्नुहुँदै नगरप्रमुख पाण्डेयले बुटवलको गौरवपूर्ण इतिहास र उद्योग वाणिज्य संघको व्यवसायिक विरासतलाई स्मरण गर्दै शहरको आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले व्यापार, व्यवसाय र आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गर्नुभयो । औद्योगिक तथा व्यवसायिक विकासका लागि मोतीपुर औद्योगिक क्षेत्र स्थापना र बुटवल–१५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि उहाँले जानकारी गराउनुभयो । 

    WhatsApp Image 2026-11-07 at 9.27.13 AM.jpeg

    कार्यक्रममा नगर उपप्रमुख सावित्रा देवी अर्यालले यस्ता महोत्सवले बजारमा आर्थिक गतिविधि बढाउनुका साथै उपभोक्ता र व्यवसायीलाई एउटै स्थानमा जोड्ने बताउनुभयो । उहाँले समयको मागअनुसार डिजिटल प्रविधिको प्रयोग गर्दै व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । 

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवद्र्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवले दीपावलीको साँस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यवसायिक गतिविधि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 

    वास्तवमा सडक महोत्सव केवल मनोरञ्जन र खानपानको कार्यक्रम मात्र होइन, स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने एउटा माध्यम पनि हो । स्थानीय पदम पौडेलले यस्ता महोत्सवले साना तथा घरेलु उद्यमी, किसान, खाद्य व्यवसायी, हस्तकला उत्पादक र स्वरोजगारमा संलग्न व्यक्तिलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर दिने बताउनुभयो । टोल विकास समितिका अध्यक्षसमेत रहनुभएका पौडेलका अनुसार महोत्सवमा हुने कारोबारले प्रत्यक्ष रूपमा व्यवसायीलाई आम्दानी दिनुका साथै यातायात, होटल, रेष्टुरेण्ट, पसल तथा अन्य सेवा क्षेत्रको व्यापारमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । 

    स्थानीय समासेवी मित्र बहादुर शाक्यका अनुसार बुटवलमा विगतदेखि आयोजना हुँदै आएका सडक महोत्सव, व्यापार मेला, खाना महोत्सव तथा विभिन्न चाडपर्व लक्षित कार्यक्रमले सहरको उत्सवी पहिचान स्थापित गर्न सहयोग पुर्याउँदै आएका छन् । यस्ता कार्यक्रमलाई नियमितता दिन सके बुटवललाई व्यापारिक केन्द्रका रूपमा थप आकर्षक बनाउन सकिन्छ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र आन्तरिक पर्यटन विकासमा समेत योगदान पुर्याउन सक्छ । 

    सञ्चारकर्मी सुमन श्रेष्ठका अनुसार महोत्सवमा साँस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको छ । पहिलो दिन स्थानीय ब्यान्डको प्रस्तुति रहेको थियो भने दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय कला, संस्कृति, खानाका विविध स्वाद र परम्परालाई एउटै स्थलमा प्रस्तुत गर्ने यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले महोत्सवले तिहारको रौनक बढाउनुका साथै बुटवलको बजारलाई उत्सवमय र आर्थिक रूपमा सक्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    स्थानीय उत्पादन र व्यवसायलाई प्राथमिकता दिँदै व्यवस्थित, नियमित र प्रभावकारी रूपमा यस्ता महोत्सव सञ्चालन गर्न सके बुटवलको आर्थिक विकासमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।