२०८३, मंसिर ७ गते

Nov 23 2026 | २०८३, मंसिर ७ गते

प्रधानमन्त्रीको भारत भ्रमण : अपेक्षाको भारी, विरोधको तयारी !

आइतवार , मंसिर ६, २०८३

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • विगतमा जस्तै यसपटक पनि प्रधानमन्त्री भारत भ्रमणमा निस्किने भएपछि बजारमा अपेक्षाको खेती सुरु भएको छ । कसैले व्यापारको ढोका खुल्ने सपना देख्छ, कसैले विद्युत् सम्झौता, कसैले लगानी, कसैले सीमा समस्या समाधान, त कसैले आर्थिक संकटबाट राहत । मानौं नेपालको भाग्यको चाबी आफ्नै सिंहदरबारमा होइन, दिल्लीको कुनै टेबलमा राखिएको छ ।

    हामी भारतसँग अपेक्षा गर्छौं, भारतले हाम्रो समस्या बुझिदिओस्, हाम्रो हितमा निर्णय गरिदिओस्, हाम्रा अप्ठ्यारा फुकाइदिओस् । तर, अपेक्षा पूरा भएन भने त्यही भारत विस्तारवादी, हस्तक्षेपकारी र खराब, अपेक्षा पूरा भयो भने मित्र, सहयोगी र असल छिमेकी ! हाम्रो राष्ट्रवाद पनि अपेक्षाको परिणाम हेरेर जाग्ने गरेको छ ।

    भारत आफ्नो स्वार्थ हेर्छ, चीन आफ्नो स्वार्थ हेर्छ, संसारका हरेक देश आफ्नै राष्ट्रिय हितबाट निर्देशित हुन्छन् । तर, हामीचाहिँ आफ्नो राष्ट्रिय हितको स्पष्ट खाका बनाउनुभन्दा अरूले हाम्रो हितमा के गरिदिन्छन् भनेर प्रतीक्षामा बस्छौं । देशभित्र उद्योग चलाउन सक्दैनौं, उत्पादन बढाउन सक्दैनौं, युवालाई पलायन हुनबाट रोक्न सक्दैनौं, नीति स्थिर बनाउन सक्दैनौं, अनि समाधानको आशा विदेश भ्रमणका उपलब्धीमा खोज्छौं ।

    भारतसँग राम्रो सम्बन्ध हुनु नेपालको आवश्यकता हो, तर भारतकै भर पर्नु नेपालको बाध्यता बन्नुहुँदैन । कूटनीति भनेको आफ्नो स्वाभिमान बेचेर सहयोग माग्नु होइन, आफ्ना कमजोरी स्वीकार्दै राष्ट्रिय हितमा दृढ भएर संवाद गर्नु हो । छिमेकीसँग सहकार्य गर्नु बुद्धिमानी हो । तर, आफ्नै सामथ्र्यलाई बिर्सेर छिमेकीको निर्णयमा भविष्य खोज्नु परनिर्भर मानसिकता हो ।

    हामी भारतलाई गाली गरेर राष्ट्रवादी बन्न खोज्छौं । तर, आफ्नै देशको बेथिति, भ्रष्टाचार, कमजोर अर्थतन्त्र, नीतिहिनता र नेतृत्वको असफलतामाथि प्रश्न उठाउँदा असहज महसुस गर्छौं । अरूलाई दोष दिन सजिलो छ, आफ्नै कमजोरी सुधार्न कठिन । सायद यही सजिलो बाटो रोज्ने बानीले हामीलाई आत्मनिर्भर होइन, अपेक्षामुखी बनाइरहेको छ ।

    प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धि र राष्ट्रिय हितको कठोर कसौटीमा मूल्यांकन गरौं । के सम्झौता भयो ? देशले के पायो ? दीर्घकालीन लाभ के छ ? यी प्रश्न उठाउनु नागरिकको अधिकार हो । तर, भारतले के दिएन भनेर मात्रै हिसाब गर्ने होइन, हामीले आफ्नै देश बनाउन के गर्यौं भन्ने हिसाब पनि राख्नुपर्छ ।

    भारतले नेपालको भविष्य बनाइदिन्छ भन्ने आशा पालेर बस्नु र भारतलाई गाली गरेर राष्ट्रवादको प्रमाणपत्र बाँड्नु–यी दुवै एउटै परनिर्भर मानसिकताका दुई रूप हुन् ।

    राष्ट्रवाद भनेको छिमेकीको विरोधमा चर्को स्वर गर्नु होइन, आफ्नै देशलाई सक्षम बनाउनु हो । राष्ट्रिय हितका लागि अरूको कृपा पर्खन नपरोस् । हामीले भारतसँग अपेक्षा गर्न छाड्नुपर्छ भन्ने होइन, अपेक्षाभन्दा बढी आफ्नो क्षमता निर्माण गर्न सिक्नुपर्छ । किनकि देशको भविष्य दिल्लीले दिने उपहार होइन, नेपालले आफ्नै मेहनत, नीति, नेतृत्व र इच्छाशक्तिले लेख्ने दस्तावेज हो ।