२०८३, मंसिर १० गते

Nov 26 2026 | २०८३, मंसिर १० गते

उद्यमी वृजलाल केडियाको जीवनी पुस्तक सार्वजनिक

बिहिवार , मंसिर १०, २०८३

  • 397
    Shares
  • 397
    Shares
  • काठमाडौं– नेपालको उद्योग एवं व्यापारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति वृजलाल केडियाको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ लोकार्पण गरिएको छ।

    एकताका वीरगन्जमा ‘बुज्रुक’ र ‘नगरसेठ’का रूपमा परिचित केडियालाई केन्द्रमा राखेर लेखिएको यस पुस्तकमा पारिवारिक र सामुदायिक पृष्ठभूमिसहित उनका कर्मको चर्चा गरिएको छ।

    काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रममा कांग्रेस सभापति गगन थापा, पत्रकार युवराज घिमिरे, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन्।

    पुस्तकभित्र के छ ?

    नेपालको खाद्यान्न व्यापार र विभिन्न उद्योगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति थिए, वृजलाल केडिया (वि.सं. १९६८–२०५५, सन् १९११–१९९८)। वीरगन्जमा उनलाई ‘वृजुबाबु’ र ‘नगरसेठ’ भनेर चिनिन्थ्यो भने कतिपयले उनलाई ‘राइस किङ’को उपाधि समेत दिएका थिए। यो पुस्तकमा पारिवारिक र सामुदायिक पृष्ठभूमिसहित उनका कर्मको चर्चा गरिएको छ। केडिया परिवार राजस्थानको केड गाउँदेखि वि.सं १९४० तिर नेपालको वीरगन्ज आसपास आएको थियो, त्यसयताको केडिया परिवारसँग जोडिएको इतिहास समेत यस पुस्तकमा आएको छ। प्रकाशकीय र भूमिकापछि यो पुस्तक पाँच अध्यायमा विभाजित छ।

    एक झलक : व्यापारिक व्यक्तित्व

    सुरुमै वृजलालको सार्वजनिक छवि देखाउने प्रसङ्गहरू आएका छन्। वि.सं. २०१५ (सन् १९५८) को अनिकालमा अमेरिकाबाट आएको गहुँ गाउँगाउँ पुर्‍याएबापत उनलाई राजा महेन्द्रले सात तोलाको सुनको पदक दिएका थिए।

    यस्तै, वि.सं. २०२७ (सन् १९७०) को खाद्यसङ्कटका बेला उनले सरकारलाई एक करोड रुपैयाँ बराबरको खाद्यान्न सरकारलाई उधारोमा दिएका थिए। त्यतिबेला शैलेन्द्रकुमार उपाध्याय गृहमन्त्री थिए भने सरदार विष्णुमणि आचार्य वागमती अञ्चलाधीश थिए। सरकारसँग रुपैयाँको अभाव भएको अवस्था थियो। गृहमन्त्री शैलेन्द्रकुमार र अञ्चलाधीशबीच खाद्यान्न दिन सक्ने व्यक्तिको खोजी भयो।

    तत्कालै अञ्चलाधीशले वृजलाल केडियालाई टेलिफोन गरे। यो घटना सम्झँदै शैलेन्द्रकुमार भन्छन्, ‘फोनबाटै वृजलाल उधारोमा आवश्यक खाद्यान्न दिन तयार हुनुभयो। यो लगभग एक करोड रुपैयाँको मामिला थियो। उक्त खाद्यान्न सङ्कट उहाँले टारिदिनुभयो र हाम्रो इज्जत बचाइदिनुभयो। हामी उहाँलाई धन्यवाद दिन्छौँ,’ (पृष्ठ १९)।

    वि.सं. २००७ (सन् १९५०) को परिवर्तनका बेला खुला रूपमा आन्दोलनमा नलागे पनि उनले आर्थिक सहयोग गरेको; पछि गोरखा दक्षिणबाहुको मानपदवी पाएको र वि.सं. २०२८ (सन् १९७१) मा जापान, कोरिया, हङकङ भ्रमणपछि आधुनिक कलकारखानातिर लाग्नुपर्छ भन्ने निष्कर्षमा पुगेको प्रसङ्ग यस अध्यायमा आएका छन्। यस अध्यायको अन्त्यमा उनको निधन राष्ट्रिय समाचार बनेको अर्थात् गोरखापत्रमा छापिएको, वीरगन्ज बजार बन्द भएको र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लगायत हजारौँ मानिस शवयात्रामा सहभागी भएको वर्णन छ।

    पृष्ठभूमि र ऐतिहासिक पाटो

    वृजलालको पुर्ख्यौली गाउँ अर्थात् केड गाउँ, ‘केडिया’ थरको उत्पत्ति, मारवाडी समुदाय को हुन् र उनीहरू नेपाल कसरी आए भन्ने प्रश्नको जवाफ यस अध्यायमा खोजिएको छ। यो परिवार केड गाउँदेखि नेपाल आउनुको कथा वि.सं १९४० (सन् १८८३) तिरबाट सुरु हुन्छ। केड गाउँ निवासी धनराजका दुई छोरा थिए– जेलिराम र गणेशदास। यी दुवै व्यापारका लागि सम्भावना खोज्दै यत्रतत्र जाने गर्थे। व्यापारकै लागि केड गाउँबाट सबैभन्दा पहिले (वि.सं. १९४० मा) जेलिराम नेपालको वीरगन्ज आसपास आएका थिए।

    भोटसँगको व्यापारमा खटपट आएपछि राणाकालमा वीरगन्ज भारतसँगको व्यापारिक नाका बन्दै गएको इतिहास, रेल–वेको भूमिका र वीरगन्ज उद्योग वाणिज्य संघको स्थापनामा वृजलालको पहल पनि यसै अध्यायमा उल्लेख छ।

    व्यापारिक पाटो

    आठ वर्षको उमेरमा वीरगन्ज बजारमा पाचक र अनारदाना बेच्ने बालकले कपडा, चामल–दाल मिल, खाद्यान्न आपूर्ति, ठेक्कापट्टा, पेट्रोलपम्प हुँदै सर्लाहीको चिनी मिलसम्मको यात्रा कसरी तय गर्‍यो भन्ने चर्चा यस अध्यायमा गरिएको छ।

    व्यावसायिक कालक्रम

    आठ वर्षको उमेर (वि.सं. १९७६, सन् १९१९) मा वीरगन्ज बजारमा पाचक र अनारदाना बेच्दै व्यापारको सुरुवात; पछि काँधमा कपडा बोकेर समेत व्यापार गरेको।

    वि.सं. १९८० (सन् १९२३) को दशकमा दाजु महावीरसँग वीरगन्जमा र बुबा रामकुमारसँग काठमाडौंमा कपडाको व्यापार गरेको।
    वि.सं. १९९० (सन् १९३३) को भूकम्पपछि विदेशबाट कपडा झिकाउन ‘बत्तीसकोठी महाजन’ को इजाजत पाएको; ‘सुन्दरमल–रामकुमार’ फर्मबाट कारोबार विस्तार गरेको।

    वि.सं. २००० (१९४३) तिर १ लाख ३२ हजार रुपैयाँमा भगवती राइस मिल किनेर चामल मिलको क्षेत्रमा प्रवेश गरेको।

    २४ वर्षको उमेर (वि.सं. १९९२, सन् १९३५) मा पिता सुन्दरमलको निधन भएपछि व्यापारलाई नयाँ ढङ्गले अघि बढाउने अठोट लिएको।

    वि.सं. २००१ (सन् १९४४) कपडा व्यापारीको हितका लागि ‘वीरगन्ज क्लोथ मर्चेन्टस् एसोसिएसन’ (पछि वीरगन्ज उद्योग वाणिज्य सङ्घ) स्थापनामा पहल गरेको।

    वि.सं. २००४ (सन् १९४७) मा भारतको बम्बैमा वृजलालले आफ्नो अग्रसरतामा ‘चिरञ्जीवी–वृजलाल’ नामको फर्मबाट कपडाको गद्दी सञ्चालन गरेको।

    वि.सं. २००५ (सन् १९४८) मा आफ्नै महावीर राइस मिल सुरु गरेको।

    वि.सं. २०१२ (सन् १९५५) मा पेट्रोलपम्पमा लगानी।

    वि.सं. २०१६ (सन् १९५९) सम्म स्वामित्व र भाडाका गरी देशका विभिन्न भागमा दर्जनौँ चामल–दाल मिल सञ्चालन। यसैताका देशका विभिन्न दूरदराजका गाउँमा खाद्यान्न किन्ने गल्ला राखेको।

    वि.सं. २०१९ (सन् १९६२) मा वृजलालले आफ्नो अग्रसरतामा भारतको अहमदाबादमा ‘राजेन्द्रप्रसाद–रमेश कुमार’ नामको फर्मबाट कपडाको गद्दी सञ्चालन गरेको।

    वि.सं. २०२४ (सन् १९६७) मा वृजलालले लुनकरण दास चौधरी र निरञ्जन जाटियालाई साझेदार बनाएर आफ्नो नेतृत्वमा ‘नेपाल स्पिनीङ्ग, वेभिङ एन्ड निटिङ प्राइभेट लिमिटेड’ स्थापना गरेका थिए। यस्तै, केडिया परिवारले मोडर्न होजियरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड– १९६५ (वि.सं. २०२२), रत्न स्टेनलेस स्टिल प्राइभेट लिमिटेड– १९६७ (वि.सं. २०२४) सञ्चालन गरेको थियो।

    वि.सं. २०३३ (सन् १९७६) मा सर्लाहीको बरहथवामा खाँडसारी चिनी मिल सञ्चालन।

    वि.सं. २०४१ (सन् १९८४) देखि हरिवनमा इन्दु–शङ्कर चिनी मिल सञ्चालन; वृजलालले जीवनको उत्तराद्र्ध यहीँ बिताए।

    वि.सं. २०५३ (सन् १९९६) मा ‘सीताराम गोकुल्स मिल्क्स लिमिटेड’को समुद्घाटन समारोहमा स्वागत भाषण गरेको। यस लिमिटेडको नेतृत्व नाति मनोज केडिया र छोरा शंकरलाल केडियाको संरक्षकत्वमा गरेका थिए।

    धार्मिक प्रवृत्ति, सादा जीवन र समाजसेवा

    ठूलो कारोबार गर्ने वृजलालको सादगी जीवनशैलीको चर्चा यस अध्यायमा गरिएको छ। प्राय: धोती–कमिजमा हिँड्ने, सादा खाना खाने, हँसिलो स्वभावका उनमा समाजसेवाको भावना प्रबल थियो। उनको धार्मिक आस्था, गाईको सेवा गर्ने इच्छा र गरिब तथा अपाङ्गहरूका लागि चलाइएको सामूहिक विवाहजस्ता कामको समेत यस अध्यायमा चर्चा गरिएको छ।

    यस्तै, वीरगन्जको आदर्शनगर बसाउन पहल गरेको; कन्या विद्यालय खोलेको; बुहारीलाई पढाएको; डीएभी विद्यालय नेपाल ल्याउन पहल गरेको; वीरगन्जमा ‘रामकुमार महावीर केडिया आँखा हस्पिटल’ खोलेको र २०५० सालमा बाढीपीडितलाई राहत वितरण गर्दा प्रशासनबाट प्रशंसापत्र पाएको प्रसङ्ग यस अध्यायमा आएका छन्।

    आदर्श नगर बसाउने सन्दर्भमा यस पुस्तकको १२६ पृष्ठमा उल्लेख छ— एक दिन वृजलाले आफ्नो घरको छतबाट पशुपति घोष लगायतलाई अहिले आदर्शनगर रहेको खाली जग्गा देखाए। जहाँ खेतहरू पनि थिए, जसलाई बर्सेनि बाढीले क्षति पुर्‍याउँथ्यो। यो क्षेत्रमा ५० बिघा जमिन खरिद गरी नयाँ विकास गर्नुपर्छ भन्ने वृजलालको प्रस्ताव थियो। जयविक्रम लेख्छन्, ‘तदनुसार निर्माणको परिकल्पनालाई अघि बढाउन पशुपतिनाथ घोषको अध्यक्षतामा कमिटी बन्यो र सो नगरको नाम श्री ५ महेन्द्रनगर राख्ने विचार गरियो।’

    संस्मरण आलेखहरु

    यस अन्तिम अध्यायमा परिवार र निकट व्यक्तिका स्मरण समेटिएका छन्। यस अध्यायमा वृजलालका जेठा छोरा शङ्करलाल केडिया, माहिला छोरा ताराचन्द केडिया र पार्थमणि भट्टराईले वृजलालमाथि लेखेका संस्मरण समेटिएका छन्।

    पुस्तक कसरी लेखियो ?

    यो पुस्तक एकै बसाइमा लेखिएको होइन। यसको काम दुई चरणमा सम्पन्न भएको छ। पहिलो चरण (वि.सं. २०५० सालतिर) को काम वृजलाल जीवितै हुँदा सुरु भएको थियो। त्यस बेला विभिन्न व्यक्तिहरूका आलेख र अन्तर्वार्ता सङ्कलन गरी पुस्तक तयार गरिएको थियो, जसमा वृजलालसँगका उनका आफ्नै भेटवार्ता पनि पर्छन्। यद्यपि जीवनी सम्पूर्ण रूपमा आओस् भन्ने हेतुले पुस्तक प्रकाशनको काम ढिलो भइरहेको थियो। यत्तिकैमा २०५५ चैतमा वृजलालको निधन भयो र लेखनकार्य अलमलमापर्‍यो।

    दोस्रो चरणको काम २०७५ सालमा अघि बढ्यो। सम्बन्धित व्यक्तिहरूको अन्तर्वार्ता लिने र पुस्तक सम्पादन गर्ने जिम्मा ध्रुवसत्य परियार र आरपी भट्टराईले सम्हाले। यो पुस्तक तयार गर्न ४० भन्दा बढी व्यक्तिसँग कुराकानी गरिएको छ भने सन्दर्भ स्रोतमा विभिन्न पुस्तक तथा पत्रपत्रिका र कदरपत्रहरू परेका छन्। यस्तै, यस पुस्तकमा पुराना तस्बिरहरू समेत बोलेका छन्।

    पुस्तकमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला र लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्याय, पूर्वमन्त्री जयप्रकाश, नेतृ सहाना प्रधान, पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बराल, पूर्वसहसचिव माधवदास श्रेष्ठ, उद्योगी–व्यापारीहरू, मिलका कर्मचारीहरू, किसानहरू र केडिया परिवारका सदस्यहरूका समेत भनाइ समेटिएका छन्। पहिलो चरणमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाद्वारा पुस्तकका लागि लेखिएको शुभकामनाका शब्द समेत यसमा समेटिएकोछ।

    सन्दर्भ स्रोतमा जेम्स टोडको पुस्तक ‘राजस्थानको इतिहास’, वीरगन्जका तत्कालीन बडाहाकिम पूर्णसिंह ठाकुरको आत्मकथा ‘अनुभव’, जयविक्रम शाहको ‘वीरगन्जको नालीबेली’, गिरीश गिरीको ‘वीरगन्ज : मेरो सहरको कथा’, विनोद चौधरीको आत्मकथा, भगवतीप्रसाद टेमानीको ‘मैं और मेरा वीरगंज’ र थोमस टिमबर्गको ‘द मारवारिज’ लगायत छन्। (देश सञ्चार)