
बुधवार , जेठ १९, २०७८
बुटवल, १९ जेठ ।
लुम्बिनी प्रदेश सभाको आठौ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । हिजो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आज पहिलो दिन बैठक सुरू गरी दलीय शुभकामना राख्ने सहमति गरेको छ ।
तर, विपक्षी दलले प्रदेश सभा बैठकमा अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आवाज उठाउने संकेत गरेका छन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका कारण राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गर्दै आएका छन् । कुल ८३ जना प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री पोखरेलका पक्षमा ४० जना मात्र सांसद रहेकाले उनीहरुले मुख्यमन्त्री अल्पमतमा परेकाले मार्गप्रशस्त गर्न माग गरेका हुन् ।
राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई ४० जनाले मात्र भोट हालेको मत परिणाम आएसँगै प्रदेश सरकार अल्पमतमा रहेको प्रष्ट भएको छ । उता विपक्षी गठबन्धनका उम्मेदवारलाई भने ४२ मत परेको छ भने कांग्रेस उम्मेदवारले पाएको एक मत बदर भएको छ ।
नेकपा एमालेका ३८ र जसपाका ४ जना (महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष) जोडेर पुर्याइएको बहुमत देखाएर दोस्रो पटक सरकारको नेतृत्व गरेका मुख्यमन्त्री पोखरेललाई यो निर्वाचनको परिणामले संकट ल्याइदिएको हो । जसपाका चार जना सांसदले एमाले उम्मेदवारलाई मतदान गरेका थिए ।
नेपाली काग्रेस संसदीय दलका मुख्य सचेतक फखरुद्दीन खानले मुख्यमन्त्री शंकर पोखरेल संविधानको धारा ६८ को उपधारा १ अनुसार एकल बहुमतको सरकार गठन गरी सपथ खाए पनि व्यवहारतः ६८ को उपधार २ अनुसार सरकार चलेको बताए । उनले एकल बहुमत दावी गर्दै सरकार गठन गरे पनि सरकारमा जसपाका ४ जनालाई मन्त्री बनाएपछि मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । आजको बैठकमा यस विषयमा कडा रुपमा प्रस्तुत हुने विपक्षीको तयारी छ ।
सरकार गठन भएको ३० दिन पुगेकाले मुख्यमन्त्री पोखरेलले आजको बैठकमै विश्वासको मत लिनुपर्नेमा विपक्षीले अडान अघि सारेका छन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुल प्रसाद केसीले विपक्षीहरूको कडा विरोधका बीच मुख्यमन्त्रीकै कार्यालयमा शपथ गराउन पुगेका प्रदेश प्रमुख पनि विवादमा परेको बताए । बहुमत सदस्यहरु भौतिक रुपमा सशरीर उपस्थित गराउँदा पनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले अल्पमतको नेतालाई सपथग्रहण गराएको नेता केसीको भनाइ छ । नेता केसीले मुख्यमन्त्री पोखरेललाई बहुमत सिद्ध गरेर अगाडि बढ्न चेतावनी दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij