
बुधवार , जेठ १९, २०७८
बुटवल, १९ जेठ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभाको भूमिकाप्रति प्रश्न उठाएको छ । बुधबारबाट सुरु भएको प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले सभामुख घर्ती तथा प्रदेशसभा सचिवालयले आफ्नो पार्टी तथा सरकारप्रति भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् । उनले प्रदेशसभा सचिवालयले व्यवहार संसदीय मर्यादा र कानुनविपरीत काम गरेको प्रश्न उठाउँदै राम्रो संकेत राम्रो संकेत नभएको टिप्पणी गरेका छन् ।
विपक्षी गठबन्धनका ६ जना नेताहरुले सरकार तथा मुख्यमन्त्रीविरुद्ध उठाएका प्रश्नहरुको जवाफ दिँदै पूर्वमन्त्री समेत रहेका गिरीले आफ्नो दलीय मर्यादामा रहन आग्रह गरे ।
नेता गिरीले भने ‘छापामार शैलीमा प्रदेशसभा सचिवालयबाट भेदभावपूर्ण व्यवहार र अत्यन्त छिनाझप्टिका साथ यो बीचमा जसरी खेल देखियो त्यो राम्रो संकेत होइन ।’ संसदमा विपक्षी दलहरुले सरकारको वैधानिकता माथि उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त प्रसंग उठाएका हुन् । बाध्यात्मक अवस्थामा संविधानको धारा १६८ को उपधारा १ अनुसार नै लुम्बिनी प्रदेश सरकार गठन भएको दावी गर्दै उनले वर्तमान सरकार वैधानिक भएको उल्लेख गरे । सरकारसंग पूर्ण बहुमत भएको दाबी गर्दै उनले राष्ट्रिय राजनीतिलाई अल्मल्याउन खोजिएको र राष्ट्रिय राजनीतिको आडमा मुलुकभरका सबै प्रदेशहरुलाई तलमाथि पार्ने प्रयास भइरहेको आरोप लगाए ।
गिरीले प्रदेश सरकार पूर्ण बहुमतमा रहेको दावी गरेका छन् । बैठकमा विपक्षी गठबन्धनका सांसदले विश्वासको मत लिन कि राजीनामा दिन माग गरेपछि गिरीले सरकार अल्पमतमा नरहेको प्रतिक्रिया दिएका हुन् । ‘मैले दावाका साथ भन्छु सरकार अल्पमतमा छैन पूर्ण बहुमतमा छ । दुई दल या अरुसंग मिलेको प्रसंग छ त्यो समयक्रमसँगै एडजस्ट हुँदै जान्छ ’ उनले भने । गिरीले मुख्यमन्त्रीले सपथग्रहण गर्दा छापामार शैलीमा घेरा हालिएको आरोप लगाए । उनले जनता समाजवादी पार्टी नेपाल (जसपा) का चार जना सांसदको पदमुक्तको सूचना दिएर सभामुख र प्रदेश सभा सचिवालयले विधि मिच्ने काम गरेको आरोप लगाए ।
‘कुनै पनि व्यक्तिलाई दल छोड्न छुट छ । जाँदा उसको संसद के हुने विधिले किटान गर्छ–’उनले भने–‘तर छापामार शैलीमा प्रदेश सचिवालयबाट भेदभावपूर्ण व्यवहार र खेलहरु देखिए त्यो राम्रो संकेत होइन ।’ सभामुखले तथष्ट र अभिभावकीय भूमिका हुनुपर्ने भन्दै त्यसमा तलमाथि भयो भने समाजमा नकारात्मक सन्देश जाने गिरीले उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij